शेयेर गर्नुहोस
टीकापुर २४ पुस/
टीकापुर जेसीजको २५ औं शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि बलराम चौधरी निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा ६९ मत सहित बलराम चौधरी विजयी भएका हुन । उनका निकट प्रतिद्वन्दी मंगलबहादुर साउँदले ४१ मत ल्याएका छन् । त्यसैगरी जेसीजको वर्ष २०२३ का लागि कार्यकारिणी उपाध्यक्षमा भरत भण्डारी र प्रकाश खत्री निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा झलनाथ खनाल, लक्ष्मण विक, शंकर बोगटी र पदमबहादुर शाही निर्वाचित भएका छन् । वर्ष २०२३ का लागि अन्य केही पदमा निर्वाचित पदाधिकारीले मनोनीत गर्ने छन् । मनोनीत हुनेमा कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, सचिव र जनसम्पर्क अधिकारीको पदमा मनोनीत गरिने बताइएको छ ।
निर्वाचित अध्यक्ष चौधरीले टीकापुर जेसीजमा युवाहरुको सहभागितालाई विशेष जोड दिइने बताएका छन् । उनले जेसीजमा जोडिएका युवाहरूलाई क्षमता विकास लगायतका बढिभन्दा बढी तालिममा सहभागी गराइने बताउँदै जेसीजलाई बिधालयको रुपमा स्थापित गरिने बताए । “जेसीजमा जोडिएको युवा केही सिक्नको लागि आएको हुन्छ । त्यसका लागि वर्तमान कार्यसमिति गम्भीर भएर लाग्ने छ ।” उनले भने, “त्यसका लागि विशेष ध्यान ब्याक्तित्व विकास, क्षमता विकास जस्ता तालिममा हुने छ ।”
उनले वर्ष २०२२ मा आयोजना गरिएको एसिया घ सम्मेलनको भुक्तानी गर्न बाँकी रकमको जोहो गर्नुपर्ने ठूलो चुनौती रहेको बताउँदै त्यसका लागि गम्भीर भएर कार्यसमिति लाग्ने बताएका छन् । “हाम्रो जितसँग चुनौती बढी छ । त्यो चुनौतीलाई सामना गर्ने सामर्थ्यका साथ हामी उभिएका छौं ।” अध्यक्ष चौधरी ले भने, “त्यसका लागि सिंगो कार्यसमिति र जेसीजका पुर्व पदाधिकारीहरुसँग समन्वय र सहकार्यमा हाम्रा आगामी गतिविधि सञ्चालन हुनेछन् ।” एक सय ११ जेसीज सदस्यमध्ये एक सय एक मत खसेको थियो । जसमा एक मत बदर भएको निर्वाचन अधिकृत श्याम पाण्डेले जानकारी दिएका छन् ।