शेयेर गर्नुहोस
टीकापुर ०४ चैत /
टीकापुर नगरपालिकाको १४ औं नगर सभा शनिबारसम्पन्न भएको छ ।
नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको १४ औं नगर सभाले चालू आर्थिक वर्षमा कार्यपालिकाका निर्माणहरुलाई अनुमोदन गरेको छ । हालसम्म सात पटकसम्म बसेको कार्यपालिकाको बैठकले गरेका एक सय ४१ वट निर्णयहरु नगर सभा मार्फत पास गरेको हो । त्यसैगरी नगर सभाले कार्यपालिका सदस्य रुकमती चौधरीले प्रस्तुत गरेको विनियोजन विधेयक २०८०/०८१ लाई नगर सभाले पारित गरेको छ ।
कार्यपालिका सदस्य प्रेमलाल चौधरीले प्रस्तुत गरेको शिक्षा ऐन पहिलो संशोधन २०८० लाई पनि पारित गरिएको छ । नगरपालिकाले बनाएको फोहोर मैला व्यवस्थापन ऐन २०८०, प्लास्टिक जन्य वस्तु प्रतिबन्ध सम्बन्धी विधेयक २०८० पनि नगर सभाले पास गरेको छन् फोहोर मैला व्यवस्थापन ऐन माथी धारणा राख्दै कार्यपालिका सदस्य कमला देवि विश्वकर्माले ऐन नियन बनाउने समयमा कुनै छलफल र परामर्श नहुने बताउँदै एकाएक कार्यपालिकामा पेश गरेर पास गर्ने प्रवृत्ति हटाउनुपर्ने बताएकी छन् । उनले बनेका ऐन कानुनहरुको कार्यपालिका सदस्यहरुलाई अध्ययनका लागि समय दिनुपर्ने माग गरिन ।
अर्का सदस्य खम्म ठकुल्लाले फोहोर मैला व्यवस्थापन ऐन बनिसकेको अवस्थामा त्यसको कार्यान्वयनमा ढिला गर्न नहुने बताएका छन् । उनले बजार क्षेत्रमा फोहोर व्यवस्थापनमा चुनौती थपिएको भन्दै ऐनको कार्यान्वयनले त्यो चुनौतीको सामना गर्न सकिने बताए । सदस्य रमेश विकले प्लास्टिक जन्य वस्तुको प्रतिबन्ध सहित त्यसको विकल्पलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । उनले केराको रेशाबाट उत्पादन भएको वस्तुलाई प्लास्टिक जन्य वस्तुको विकल्पको रुपमा प्रयोग गर्नुपर्ने सुझाव दिए ।
१४ औं नगर सभाले टीकापुर नगरपालिकाको वडा नं. १ लाई विभाजन गर्ने निर्णय अनुमोदन गरेको छ पटकपटक विवादित बन्दै गएको वडा विभाजन सहमतिको आधारमा भएको हो । जसअनुसार १ नं. वडा लाई विभाजन गरेर चार वडा बनाइने भएको छ । यसअघि निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले पनि वडा विभाजनका लागि निकै प्रयास गरेका थिए । वडा विभाजनका लागि निवर्तमान वडा अध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा समिती गठन भएको थियो । त्यसबेलाको गठन भएको समितिले वडा नं. १ लाई चार वडा बनाउन उपयुक्त हुने भन्दै सुझाव पेस गरेपनि नगर सभामा निकै विवादित बनेको वडा विभाजन यसपटक भने सहजै टुंगोमा पुगेको छ ।
जमरा कुलोलाई आधार मानेर एउटा वडा बनाइने भएको छ । त्यसैगरी ब्लक नं. ४,५,६,७,८,२४,२५, बनगाउँ र छेखरखैलालाई एउटा वडामा समेटिएको छ । तेस्रो वडाको रुपमा ब्लक नं. ९, १०, ११, १२,१३, १५, १६, २२, २३ र व्यवसाय क्षेत्रलाई विभाजन गर्ने सहमति भएको वडा नं. ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाले बताएका छन् । ब्लक ए, बि, सि, १४, १७, १८, १९, २०, २१ र शिविर क्षेत्रलाई एउटा वडामा बनाउने सहमति भएको वडा अध्यक्ष ठकुल्लाले बताए ।