टीकापुर नगरपालिका वडा नं. २ मा योजना तथा सुझाव संकलन कार्यक्रम

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ३०. जेठ /
टीकापुर नगरपालिका वडा नं. २ ले आगामी आर्थिक वर्षका लागि योजना तथा सुझाव संकलनको काम सुरु गरेको छ ।
आइतबार वडा कार्यालयको आयोजना तथा वडामा क्रियाशील संघसंस्थाको समन्वयमा भएको वडाको समग्र विकासका लागि भएको अन्तरक्रिया कार्यक्रममा समाजसेवी नरबहादुर रावलले विकासका लागि हुने निर्णय भन्दा भएका निर्णयहरुलाई कार्यान्वयन गर्न सक्नु महत्त्वपूर्ण हुने बताउँदै विकासका पुर्वाधार दीर्घकालीन बनाइनुपर्ने बताए।
उनले रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग किसानलाई जोड्न, सामुदायिक पशु चौपाया व्यवस्थापन र वडामा रहेका सामुदायिक वनलाई व्यवस्थापनका लागि बढी जोड दिन आग्रह गरेका छन् ।
समाजसेवी अक्कल माझीले ठुला आयोजना बनाएर मात्रै वडाको विकास हुन नसक्ने भन्दै वर्षौंदेखि एकजनाले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा अर्काको हातमा रहेका कारण त्यसलाई समाधान गर्न सुझाव दिएका छन् ।
उनले बाढी र डुवानका कारण हुने क्षतिलाई कम गर्नका लागि वडाले रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गरेर त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । शिक्षक जगदीश चौधरीले खेलकुद र सिर्जनात्मक कार्यक्रम सञ्चालनमा ल्याएर बालबालिकालाई लागुऔषध दुर्व्यसनीबाट जोगाउनुपर्ने बताएका छन् । उनले सिर्जनात्मक कामहरुमा बालबालिकालाई भुलाउन सकिने र त्यसले बालबालिका गलत बाटोमा जाने सम्भावना कम भएको बताएका छन् ।
पत्रकार पदम सापकोटाले कृषि क्षेत्रमा राज्यको थुप्रै लगानी रहेको बताउँदै त्यसको उपलब्धि शुन्य रहेको बताएका छन् । उनले किसानहरूलाई अनुदानको साटो बजारीकरणमा सहज हुने खालका कार्यक्रम ल्याएर किसानले उत्पादन गरेको बस्तुको ग्यारेन्टी स्थानीय सरकारले लिनसक्ने योजना आगामी आर्थिक वर्षको नीति तथा योजनामा समावेश गर्न माग गरेका छन् । सुझाव संकलन कार्यक्रममा गणेश खड्काले शिक्षालाई प्राबिधिसँग जोडेर शिक्षालाई व्यवसायीक बनाइनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्ने अधिकांशले वडा कार्यालयको क्षेत्र भित्र बनाइएको गौशालाका कारण पनि किसानलाई निकै समस्या भएको बताउँदै गौशाला सामुदायिक पशु चौपाया व्यवस्थापन केन्द्र नभई चौपायाको हत्या गर्ने केन्द्र बनेको गुनासो गरेका छन् । विकासको हकमा समावेशी विकासमा ध्यान दिन आग्रह गरिएको छ । सबै क्षेत्रलाई समेट्ने गरि विकासका योजना तयार गरिनुपर्ने सुझाव दिएका छन् ।
वडा अध्यक्ष दिपक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ का विभिन्न क्षेत्रबाट प्रतिनिधिमुलक सहभागिता रहेको थियो । टीकापुर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष चौधरीले वडा कार्यालयमा सुझाव तथा योजना संकलन केन्द्र स्थापना गरिने बताएका छन् । उनले सुझाव तथा योजना संकलन केन्द्रमा आएका सुझावको आधारमा बढी आवश्यक भएको क्षेत्रलाई विशेष महत्त्व दिएर काम गरिने बताएका छन् । अध्यक्ष चौधरीले त्यस केन्द्रमा सबै क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी प्रबुद्ध ब्याक्तिहरुलाई समेटेर अगाडि बढ्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *