शेयेर गर्नुहोस
टीकापुर ०५ फागुन /
टीकापुर बजार क्षेत्रलाई सुन्दर बनाउने काममा टीकापुर नगरपालिकाले तदारुकताका साथ काम अगाडि बढाएको छ ।
विशेषगरी जमरा पुलदेखी बसपार्क सम्मको मुख्य सडकलाई मध्यनजर राख्दै नगरपालिकाले काम गरिरहेको छ । त्यसैअनुसार ६ लेन सडकको डिभाइडरमा तारजाली सहित सडक बत्ती जडानको काम पनि अगाडि बढेको छ । नगरपालिकाले टीकापुरलाई गुलाबको शहर बनाउने योजनामा पनि सडक किनारको डिभाइडरमा लगाइएको तारजाली निकै प्रभावकारी बनेको छ । अहिले नगरपालिकाले गुलाब रोप्ने अभियान पनि त्यहीँ डिभाइडरबाट सुरु गरेको छ । जहाँ नगरपालिका भित्रका बिधालय र केही संघसंस्थाले जिम्मा पनि लिइसकेका छन् ।
जुन डिभाइडरमा तार जालीका लागि नगरपालिकाले झन्डै ९० लाख रकमको टेन्डर आव्हान गरेको छ । जुन टेन्डरमा प्रेम निर्माण सेवा कालिकोटले ५८ लाख १४ हजार तीन सय ७८ रुपैयाँ ९७ पैसामा काम गर्ने सम्झौता गरेको छ । गएको मंसिर ५ गते सम्झौता भएको उक्त आयोजनाको सम्पन्न गर्नुपर्ने म्याद भने २०८१ वैशाख १५ सम्म छ । सम्झौता समय भए पनि निर्माण कम्पनीले काम अन्तिम चरणमा पुर्याइसकेको छ । आयोजनाको काम समय अगावै सकिने छ । “यो महिनाभित्र हामी काम सम्पन्न गर्छौं । अब थोरै काम गर्न बाँकी छ ।” प्रेम निर्माण सेवाका प्रबन्धक प्रेमबहादुर शाहीले भने, “तारजाली लगाएको डिभाइडर भित्र रुख रोप्ने पनि सम्झौता छ । अब नगरपालिकाले गुलाब रोप्ने काम गरेकाले त्यो ढिलो भए पनि अरु काम समय अगाडि सम्पन्न हुन्छ ।”
जाली लगाइएको डिभाइडर भित्र १० मिटरको दुरीमा बिरुवा रोपिने छन् । त्यसले बजारको सुन्दरतालाई झन मद्दत पुग्ने विश्वास गरिएको छ । त्यसैमा सडकको दुबै किनारमा सडक बत्ती जडानको काम पनि लगभग सकिएको छ । जमरा पुलदेखि इलाका हुलाक कार्यालयसम्म सडक बत्ती जडानको काम सकिएको छ । “सडक बत्ती जडानको काम सकिएको छ । स्मार्ट फिडर बक्स जडान भएपछि बत्ती जल्छ ।” नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले भने, “स्मार्ट फिडर बक्स आउन ढिलो भएका कारण बत्ती जलाउन समय लागेको हो ।”
उनका अनुसार ३० मिटरको दुरीमा सडक बत्ती जडान गरिएको छ । ड्राइभ इलेक्ट्रोनिक्स प्राली काठमाडौंले ८० लाख ६८ हजार तीन सय पाँच रुपैयाँमा डेढ किलोमीटर सडकमा सडक बत्ती जडानको लागि सम्झौता गरेको थियो । नगरपालिकाले त्यसका लागि एक करोड ९ लाखको ठेक्का आह्वान गरेको थियो । त्यस क्षेत्रमा ८० वटा सडक बत्ती जडान गरिएका छन् ।
उसो त बसपार्कसम्म बाँकी रहेको सडकमा पनि सडक बत्ती जडानको लागि नगरपालिकाले ठेक्काको तयारी गरेको छ । नगरपालिकाले बाँकी रहेको सडकमा बत्ती जडान गर्न थप ६० लाख बजेट विनियोजन गरिसकेको इन्जिनियर रावलको भनाइ छ । सडक किनारमा गुलाब फुल्दा त्यसैमा साना रुखको छहारीमा उज्यालो टीकापुरले टीकापुर बजारको सुन्दरतामा चमक ल्याउने अपेक्षा गरिएको छ । स्मार्ट सिटी अन्तर्गत बजार भित्रको सडकलाई फराकिलो बनाउँदा त्यसैमा फुलबुट्टा भर्ने काम नगरपालिकाले गर्दै आएको छ ।
खडक चोक देखि टीकापुर अस्पताल हुँदै सामुदायिक एफएम चोकको सडकमा पनि सडक बत्ती जडानका लागि स्थानीयले नगरपालिकालालाई आग्रह गर्दै आएका छन् भने नगरपालिका कार्यालय जाने सडकमा पनि सादक बत्तीको माग गरिएको छ ।