शेयेर गर्नुहोस
टीकापुर ०४ माघ /
सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ सबै तयारी पूरा भएको छ ।
आज (बुधबार) बाट सुरु हुन लागेको महोत्सवको आज ११ बजे उद्घाटन कार्यक्रम रहेको महोत्सव आयोजक टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार महोत्सवको उद्घाटन कैलाली क्षेत्र नं. १का प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । महोत्सवले यसवर्ष टीकापुर क्षेत्रको विकासका एजेण्डालाई उठाएको छ । जसमा टीकापुर विमानस्थल सञ्चालन पहिलो मागको रुपमा रहने संघका अध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।
उनकाअनुसार टीकापुरमा यातायात कार्यालय स्थापना, टीकापुरलाई केराको पकेट क्षेत्र घोषणा, नेपाल आयल निगमको डिपो कार्यालय स्थापना, औद्योगिक क्षेत्रको घोषणा, चिसापानी कुईने सडक खण्ड निर्माण, कर्णाली नदी व्यवस्थापन लगायतमा एजेण्डा रहेका छन् ।
महोत्सवको आयोजकमा टीकापुर, लम्कीचुहा नगरपालिका, जानकी, जोशीपुर, बर्दगोरिया गाउँपालिका रहेका छन् । टाइटल प्रायोजकमा कञ्चन खाद्य उद्योग रहेको छ भने मुख्य प्रायोजकमा ओम कृष्ण अस्पताल टीकापुर रहेका छन् । महोत्सव सञ्चालनका लागि बनेका विभिन्न उपसमितिका संयोजकहरुले आफ्नो जिम्मेवारीको काममा जिम्मेवार भएर लागेको बताएका छन् । एउटा मूल आयोजक समिति र १८ ओटा उपसमितिलाई विभिन्न किसीमका जिम्मेवारी प्रदान गरिएको छ । त्यही जिम्मेवारीको आधारमा काम गरिरहेका उपसमितिका संयोजकहरुको भनाइ छ ।
औद्योगिक, साँस्कृतिक, शैक्षिक, कृषि एवम् पर्यटकीय सम्भावना ः समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नाराका साथ माघ ४ गते देखि १५ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । आर्थिक व्यवस्थापन उपसमितिका संयोजक कृष्ण प्रसाद बजगाईले ७५ लाखको कारोबार हुने अनुमान गरिएको बताएका छन् । उनकाअनुसार ५० लाख खर्च हुने र महोत्सवबाट १५ लाख बढी बचत हुने अनुमान गरिएको छ ।
टीकापुर महोत्सवमा स्थानीय देखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । महोत्सवमा स्थानीय विद्यालयबीच नृत्य प्रतियोगिता, विभिन्न समूहका नाटक, नृत्य, सांस्कृतिक प्रदर्शनी, स्थानीय कलाकार र राष्ट्रिय कलाकारका प्रस्तुती रहनेछन् । महोत्सवमा ५० बढी कलाकारले मनोरञ्जन दिनेछन् । महोत्सवमा दर्जनौँ विद्यालयमा नृत्य प्रस्तुती रहनेछन् । महोत्सवमा बाल कलाकार सुप्रिम मल्ल, लालबहादुर धामी अछामी बड्डो, रामजी खाँण, सन्दिप क्षत्री, शोभा त्रिपाठी, मेलिना राइ, चक्र बम, मञ्जु पौडेल, एलिना चौहान, टंक तिमिल्सिना, रचना रिमाल, अनिता चलाउने, मञ्जु पौडेल, मनिष खड्का लगायतका कलाकार आउने सांस्कृतिक व्यवस्थापन समितिका संयोजक तपेन्द्र कुँवरले जानकारी दिएका छन् ।
महोत्सवमा रमाइलोका लागि रमाइलो मेला समेत रहने भएको छ । महोत्सवमा रमाइलो मेलाका लागि पिङ, डुंगा, धुम बाइक लगायतका खेल खेल्ने व्यवस्था छ । त्यहाँ प्रतिखेल ५० रुपैयादेखि १०० रुपैयासम्म शुल्क लाग्ने बताइएको छ । रमाइलो मेला वाणिज्य संघले ६ लाख रुपैयामा ठेक्का दिएको रमाइलो मेला ब्यवस्थापन समितिका संयोजक हंशराज रावलले बताएका छन् ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका कृषि उत्पादन प्रदर्शनी समेत रहने छ । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि तर्फ, टीकापुर बहुमुखी क्याम्पस, प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थीका उत्पादन र अन्य किसानका उत्पादन प्रदर्शनीमा राखिनेछन् । कृषि स्टलमा अवलोकन गर्नेलाई प्राविधिक ज्ञान समेत दिइने कृषि प्रदर्शनी समितिका संयोजक टिका शाहीले बताइन् ।
महोत्सवमा अर्को आकर्षणको रुपमा रहने थारु गाउँ रहने छ । थारु गाउँमा १७ वटै स्टल बुकिङ्ग, थारु संग्राहलय घर निर्माण, मञ्च निमार्ण, अट्वा निमार्णको कार्य पुरा भएको थारु गाउँ व्यवस्थापन समितिका संयोजक लौटन चौधरीले बताएका छन् । उनले थारु गाउँमा रहेका स्टलहरुमा थारु खानाको प्रचारप्रचार र प्रवर्द्धन गर्न थारु परिकारका खानपिन विशेष रुपमा राखिने बताए ।
थारु गाउँको आकर्षण बढाउन राष्ट्रिय तथा स्थानिय थारु कलाकारको प्रस्तुती रहने भएको छ । दर्शकलाई मनोरञ्जन मात्र नभई सँस्कृतिको बारेमा जानकारी दिने र स्थानिय कलाकारलाई पहिलो प्राथमिकता सँगै हरेक दिन विशेष साँस्कृतिक नाच प्रर्दशन गरिने तयारी भएकोचौधरी बताउँछन् । माघ १६ गते सम्म संचालन हुने महोत्सवमको थारु गाउँको करिब २५ हजार जनाले अवलोकन गर्ने लक्ष्य रहेको र प्रवेश शुल्क २० रुपैया निर्धारण गरिएको छ ।
२०६५ सालबाट टीकापुरमा महोत्सव आयोजना गर्न थालिएको हो । यसपटक गरी टीकापुरमा ११ पटक महोत्सव आयोजना हुँदैछ । महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा संघले लिएको छ । वाणिज्य संघले महोत्सवमा मनोरञ्जनसँगै ब्यापारिक विकास र टीकापुरका सम्भाब्यताको खोजी हुने अपेक्षा गरेको छ ।