तलब नपाएपछि कर्मचारी आन्दोलनमा

शेयेर गर्नुहोस


टीकापुर २६ फागुन /
टीकापुर नगरपालिकाका कार्यरत करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
नगरपालिकाले जनप्रतिनिधि र स्थायी कर्मचारीको तलबभत्ता उपलब्ध गराउँदा आफुहरुले दुई महिनादेखि पाउनुपर्ने तलबभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन । उनीहरूका अनुसार माघ र फागुन महिनाको सेवासुविधा पाएका छैनन् । चाडपर्व नजिकिँदै जानू र शैक्षिक सत्रको अन्तिममा बालबालिकाको बिधालयको शैक्षिक महसुल तिर्नुपर्ने समयमा नगरपालिकाले तलब निकासी नहुँदा त्यसले निकै समस्या सिर्जना भएको कर्मचारीले बताएका छन् ।
एउटै कार्यालयमा कार्यरत स्थायी कर्मचारी अनि जनप्रतिनिधिका बिचमा आफुहरुलाई विभेद गरेको उनीहरुको बुझाइ छ । “बिधालयले बालबालिकाको हातमा चिठी पठाएको छ । चाडपर्वमा घरका सदस्यले अपेक्षा गरेका हुन्छन् ।” आन्दोलनमा सहभागी एक कर्मचारीले भने, “दुई महिना भयो तलब आएको छैन । यहीँ तलबबाट सबै खर्च व्यवस्थापन गर्नुपर्छ ।” नगरपालिकाले करार तथा ज्यालादारी कर्मचारी माथी विभेद गर्दै आएको गुनासो कर्मचारीको छ । हाल नगरपालिकामा एक सय ४० जना करार तथा ज्यालादारी कर्मचारी कार्यरत छन् ।
फेरि यहीँ समयमा प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेका छन् । नगर प्रमुख बाहिर छन् । सात जना कार्यपालिका सदस्यले नगर प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृत र प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरूले फागुन २३ गते गरेको तालाबन्दी खुलेको छैन । नगर प्रमुख रामलाल डगौरा थारुको कार्यशैली प्रती नोटअफ डिसेन्ट लेख्न नपाएको भन्दै गरिएको तालाबन्दी तत्काल खुल्ने स्थिति पनि छैन ।
करार तथा ज्यालादारी कर्मचारीको हाजिरी प्रशासन शाखाबाट प्रमाणित भएर लेखामा नपुग्दा तलबभत्ता भुक्तानी गर्न समस्या भएको पाइएको छ । प्रशासनमा तालाबन्दी हुनु, कर्मचारीको मासिक हाजिरी प्रमाणित नहुनु करार तथा ज्यालादारी कर्मचारीले तलब नपाउनुको कारण बनेको लेखाको भनाइ छ ।
उता कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएका वडा नं. ४ का वडा अध्यक्ष लालबिर चौधरीले प्रशासनमा हाजिर रोकिएको हुँदा तलब नगएको बताएका छन् । “कर्मचारीको हाजिर वडाबाट प्रमाणित भएर प्रशासनमा गएपछि त्यसबाट प्रमाणित भएर लेखामा जान्छ । त्यसैका आधारमा लेखाले कर्मचारीको सेवा सुविधा उपलब्ध गराउँछ ।” उनले भने, “प्रशासन शाखामा ताला छ । अब हाजिरी कसरी प्रमाणीकरण गर्ने अनि तलब खुवाउने भन्ने समस्या भएको हो ।” उत्पन्न समस्या समाधानका लागि आवश्यक समन्वय भैरहेको बताउँदै चौधरीले सबै कर्मचारीले तलब समयमा पाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *