शेयेर गर्नुहोस
भजनी १५ कार्तिक /
भजनी नगरपालिकाले आन्तरिक स्रोतको प्रमुख आधार नगरपालिका भित्र रहेका तालतलैया हुन ।
नगरपालिकामा रहेका विभिन्न सामुदायिक वन भित्र दर्जनौं तालतलैया छन् । ती तालतलैया नगरपालिकाले २०७४ सालदेखि नै ठेक्कामा लगाउने गरेको छ । उसो त तालको ठेक्का २०७० सालदेखि नै हुँदै आएको थियो । त्यहीँ ठेक्का मार्फत नगरपालिकाले बर्सेनि करोडौं आन्तरिक आय संकलन गर्ने लक्ष्य समेत लिएको हुन्छ । त्यो लक्ष्य नगरपालिकाले हालसम्म पूरा गर्न सकेको छैन । बरु सामुदायिक वनले आफ्नो क्षेत्र भित्रका तालतलैया आफ्नो दाबी गर्दै आएपछि बर्सेनि विवादको प्रमुख आधार तालतलैया बन्दै आएका छन् । त्यसै विवादको फाइदा ताल ठेक्कामा लिने ठेकेदारले उठाउँदै आएका छन् ।
अहिले पनि तालतलैया ठेक्का लिएका ठेकेदारले ठेक्का अवधि सकिएको लामो समय भइसक्दासमेत ठेक्का रकम बुझाउन अटेरी गरेका छन् । सम्झौता अनुसार ठेक्का रकम बुझाउन आउनुको साटो ठेकेदारका तर्फबाट अदालतमा विभिन्न मुद्दामामिला गरेर उल्टै नगरपालिकालाई नै अनेक उल्झनमा पार्ने काम भएको नगरप्रमुख केवल चौधरीले बताएका छन् । “हामीले तालतलैयाको बक्यौताका लागि पटकपटक आग्रह गर्दा पनि अटेर हुँदै आएको छ ।” नगर प्रमुख चौधरी भन्छन्, “अझै बक्यौता बुझाउनुको साटो मुद्दा माहिला गर्ने काम भैरहेका छन् ।”
तालतलैया ठेक्का लिए बापत एकै व्यक्तिले न्यूनतम एक लाखदेखि अधिकतम एक करोड भन्दा बढी रकम नगरपालिकालाई तिर्न बाँकी रहेको देखिन्छ । नगरपालिकाले २०७० देखि २०८२ साल जेठ मसान्तसम्म उठाउनुपर्ने राजश्व बापतको रकम अझै नउठेको नगरपालिकाका राजश्व शाखा प्रमुख चिरञ्जीवी उपाध्याय बताउँछन् । ठेक्का रकम बुझाउन बाँकी ठेकेदारलाई पटक पटक लिखित ताकिता नै गर्दा पनि बेवास्ता गरेको उनको भनाइ छ । नगरपालिकाले ठेक्कामा दिएका ३२ मध्ये २८ वटा तालबाट हालसम्म पाँच करोड ६८ लाख ६५ हजार रुपियाँ उठ्न बाँकी छ ।
ढोगरवा तालका ठेकेदार मोहन गिरीले १४ लाख २५ हजार पाँच सय राजश्व तिर्न बाँकी छ । कतिपय ठेक्का लिएका ठेकेदारले ताल छाडिसकेका छन् तर नगरपालिकालाई सम्झौता अनुसारको रकम भने बुझाएका छैनन् । नगरपालिकाले पटक पटक ताल ठेक्काबापतको रकम उठाउन पहल गरेको भए पनि अहिलेसम्म ठेकेदारहरू अटेर गरेको भन्दै नगरपालिकाले कानुनी उपचार खोजेर भए पनि रकम असुल गर्ने चेतावनी समेत दिँदै आएको छ ।
सम्झौता अवधि सकिएका घोर ताल, गिदनिया ताल र सोनिया नुक्ली तालका ठेकेदार प्रेमबहादुर भुलले तीन करोड ४२ लाख ७२ हजार पाँच २७ रुपियाँ तिर्न बाँकी रहेको छ । घोर ताल र ढाङ्ग्राहावा तालका ठेकेदार फुलराम चौधरीले १४ लाख ६६ हजार ६ सय ४२ रुपियाँ, गुरुदहुवा ताल र पिपरहुवा तालका ठेकेदार विनोद लामाले एक लाख १७ हजार ८ सय, चट्टीहवा ताल र गिदनिया तालका ठेकेदार गगन ओलीले ४० हजार ७ सय ७२ रुपियाँ, सोसुवा तालका ठेकेदार मोहने राजीले तीन लाख ३४ हजार ६ सय ६४ रुपियाँ, झलझलिया तालका ठेकेदार सर्पसिंह धामीले ७१ हजार दुई सय ७५ रुपियाँ तिर्न बाँकी छ ।
त्यसैगरी,लौकहभौकाहा तालका ठेकेदार प्रदीपकुमार शाहले २३ लाख ७५ हजार ८ सय ३५ रुपियाँ, लखराया तालका ठेकेदार कुस्माकर चौधरीले ५१ हजार पाँच सय ६१ रुपियाँ, मोहना नयाँ छोरालैया तालका ठेकेदार सत्यनारायण सहनीबाट ८९ हजार तीन सय ३९ रुपियाँ राजस्व उठाउन बाँकी रहेको नगरपालिकाले जनाएको छ । १५ नम्बर पिल्लरनजिकको ताल ठेकेदार दिलीप लामाले ४३ हजार तीन सय २४ रुपियाँ, खोल्टी मट्यारी ताल काठ ठेकेदार तिलकराज खत्रीले एक लाख २९ हजार चार ८७ रुपैयाँ नगरपालिकालाई तिर्न बाँकी छ ।
दिदीबहिनी तालका ठेकेदार प्रेमबहादुर चौधरीले १० लाख २६ हजार एक सय २५ रुपियाँ, भखारी तालका ठेकेदार रमेशकुमार चौधरीले १४ लाख ४१ हजार ८ सय ३६ रुपियाँ, चुट्टीहवा तालका ठेकेदार रामसागर चौधरीले १४ हजार ७ सय ७१ रुपियाँ, ढोगरवा तालका ठेकेदार मोहन गिरीले १४ लाख २५ हजार पाँच सय, पहलाचगान तालका ठेकेदार दलबहादुर चौधरीले १४ लाख ११ हजार पाँच सय ६० रुपियाँ, लोटीहुवा सोरहवा तालका ठेकेदार कञ्चनकुश्मी चौधरीको २२ लाख ९७ हजार दुई सय ९५ रुपियाँ राजश्व उठ्न बाँकी रहेको छ ।










