तीन वर्षमा पनि पाँच सय मिटर सडक कालोपत्रे हुन सकेन

शेयेर गर्नुहोस


टीकापुर १४ माघ /
पाँच सय मिटर सडक कालोपत्रे गर्न कति समय लाग्न सक्छ ?
एक वर्ष, दुई वर्ष वा तीन वर्ष ? तर जानकी गाउँपालिका वडा नं. ७ को मुनुवा रोड चिलम चौराहदेखी वडा कार्यालय सम्मको एक किलोमीटर सडक निर्माण सुरु भएको तीन वर्षमा पनि सम्पन्न हुन सकेको छैन । आर्थिक वर्ष २०७६/७७ मा ठेक्का सम्झौता भएको सडकको पटकपटक म्याद थप भएपनि काम पूरा हुन सकेको छैन ।
चिलम चौराहबाट वडा कार्यालयसम्मको सडक मात्रै कालोपत्रेको योजना थियो । त्यहीँ सडक हुँदै आवतजावत गरेर निवर्तमान वडा अध्यक्ष लक्ष्मण चौधरीको बिदाई भैसक्यो । हिजो त्यसै सडकको विरोधमा देखिएका कमल महतो यतिबेला वडाको नेतृत्वमा छन् । उनको आवतजावत गर्ने बाटो पनि त्यहीँ हो । अहिले वडाको नेतृत्वमा हुँदा महतोले पनि सडक निर्माणका लागि कुनै पहल गर्न नसकेको स्थानीयको गुनासो रहेको छ ।
निर्माण कम्पनीको चरम लापरबाहीका कारण सडकको काम पूरा हुन नसक्दा गाउँपालिकाले म्याद थप गर्न काम भन्दा अरु केही गर्न नसकेको स्थानीयको गुनासो छ । “ठूलो आयोजना भए त समस्या भयो, काम हुन सकेन भनेर चित्त बुझाउने ठाउँ पनि रहन्थ्यो । एक किलोमीटर पनि सडक निर्माणको काम छैन । त्यहीँ पनि बन्दैन ।” स्थानीय रामकुमार चौधरीले भने, “बर्सेनि सडक निर्माणको काम हुन्छ । तर सम्पन्न हुँदैन । गाउँपालिका पनि तीन वर्षदेखि निरीह बनेको छ ।” उनले सडकका बिछ्याइएका गिट्टीले आवागमनमा समस्या हुँदा पनि स्थानीय सरकार मौन बसेको बताए ।
गाउँपालिका २०७६ असोज १५ गते सडक निर्माणका लागि श्री एम. एस. कन्स्ट्रक्सनलाई जिम्मेवारी दिएको थियो । जुन आयोजनाको म्याद २०७७ असार मसान्तसम्मको लागि भएपनि कोरोना संक्रमणका कारण पहिलो चरणमा काम सम्पन्न हुन नसकेको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहि बताउँछन् । “पहिलो वर्ष कोरोनाका कारण भनेको समयमा काम हुन सकेन । त्यसपछि पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम गरेन ।” इन्जिनियर शाहीले भने, “चालू आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने निर्माण कम्पनीले भनेको छ । यदि त्यो हुन सकेन भने ठेक्का सम्झौता रद्दको प्रक्रियामा जान्छौं ।”
वडा नं. ७ का वडा अध्यक्ष महतोले निर्माण कम्पनीले फागुन / चैतसम्म काम सम्पन्न गर्ने आश्वासन दिएको बताएका छन् । उनले सडक कालोपत्रेका लागि गाउँपालिकाले पत्र समेत काटेको बताए । “गाउँपालिकाले निर्माण कम्पनीलाई पत्र पठाएको छ । फागुन/ चैत भित्र काम सम्पन्न गर्ने आश्वासन दिएको छ ।” अध्यक्ष महतोले भने, “यदि अझै पनि काम पूरा हुन नसकेपछि कार्यपालिकाले निर्णय गरेर प्रक्रिया अगाडि बढाउनुपर्छ । आशा गरौं बैशाख भित्र काम सम्पन्न हुन्छ ।” गाउँपालिकामा अन्य केही आयोजनाको काम वर्षौदेखि अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *