त्यसबेलाको सदरमुकाम : कृषि र पर्यटनमा अझै प्रचुर सम्भावना

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी २२ कार्तिक /
भजनी कैलाली जिल्लाको सदरमुकामको रुपमा रहेको इतिहास धेरै भएको छैन । हरेक सम्भावनाले भरिएको भजनीलाई अहिले कैलाली जिल्लाको सदरमुकाम थियो भन्दा कैयौंले पत्याउन गाह्रो हुन्छ । आज भजनीले भोगिरहेका अभावका अगाडि त्यो सदरमुकामको कुरा गर्दा नयाँ पुस्तालाई अनौठो लाग्नु स्वभाविक पनि हो । २०३८ सालसम्म जिल्लामा हुनुपर्ने सबै कार्यालयहरु भजनीमै थिए ।
जिल्लाबाट प्रवाह हुने सेवा प्रवाह त्यसै ठाउँबाट हुन्थ्यो । आज त्यहाँ त्यसबेला सेवा प्रवाह गर्ने कुनै कार्यालय र सेवा सुचारु छैन । त्यतिबेला निर्माण भएका कैयौं संरचनाहरुको अंश आजका दिनमा पनि जीवित छन् । त्यसबेलाको केन्द्र शासनसँग समन्वय गरेर चिसापानी देखि दक्षिण भजनी लालभोझीसम्मको क्षेत्रलाई जिल्ला कायम गरी सरकारी कामकाजको सुरुवात गराउने स्वर्गीय सुब्बा दिलिप सिंह मल्लको भुमिकालाई आज पनि भजनीले भुलेको छैन । स्वर्गीय दिलिप सिंह मल्ल सुदुरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख स्वर्गीय मोहनराज मल्लका बुवा हुनुहुन्थ्यो ।
त्यो बेला मल्लहरु त्यस क्षेत्रको ठुला जमिनदार थिए । सबै राजकाज मल्लहरुकै चल्थ्यो । त्यस ठाउँमा बसोबास गर्ने मल्लहरुलाई भजनीको रैथाने पनि भनिन्छ । स्थानीय प्रदिप मल्लका अनुसार थारु जाती र मल्लको बसोबास भजनी क्षेत्रमा सँगसँगै भएको पाइन्छ । पञ्चायती व्यवस्थामा भजनीको प्रधान पञ्चको रुपमा स्वर्गीय धोजबहादुर मल्ल रहनुभएको थियो । उहाँ प्रधान पञ्च हुँदा भजनीको भविष्य मल्लहरुकै हातमा थियो । पछि २०४६ मा पञ्चायती व्यवस्था अन्त्य भएसँगै उहाँ भजनीको नेतृत्वबाट निष्क्रिय भएको प्रदिप बताउनुहुँन्छ ।
“म २०१६ मा भजनी आएको हुँ । मलाई थाहा छ त्यो बेला सरकारी अड्डा, थाना, खाद्य, सहकारी सबै कार्यालय भजनीमै थिए ।” स्थानीय समाजसेवी हेमेन्द्र भारद्धाज भन्नुहुन्छ, “आज पनि केही संरचनाहरुको अवशेष बाँकी छ ।” उसो त बर्दिया भन्दा पश्चिममा एकमात्र स्वस्थ्य केन्द्र भजनीमा थियो । त्यसबेलाको टेलीफोनको टावर आज पनि छ । कृषि सहकारीको खाद्य गोदाम आज पनि छ । एक सय वर्ष पुरानो मल्लहरुले राजकाज चलाउने घरको अवशेष बाँकी नै छ । २०१५ सालमा भजनीमा निमावि भजनी नामबाट बिधालय स्थापना भएको थियो । २०३५ मा उक्त बिधालयको नाम महुन्याल भएको भारद्धाजले बताउनुभयो ।
उसो त कञ्चनपुर र कैलाली जिल्ला सुवर्ण शमशेरको बिर्ता भएको भन्ने पनि छ । त्यसबेला कैलाली जिल्लालाई चार भागमा विभाजन गरेर खक्रौलादेखि टिकापुर लम्की हुँदै चुरे सम्मको क्षेत्रमा शाही, बिचको भजनी देखि दरख साढेपानी हुँदै उत्तरतिर चुरेसम्म मलवारा क्षेत्रमा मल्ल, हसुलिया देखि चौमालाहुँदै चुरेसम्म महत्तो र धनगढीदेखि गोदावरी हुँदै चुरेसम्म बमलाई हेर्ने जिम्मा दिइएको इतिहास रहेको वरिष्ठ पत्रकार दुर्गा प्रसाद भण्डारी बताउनुहुँन्छ ।
“मलवारा भजनीको नाम मात्र होइन यो भजनीदेखि चुरेको पण्डौनसम्म हो । मल्लहरुको क्षेत्र भएकोले मल्लबाडा हुँदै थारु भाषामा मलवारा भएको हो । यसैलाई नेपालीमा पछि मलवार भनियो ।” उहाँले भन्नुभयो ।
त्यसबेला कुनै राज्यबाट सजाय दिँदा कालापानी पठाउने गरिन्थ्यो । त्यसैको सिकार हेमेन्द्र भारद्धाजका बुवा पर्नुभयो । २०१५ सालमा विपि कोइराला प्रधानमन्त्री हुँदा उहाँसँगको खटपटले काठमाडौं छोडेर भजनी पुगेका भारद्धाजका बुवाको भुमिका पनि भजनीका लागि महत्त्वपूर्ण रह्यो । २०३७ सालमा भजनीका स्व. काशीनाथ जोशी गृह सहायक मन्त्री बन्नुभएको थियो । २०३८ सालको आम निर्वाचनमा भने सुदुरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख स्व. मोहनराज मल्लले चुनाव जित्नुभयो । २०३८ सालबाट भजनी पहिलेकै स्थितिमा स्थिर रहन सकेन । त्यसपछि त्यहाँबाट हुँदै आएको अधिकांश कामकाज धनगढी सारियो । भजनी भन्दा धनगढी र टीकापुर विकासका सम्भावनामा प्राथमिकतामा पर्न थाले । स्व. मल्लले २०४४ सालको आम निर्वाचनमा पनि विजयी हासिल गर्दा भजनीले धेरै कुरा गुनाइसकेको थियो । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएपछि त्यस क्षेत्रबाट रामजनम चौधरीले चुनाव जित्नुभएको थियो । त्यसपछिका दिनमा भजनी हरेक चुनौतीसँग लड्न र जुध्न बाध्य भयो ।
प्रमुख समस्या बाढी
कैलाली जिल्लाकै सबैभन्दा बढी बाढी र डुवानको समस्या भजनीले भोग्दै आएको छ । चारैतिरबाट नदीले घेरिएको भजनीका लागि कान्द्रा, मोहना, काढा र पथरैया नदी बाढीको जोखिम निम्त्याउने माध्यम बनेका छन् । बर्सेनि हजारौं परिवार बाढीका कारण विस्थापित हुन्छन् । “बाढी र डुवानको समस्यालाई दिगो रुपमा समाधान गर्न सक्यो भने यस क्षेत्रको विकासले ठूलो फड्को मार्न सक्थ्यो ।” भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी भन्नुहुन्छ, “हाम्रो स्रोतले भजनीलाई ओभानो राख्न सक्ने स्थिति छैन । केन्द्र र प्रदेश सरकारले हाम्रो पिडालाई बुझ्न र महसुस गर्न सकेको छैन ।” सम्भावनाहरुलाई संकलन गरेर त्यसमा फुलबुट्टा भर्न सक्यो भने जिल्लाकै नमुना क्षेत्रको रुपमा भजनीलाई लिन सकिने उहाँको भनाइ छ ।
हुलाकी राजमार्ग सम्भावनाको आधार
हुलाकी राजमार्गलाई भजनीले सम्भावनाको मार्गको रुपमा हेरेको छ । हुलाकी राजमार्गसँगै जोडिएको भजनी पुर्व पश्चिम राजमार्गबाट करिब २५ किलोमीटर पश्चिममा पर्छ । आज हुलाकी राजमार्ग त्यस क्षेत्रका नागरिकहरूको सुरक्षित रहने आधार पनि बनेको छ । बाढी र डुवानको समयमा विस्थापित परिवारहरु त्यहीँ हुलाकी सडकमा महिनौंसम्म आश्रय लिएर बस्ने गर्छन् । “सडक नहुँदासम्म वर्षातको समयमा सुरक्षित रहन निकै गाह्रो थियो ।” स्थानीय सम्भु चौधरी भन्नुहुन्छ, “आज बाढी आएपछि हुलाकी सडक आश्रय लिन हाम्रालागि वरदान बनेको छ ।”
अर्कोतिर बाढी र डुवानको हुलाकी राजमार्ग कारक पनि बनेको छ । जमिन सतहबाट निकै माथी उठाइएको हुलाकी सडक भन्दा करिब १० फिटभन्दा गहिरोमा स्थानीयको बसोबास छ । सडकबाट पानीको निकास नहुँदा डुवानको जोखिम बढ्ने गरेको स्थानीय खेमराज पाण्डे बताउनुहुँन्छ । “हुलाकीले सडक सञ्जालमा भजनी जोड्ने काम गरेको छ । विकासको आयाममा इट्टा हुलाकी सडकले थपेको छ ।” उहाँ भन्नुहुन्छ, “अर्को सडक भन्दा निकै गहिरोमा वस्ती छन् । सडकका कारण पानीको निकास हुँदैन र डुवानको जोखिम बढी हुने गरेको छ ।”
कृषि र पर्यटन विकासको सम्भावना
खेतीयोग्य जमीन कैलाली जिल्लामै सबैभन्दा बढी छ । त्यस क्षेत्रका स्थानीय प्रायः सबै कृषि पेशामा आबद्ध छन् ।
पर्यटन तथा पर्यावरणीय हिसाबले भजनीको महत्त्व निकै छ । १७ हजार ६ सय २५ हेक्टरमा फैलिएको भजनीमा ८ हजार ९ सय १४ हेक्टर खेतीयोग्य जमिन छ । त्यहाँको करिब ८० प्रतिशत जनसंख्या कृषि पेशामा आबद्ध रहेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीका अनुसार ८ हजार दुई सय ८० हेक्टरमा खेती गरिँदै आएको छ भने ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । चार हजार दुई सय ४० हेक्टरमा वर्षभरि सिँचाइ सुविधा छ । भजनीमा पाँच हजार ९ सय तीन हेक्टर क्षेत्र जंगलले ओगटेको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *