दरबन्दी हेरफेर गर्दै ओएनएम पारित गर्ने निर्णय

शेयेर गर्नुहोस


टीकापुर १६ मंसिर /
टीकापुर नगरपालिकाले गराएको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्भेक्षणमा अस्वभाविक रुपमा प्रस्ताव गरिएको कर्मचारीको संख्यालाई कटौती गरेको छ ।
इन्भाइरोन्मेन्ट एण्ड इन्जिनियरिङ रिसर्च सेन्टरले बुझाएको प्रतिवेदनमा पाँच सय ४ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको भए पनि सबैतिरबाट आलोचना भएपछि उक्त संख्यालाई कटौती गर्ने निर्णय नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले गरेको हो । उक्त प्रतिवेदन माथिको छलफलबाट पाँच सय ४ जना कर्मचारीको दरबन्दीलाई घटाएर दुई सय ८९ बनाउने निर्णय भएको एक कार्यपालिका सदस्यले जानकारी दिए ।
“हामीले प्रतिवेदन जस्ताको त्यस्तै पास गर्ने कुरामा असहमति जनाएपछि बैठक अर्को दिनलाई सारिएको थियो । त्यसपछि संख्या घटाएर निर्णय गर्ने कुरा भयो ।” ती कार्यपालिका सदस्यले भने, “दुई सय ८९ जनामा सबैको सहमति भएपछि त्यसलाई पारित गर्न आउने नगर सभामा लैजाने गरी निर्णय भएको छ ।”
कार्यपालिका बैठकमा सुरुमा दुई सय ८० जनामा सहमतिको प्रयास गरिएको थियो । त्यस प्रस्तावमा वडा नं. १ लाई कर्मचारी थप गर्दा अन्य वडाको दरबन्दी कटौती भएपछि कार्यपालिकामा विवाद सिर्जना भएको थियो । विवाद भएपछि पुनः वडा अध्यक्षको मागअनुसार थप ९ जना कर्मचारीको दरबन्दीलाई मिलान गर्दै दुई सय ८९ मा सहमती भएको थियो । “वडा नं.१ लाई कर्मचारी चाहिने हामीलाई नचाहिने भनेर अन्य वडा अध्यक्षले विरोध जनाएपछि एक वडालाई एक जना कर्मचारी दरबन्दी दिनेगरी छलफल गरेर सहमति भयो ” ती कार्यपालिका सदस्यले भने ।
सुरुको प्रतिवेदन अनुसार टीकापुर नगरपालिकामा १८ शाखा, ३२ उपशाखा, १२ वडा, १३ स्वास्थ्य केन्द्र, १ नगर अस्पताल, १ आयुर्वेद औषधालयलगायतका संरचना प्रस्ताव गरिएको छ । तीन वटा उपशाखा एक-एक कर्मचारीको दरबन्दी राखिएको छ । प्रतिवेदन अनुसार नयाँ संरचनामा दशौं तहको प्रमुख प्रशासकीय अधिकृत, नवौं तहको अधिकृतको नेतृत्वमा ५७ जनाको दरबन्दी रहेको सामान्य प्रशासन शाखा, १८ प्राविधिक र ५ प्रशासनिक कर्मचारी रहेको शहरी पूर्वाधार विकास शाखा, २२ प्राविधिक, तीनजना प्रशासनिक कर्मचारी भएको कृषि विकास शाखा, २२ प्राविधिक र १५ प्रशासनिक कर्मचारी भएको पशु सेवा शाखा, ३६ जना कर्मचारी भएको पार्क व्यवस्थापन तथा पर्यटन सेवा केन्द्र राखिएको छ ।
यस्तै, प्रशासन सूचना तथा सञ्चार प्रविधि विकास तथा बिस्तार र एफएम सञ्चालन शाखालगायत छन् । उपशाखातर्फ बैठक व्यवस्थापन उपशाखा, खानी तथा खनिज पदार्थको संरक्षण उपशाखा, जलविद्युत, उर्जा सडकबत्ती उपशाखा, सिँचाइ तथा जल उत्पन्न प्रकोप उपशाखा, सार्वजनिक निजी साझेदारी, संस्कृति सम्पदा ललितकला उपशाखा, पर्यावरण, भूरसंरक्षण एवं जलाधार क्षेत्र संरक्षण उपशाखा, विदाउत्सव उर्दी जात्रा पर्व उपाधि तथा विभुषण उपशाखा लगायत छन् ।
इन्भाइरोन्मेन्ट एण्ड इन्जिनियरिङ रिसर्च सेन्टरका परामर्शदाता विजय राज पौडेलले जनप्रतिनिधि र कर्मचारीहरुकै सुझाव सल्लाहमा कर्मचारी दरबन्दी निर्धारण गरिएको बताएका छन् । “जनप्रतिनिधि र कर्मचारीसँग दुईपटकसम्म छलफल गरेका थियौं । उहाँहरुकै सुझावका आधारमा प्रतिवेदन तयार पारिएको हो । उनले भने, “कर्मचारीको संख्या हामीले निर्धारण गर्ने कुरा पनि होइन । नगरपालिकाले यसअघि बनाएको कार्यविधिका आधार सहित सुझावको आधारमा संख्या निर्धारण गरेका हौं ।”
नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन २०७६ पुनरावलोकन गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन २०८१ तयार पारिएको प्रतिवेदनको निश्कर्षमा भनिएको छ । उक्त प्रतिवेदनको निश्कर्षमा नगरकार्यपालिकाको कार्य विभाजन नियमावली २०७४ को नियम ३ को उप नियम २ र नियम १ अनुसार शाखा उपशाखा र सो को कार्यविभाजनलाई मुल आधार मानेर प्रतिवेदन तयार पारिएको भनिएको छ ।
कर्मचारीको अनुकुलतामा तह निर्धारण
टीकापुर नगरपालिकामा बनेको संगठन तथा व्यवस्थापन प्रतिवेदनमा कर्मचारीको अनुकुलतामा कर्मचारीको तह निर्धारण गरिएको पाइएको छ । प्रतिवेदनले १० औं तहको कर्मचारीको विकल्पमा ९ औं र ९ औं तहको विकल्पमा आठौं तहको कर्मचारीलाई मान्यता दिने कुरा उल्लेख गरिएको छ । जसका कारण स्थानीय कर्मचारीहरुको बढुवाको बाटो प्रतिवेदनले खुलाइदिएको छ । जस्तो माथिल्लो तहको कर्मचारीको व्यवस्था नभएको खण्डमा त्यो भन्दा तल्लो तहको कर्मचारीको बढुवा गरेर वा त्यसैलाई माथिल्लो तहको कर्मचारीको दर्जामा राखेर कामकाज गर्न सकिने भनिएको छ ।
“कर्मचारीको तहको हकमा स्थानीय कर्मचारीहरुको आग्रहलाई समेट्ने प्रयास गरिएको छ । यो प्रतिवेदन कार्यान्वयन हुँदा स्थानीय कर्मचारीहरुको पद बढुवाको बाटो खुल्ने छ ।” परामर्शदाता पौडेलले भने, “काम गर्दै जाँदा आफुहरुको उचित मुल्यांकन सहित पद बढुवामा सहज हुने गरी विकल्पमा तह निर्धारण गरिएको छ ।” उनले आर्थिक स्रोतले भ्याएसम्म र समयानुकूल अनुसार कर्मचारी व्यवस्थापन गर्न सुझाव प्रतिवेदनमा दिइएको पौडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *