शेयेर गर्नुहोस
टीकापुर २८ कार्तिक /
राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष तथा वरिष्ठ नेता डा. प्रकाश चन्द्र लोहनीले मतदान सबैभन्दा महत्त्वपूर्ण दान भएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कैलाली क्षेत्र नं. १ ले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता लोहनीले मतदानले राष्ट्रको भाग्य र भविष्यसँग जोडिएको विषय भएकोले पनि अन्य दान भन्दा महत्त्वपूर्ण भएको बताएका हुन । “आज जनताको जनमत पाएर गएकाहरुले नै देशलाई तनावग्रस्त अवस्थामा राखे । सत्तामा पुगेकाहरुले राजनीतिलाई पैसा कमाउने माध्यम बनाए ।” लोहनीले भने, “सत्तामा गएर पैसा कमाउने त्यहीँ पैसा ल्याएर जनतासँग भोट किन्ने काम भयो । अब त्यो परिपाटीको अन्त्य हुनुपर्छ र देशको समृद्धिको ढोका खोलिनुपर्छ ।”
उनले देशमा रोजगारीको अवसर बढ्नुको साटो खुम्चिदै गएपछि घरको दुख देख्न नसकेर आज देशको सक्षम जनशक्ति विदेशको मरुभूमिमा २०/२५ हजारमा कष्ट भोग्न बाध्य भएको बताएका छन् । उनले संसारको प्रकृतिले दिएको सुन्दर पार्क नेपालको टीकापुरमा छ बन्ने कुराको कुनै बेला प्रचारप्रसार नै नगर्नुपर्ने अवस्था रहेको बताउँदै यस क्षेत्रको नेतृत्वको इच्छाशक्तिको अभावले आज टीकापुर कुरुप बनेको बताएका छन् । उनले सुदुरपश्चिम नै विकासका दृस्ठिले निकै पछाडि परेको बताउँदै सुदुरपश्चिमका सम्भावनालाई समृद्धिसँग जोड्न एकपटक राप्रपालाई सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा राप्रपाका केन्द्रिय महामन्त्री भुवन पाठकले मंसिर ४ गतेको निर्वाचनले मुलुकको भाग्य र भविष्य कोर्ने आधार भएको बताएका छन् । उनले देशमा तीन दशकदेखी भ्रष्टाचार भन्दा अरु कुनै काम हुन नसकेको बताउँदै काँग्रेस, कम्युनिस्टहरुसँग कुनै एजेण्डामा नै नभएको बताएका छन् । “जनतालाई झुक्याएर अब चुनाव जित्छु भन्छु भन्नू व्यर्थ हुनेछ ।” महामन्त्री पाठकले भने, “टीकापुर कै कुरा गर्दा पनि आधा शताब्दी पहिले टीकापुरको गुरुयोजना बनेको थियो । यो योजनाअनुसार यहाँको नेतृत्वले काम गर्न सक्यो ?” उनले राप्रपाको पक्षमा जनलहर चलेको बताउँदै राप्रपाका एजेण्डाले जनताको मन मात्रै नभई १० वर्षमा देशलाई विकासशील राष्ट्रको रुपमा चिनाउने अठोट लिएको बताएका छन् ।
आमसभामा कैलाली क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका प्रतिनिधि सभा सदस्यका उम्मेदवार लोकेन्द्र कुँवरले कैलाली क्षेत्र नं. १ को मुख्य समस्या साम्प्रदायिक सद्भाव रहेको बताएका छन् । “विकासका लागि सबैभन्दा पहिले सबैका मन मिल्न जरुरी छ । जहाँ मन फाटेका छन्, सम्बन्ध टुटेको छ त्यहाँ विकासको परिकल्पना गर्नु पनि व्यर्थ हुनेछ ।” उम्मेदवार कुँवरले भने, “सबैका मन मिलाएर कैलाली क्षेत्र नं. १ मा आवश्यकताको आधारमा, मागको आधारमा विकासका गतिविधिलाई अगाडि बढाउन राप्रपा सक्षम छ ।”
उनले तीन दशकदेखि राजनीतिक नेतृत्वमा पुगेकाहरुबाट कुनै काम हुन नसकेको हुँदा त्यसको प्रतिकारमा राप्रपा विकल्पको रुपमा जनताको माझमा आएको बताएका छन् । उनले कृषि क्षेत्रको विकासका लागि एक परिवार एक जनालाई छ महिना कृषि सम्बन्धि तालिमको व्यवस्थापन गर्ने बताएका छन् । उम्मेदवारले कुँवरले आफुले चुनाव जितेपछि कैलाली क्षेत्र नं. १ मा मतदाताको गुनासो र समस्या बुझनको लागि सचिवालय स्थापना गर्ने बताएका छन् ।
त्यस्तै कैलाली क्षेत्र नं. १ प्रदेश “ख” का उम्मेदवार डम्बर थापाले अहिलेका राजनीतिक शक्तिहरुबाट जनताका मुलभुत समस्या समाधान हुन नसकेकै कारण राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा जनताको माझमा आएको बताएका छन् । उनले आफुहरु जनतासँग ठुला आशा र अपेक्षा भन्दा काम गरेर त्यसको प्रत्याभूती दिलाउने बताएका छन् । “हामीलाई राजनीतिमा आउन रहर थिएन । त्यो समयको मागले आउन बाध्य बनाएको हो ।” थापाले भने, “अब देशको विकासको आधार रेखा राप्रपा भन्दा अरु कसैले कोर्न सक्दैन भन्ने कुरामा कुनै कसर बाँकी रहने छैन ।”
चुनावी आमसभामा विवेकशील साझा पार्टी टीकापुरका संयोजक लोकबहादुर बुढाक्षेत्रीको नेतृत्वमा राप्रपामा समाहित भएको छ । पार्टीमा रहेका सयौं नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन ।









