दुई हप्ता हुँदा पनि खुलेन ताला

शेयेर गर्नुहोस


टीकापुर ०६ चैत /
टीकापुर नगरपालिकाको तीन शाखामा लगाइएको ताला दुई हप्ता हुँदा पनि खुलाउने प्रयास भएको छैन ।
नगरपालिकाका केही कार्यपालिका सदस्यले कार्यपालिका बैठक रजिस्टरमा नोट अफ डिसेन्ट लेख्न पाउनुपर्ने भन्दै गएको फागुन २३ गते लगाइएको ताला दुई हप्ता हुँदा पनि खुलाउने प्रयास नभएको हो । दुई हप्तादेखि नगर प्रमुख रामलाल डगौरा थारुको कार्यकक्ष सहित प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र प्रशासन शाखामा कार्यपालिका सदस्यले ताला लगाएका थिए । सात जना कार्यपालिका सदस्यले नगर प्रमुख थारुले कार्यपालिकाको निर्णय लेख्ने कुरामा मनलाग्दी गर्ने, विरोध गर्दा विकास विरोधी भनेर भ्रम सिर्जना गर्न खोज्ने र असहमति भएको विषयमा नोट अफ डिसेन्ट लेख्न रोक लगाउँदै बैठकको रजिस्टर लुकाउने काम गरेको भन्दै तालाबन्दी गर्नुपरेको बताएका थिए ।
कार्यपालिकाको ४७ औं बैठकको विषयलाई लिएर केही कार्यपालिका सदस्यले सामाजिक संजालमा नगर प्रमुख थारु र प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरीको विरोध गरेपछि नगर प्रमुखले सो विषयको खण्डन गर्दै गएको फागुन २२ गते पत्रकार सम्मेलन आयोजना गरेका थिए । त्यसको भोलीपल्ट तीनजना वडा अध्यक्ष सहित सात जना कार्यपालिका सदस्यले नगर प्रमुखको पत्रकार सम्मेलनमा उठेका विषयको खण्डन गर्दै पत्रकार सम्मेलन गर्दै सोही दिन नगरपालिकामा तालाबन्दी गरेका थिए ।
फागुन २२ गते पत्रकार सम्मेलन गर्दै टीकापुर छोडेका नगर प्रमुख बाहिर हुँदा तालाबन्दीको विषय अन्योलमा परेको छ । कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएका वडा नं.४ का वडा अध्यक्ष लालबिर चौधरीले तालाबन्दीको विषयलाई चासोको रुपमा नलिएको विपक्षीको भनाई रहेको छ । “यता नगरपालिकाको काम प्रभावित भएको छ । कार्यालय प्रमुख कार्यकक्ष भन्दा बाहिर बसेर काम गर्दै आउनुभएको छ । प्रशासनिक काम हुन सकेको छैन ।” वडा नं. ३ का वडा अध्यक्ष ऋषी विकले भने, “यस्तो स्थितिमा पनि कोहि जिम्मेवार छैन । यत्रो दिनसम्म एकपटक छलफल गरौं र समाधानको बाटो खिजौं भनेर कसैले समन्वय गरेको छैन ।”
प्रशासनले हाजिर प्रमाणित नगर्दा नगरपालिकामा कार्यरत ज्यालादारी र करार कर्मचारीको तलब रोकिएको छ । कार्यवाहक नगर प्रमुख चौधरीले गएको फागुन २८ गते नै असन्तुष्ट पक्षसँग वार्ता र संवादको माध्यमबाट समस्या समाधान गरिने बताएका थिए । तर, कार्यवाहक नगर प्रमुखले यो बीचको समयमा कुनै समन्वय र सम्पर्क नगरेको वडा नं.२ का वडा अध्यक्ष दिपक चौधरीले बताए । “अनौपचारिक रुपमा एउटा कार्यक्रममा भेट हुँदा कार्यवाहक नगर प्रमुखले कुरा उठाउनु भएको थियो । त्यसपछि कुनै समन्वय गर्नुभएन ।” उनले भने, “हामी छिटो छलफल र सहमतिको वातावरण सिर्जना गरेर सेवाग्राहीको सेवा प्रवाहलाई सहजीकरण गर्न चाहान्छौं । त्यसमा नगर प्रमुख जिम्मेवार बन्नुपर्यो ।”
मातहतका शाखामा तालाबन्दी हुँदा त्यहाँ कार्यरत कर्मचारी यतिबेला विदा लिएर बसेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *