निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि स्वास्थ्यको भवन अलपत्र

शेयेर गर्नुहोस


टीकापुर १५ मंसिर / भजनी नगरपालिका वडा नं. ३ को शहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
हुलाकी राजमार्ग अन्तर्गत ठेकिपुर स्थित निर्माण सम्पन्न भएको भवन डुवानको समस्या र विद्युत लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो । निर्माण भएको भवन वर्षायाममा डुवानमा पर्छ । हुलाकी सडकको उचाई भन्दा कम उचाईमा निर्माण भएको भवन यस वर्षको बाढीले डुवाएको थियो । प्राविधिकको कमजोरीका कारण भवन निर्माण गर्दा ध्यान नपुर्याएका कारण समस्या आएको स्थानीय रामबहादुर चौधरी बताउँछन् ।
“भवन निर्माण भयो । जहाँ बस्ती नै छैन त्यो ठाउँमा । त्यो पनि वर्षायाममा डुवान हुने ठाउँमा ।” रामबहादुरले भने, “बाढी आयो भने हुलाकी सडक डुब्छ भन्ने थाहा हुँदाहुँदै गहिरोमा भवन निर्माण नहुनुपर्ने हो, त्यो भयो । अब नगरपालिकाले सञ्चालनमा ल्याउन सक्नुपर्थ्यो ।” शहरी स्वस्थ्य केन्द्रको भवन निर्माण हुँदा पनि स्थानीयले बिरोध गरेका थिए । त्यो ठाउँमा भवन उपयुक्त छैन भन्दै विवादका बीच भवन निर्माण भएको थियो । भवन निर्माण भएपछि पनि भवनको बारेमा निकै टीकाटिप्पणी भएका थिए । विवादका बाबजुद पनि नगरपालिकाले भवनको स्वामित्व लिइसकेको छ ।
नगरपालिका भने भवनको स्टिमेट नै त्यस्तै भएको दाबी गर्छ । नगरपालिकाका इन्जिनियर अनिश श्रेष्ठले स्वस्थ्य केन्द्रको भवन निर्माण भएको क्षेत्रमा नभई वडा नं. ३ को कार्यालय नजिकै कान्द्रा नदी किनारमा निर्माण हुनेगरी डिजाइन भएको बताएका छन् । “पहिले कान्द्रा नदीको किनारमा रहेको खाली ठाउँमा शहरी स्वस्थ्य केन्द्रको भवन निर्माण गर्ने कुरा थियो । पछि नदीका कारण भवन जोखिममा पर्नसक्ने भन्दै त्यहाँ भवन निर्माण नगर्ने कुरा भयो ।” इन्जिनियर श्रेष्ठले भने, “अन्तिममा एक जनाले जग्गा दान गर्छु भनेर जग्गा दान दिएपछि पुरानो ठाउँबाट उक्त भवनलाई नयाँ ठाउँमा सारिएको हो ।”
उनकाअनुसार डिजाइन स्टिमेट भन्दा भवनको उचाई निकै बढाइएको छ । भवनको उचाइ दुई फिट भन्दा बढी उठाएर निर्माण गरिएको इन्जिनियर श्रेष्ठले दाबी गरे । उनले एक ठाउँमा भएको स्टिमेटलाई अर्को स्थानमा स्थानान्तरण गर्दा केही भाग गहोरोमा परेको बताएका छन् । ४३ लाख ९१ हजार सात सय ६० रुपैयाँ बजेटमा ४१ लाख २१ लाख ८ सय ८५ रुपैयाँ निर्माण कम्पनीलाई नगरपालिकाले भुक्तानी गरेको छ । लागतमा निर्माण भएको उक्त भवनको काम २०७८ पुस २८ गते सम्पन्न भैसकेको थियो । रिया कन्स्ट्रक्सनले निर्माण गरेको शहरी स्वस्थ्य केन्द्रको भवन निर्माणका लागि संघीय सरकारको स्वस्थ्य मन्त्रालयले बजेट व्यवस्था गरेको इन्जिनियर श्रेष्ठ बताउँछन् ।
“वडा नं. ३ र ४ मा दुईवटा शहरी स्वस्थ्य केन्द्रको भवन निर्माणका लागि एक करोड बजेट आएको थियो । त्यसैअनुसार भवन निर्माण भएर वडा नं. ४ को सञ्चालनमा आइसकेको छ ।” इन्जिनियर श्रेष्ठले भने, “वडा नं. ३ को भने बाढीको डुवानको समस्याले नभई विद्युत लाइन नपुग्दा सञ्चालनमा ल्याउन नसकिएको हो ।” भवनको बाहिरी भागमा माटो पटानीको काम समेत हुन सकेको छैन । झट्ट हेर्दा भवन अलपत्र अवस्थामा परेको जस्तो देखिन्छ । अझै भनौं भने भवन संरक्षकको पर्खाइमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *