शेयेर गर्नुहोस
टीकापुर ०३ पौष /
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले पत्रकार समाजको ऐनाको रुपमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखाको १२ औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री भट्टले पत्रकारले समाजलाई ऐनाको रुपमा जस्ताको त्यस्तै देखाउने काम गर्दै आएको बताउनुभएको हो ।
“पत्रकार समाजको ऐना त्यो मानेमा हो, जुन ऐनाले समाजलाई देखाएको छ भने पत्रकार आफैलाई पनि देखाएको छ ।” मुख्यमन्त्री भट्टले भन्नुभयो, “समाजसँग प्रत्यक्ष जोडिएको पेशा पत्रकारिता भएकोले पनि ऐनाले देखाएजस्तै जस्ताकोत्यस्तै देखाएको छ ।” उहाँले पत्रकारिता साझा र तथ्यपरक हुनुपर्ने बताउँदै सामाजिक सञ्जालको लगत प्रयोगका कारण पत्रकारिता क्षेत्रको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको बताउनुभएको छ ।
“कुनै घटनाको जानकारी पत्रकारका भन्दा अगाडि त्यहीँका ब्याक्तीबाट आइसकेको हुन्छ ।” मुख्यमन्त्री भट्टले भन्नुभयो, “तर त्यो घटनाको विश्वसनीयता र वास्तविकतामा नागरिक माझ पुग्दा त्यसलाई विश्वास गर्ने अवस्था अहिले छैन । त्यसको सुधार हुनुपर्छ र त्यसलाई सुधारका लागि सबैले समन्वय गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।” उहाँले कसैसँग पुर्वाग्रही ढंगबाट समाचार संकलन गर्दा रचनात्मक आलोचना गर्न आग्रह समेत गर्नुभएको छ ।
मुख्यमन्त्री भट्टले अबको पत्रकारिता सुगमभन्दा दुर्गम केन्द्रित हुन आवश्यक रहेको बताउनुभएको छ । “सुगम क्षेत्रका सम्भावना, चुनौती र अभावका विषयमा हामी सबै जगजाहेर नै हुनेगरेका छौं ।” मुख्यमन्त्री भट्टले भन्नुभयो, “दुर्गम गाउँ बस्तीका अभाव र सम्भावनाको कुरा धेरैलाई थाहा हुँदैन । जुन कुरा सबैलाई थाहा हुनेगरी काम पत्रकारले गर्नुपर्ने देखिन्छ ।”
सरकार र पत्रकारको भुमिका सधैं प्रतिपक्षीमा रहने बताउँदै मुख्यमन्त्री भट्टले पत्रकार र सरकार एकाअर्काको परिपुरक जस्तै बनेका छन् ।नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखाका अध्यक्ष हिमालय जोशीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष हरिश विकले गरेका थिए भने, सञ्चालन सचीव प्रेम चौधरीले गरेका थिए ।