शेयेर गर्नुहोस
टीकापुर १८ चैत /
टीकापुर नगरपालिकामा संयुक्त टीकापुर बासीले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बहालमा रहेका प्रमुख प्रशासकीय अधिकृतलाई यथावत कायम राख्नुपर्ने भन्दै शुक्रवार नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् ।
केही दिन पहिले सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बहादुर कठायतले हालसम्मको प्रमुख प्रशासकीय अधिकृतहरु भन्दा राम्रो काम गरेको भन्दै पूरा कार्यकाल काम गर्ने वातावरण बनाई यथावत रुपमा कायम गर्न माग गरेको हो । ९६ जनाको हस्ताक्षर सहित नगर बासीले संयुक्तरुपमा नगरपालिकाका नगर प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्रमा प्रमुख प्रशासकीय अधिकृत कठायतले सुकुम्बासी, मुक्त कमैयाको यथाशीघ्र छानबिन गरी समस्या समाधानको माग समेत गरेका छन् ।
केही समय पहिले मात्रै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका कठायत घोडाघोडी नगरपालिकाबाट सरुवा भएर आएका थिए । करिब एक महिना टीकापुर नगरपालिकामा बसेका कठायतको गोदावरी नगरपालिका सरुवा भएको छ । नगरपालिकामा पहिले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका मंगल बहादुर शाही आउने भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर नगरपालिकामा ठूलो राजनीति हुन थालेको भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् । पत्रकार मातृका तिमिल्सिनाले नगरपालिकामा जोसुकै प्रमुख प्रशासकीय अधिकृत आए पनि सेवाग्राहीको कामकाजमा बाधा नपुगे हुने भन्दै प्रदर्शन गर्नु व्यर्थ हुने बताएका छन् । पत्रकार तिमिल्सिनाले सामाजिक सञ्जाल मार्फत भन्छन् ” घिर्णित राजनितिकाे अभ्यास बन्द गराैं । टीकापुर नगरपालिकामा शुक्रबार शिविरका केही मान्छेकाे भिड देखियाे । के कामले आयकाे भनेर साेध्दा अधिकाँशलाई जानकारी थियन । भित्री कुरा बुझ्दा कार्यकारीकाे सरुवाकाे बिराेधमा भनेर ल्याइएकाे भिड रहेछ । नगरपालिकाकाे हाकिम काे आयाे भनेर आम जनतालाई चाँसाे हुदैन र मलाई पनि छैन । कानुन अनुसार काम गरेन भने जाे सुकै भए पनि बिराेधमा बाेलाैंला । तर जे राजनैतिक अभ्यास गर्दैछाैं त्याे घ्रिणित अभ्यास हाे । भविष्यमा नगरपालिकाकाे कुनै कर्मचारी सरुवा गरिए काँग्रेस , एमाले वा माओवादी वा अन्य कुनै सँगठनले यसरी नै भिड जम्मा गरेर तालाबन्दीकाे धम्कि दिदा के हुन्छ ? बन्द गराैं यस्ता अराजनैतिक हर्कत ।”
त्यस्तै टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र रावल लेख्छन्, “अबाेध बालक झै नगरपालिकाे दरबाजामा टिठलाग्दा अनुहारहरू खडा गरेर कर्मचारी सरूवा जस्तो सामान्य विषय लाई राजनीतिक अस्तित्व काे लडाइ ठानि कस्तो राजनीतिक अभ्यास स्थापित गर्न खाेज्दै छु हामी ? आगामी दिनमा नपाकाे खरिदारकाे सरूवा गर्दा कुनै अर्को पक्षले दरबाजामा यसै गरि अनुहारहरू खडा ग-याे भने कहाँ जान्छ हाम्रो नपा? कहाँ पुगछाै हामी? समाधान भित्रै बाट खाेजाै । बन्द गराै यस्ताे राजनिती । हेक्का रहाेस जनता अरू संग पनि हाेलान ।”