प्रदेश प्रमुखद्वारा दुबै दाबी अस्वीकृत

शेयेर गर्नुहोस


टीकापुर ०४ वैशाख /
सुदूरपश्चिमका प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी मंगलबार अस्वीकृत गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरी र सोही पार्टीका अर्का सांसद कैलाश चौधरीले पेश गरेको मुख्यमन्त्रीको दाबी प्रदेश प्रमुख मियाले नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई मंगलबार आह्वान गरेका हुन् । प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि स्पष्ट दाबीसहित मिति वैशाख ६ गते बेलुका ५ः०० बजे भित्रको समय दिएका छन् ।
नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुख पुनः कानुनी परामर्शमा जुटेका थिए ।
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ बहादुर सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका थिए।
यसअघि नेपाली काँग्रेस कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेका थिए । उक्त समयमा काँग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लक्ष्मणलाई काँग्रेस सहित एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि समर्थन रहेको थियो भने कैलाशलाई माओवादी केन्द्र सहित नेकपा एमाले र एकजना स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *