शेयेर गर्नुहोस
टीकापुर ३१ साउन/
ईलाका प्रशासन कार्यालय टीकापुर अगाडि व्यवसाय गर्दै आएका व्यवसायीबाट नै नागरिक ठगिने गरेको पाइएको छ ।
प्रशासन कार्यालय अगाडि नै नागरिकहरु व्यवसायीबाट ठगिँदा अन्य बाहिरी क्षेत्रमा हुने अस्वभाविक मूल्य वृद्धिले उपभोक्ता कतिसम्म मारमा परेका होलान् भन्ने गम्भीर प्रश्न उब्जाएको छ । प्रशासन बाहिर रहेका फोटोकपी सेन्टरले ग्राहकबाट अस्वभाविक रकम लिँदै आएको व्यापारी आफै बताउँछन् । उनीहरूले एउटा फोटोकपीको १० रुपैयाँ लिँदै आएका छन् । गृह मन्त्रालयले नै एउटा फोटोकपीको पाँच रुपैयाँ भन्दा बढी नलिन परिपत्र नै गरेको छ ।
ग्राहकबाट मापदण्ड भन्दा पाँच रुपैयाँ बढी लिँदा पनि प्रशासन कार्यालयले व्यवसायीलाई सचेत गराउने काम भन्दा अरु केही गर्न सकेको छैन । इलाका प्रशासन कार्यालयका प्रमुख तारानाथ पनेरुकै अगाडि व्यवसायी हाकाहाकी एउटा फोटोकपी गरेको १० रुपैयाँ लिएको बताउँछन् । पानी बोतलमा पनि ग्राहकलाई व्यापारीले ठग्ने गरेका छन् । “मैले पानी बोतल किनेर ५० रुपैयाँ दिँदा २० रुपैयाँँ फिर्ता दिनुभयो । मैले प्रश्न गरेपछि पुनः पाँच रुपैयाँ फिर्ता दिनुभयो ।” भुमी व्यवस्थापन कार्यालय टीकापुरमा सेवा लिन आएका चन्द्र प्रसाद चौधरीले भने, “व्यापारीका अगाडी उपभोक्ता पनि सजग हुनुपर्छ । नभए उपभोक्ता ठगिने क्रम रोकिँदैन ।”
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख पनेरुले पहिलोपटक व्यापारीलाई सचेत गराउने काम गरेको बताउँदै यसभन्दा पछि त्यहीँ प्रवृत्ति दोहोरिए कारबाही गरिने बताएका छन् । “एकपटक सबै व्यवसायीलाई सचेत गराइएको छ ।” उनले भने, “आगामी दिनमा गुनासो आयो भने कानुनअनुसार कारबाही हुन्छ ।” प्रशासन कार्यालयकै संलग्नतामा यसभन्दा पहिले पनि सो ठाउँमा कैयौंपटक अनुगमन भएको छ । प्रशासनसँगै भुमी व्यवस्थापन कार्यालय र नापी कार्यालय एउटै ठाउँमा हुँदा सेवाग्राहीको भिडभाड हुने ती कार्यालय अगाडि कैयौं व्यवसायीले व्यवसाय दर्ता नै नगरी व्यापार गर्दै आएका छन् ।
टीकापुर नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले प्रशासन आसपासमा जति नै अनुगमन गरे पनि व्यवसायीको प्रवृत्तिमा सुधार नभएको बताएकी छन् । उनले अनुगमन भएपछि एकदुई दिन मूल्य सुचीअनुसार फोटोकपी लगायत सामाग्री बिक्रि गरे पनि पुनः त्यो प्रवृत्ति दोहोरिने गरेको बताइन् । “धेरैपटक सम्झाउने काम भैसकेको छ । अब जरिवाना सहित कारबाही नगरेसम्म यस्तै हुने हो ।” उनले भनिन्, “सम्झाएर, चेतावनी दिएर मात्रै उपभोक्ताले न्याय पाउने स्थिति देखिएन ।”
उसो त प्रती फोटोकपी पाँच रुपैयाँ भन्दा बढी लिएपछि गुनासो गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ । गुनासोको आधारमा तत्काल बढी मूल्य लिनेलाई कारबाही गर्ने भन्दै आएको प्रशासनले अहिलेसम्म कसैलाई कारबाहीको दायरामा भने ल्याउन सकेको छैन ।








