प्रहरीका लागि सुविधासम्पन्न आवास भवन निर्माण

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ५ साउन /
कच्ची टहरामा बस्दै आएको प्रहरीका लागि पक्की आवास्स भवन निर्माण गरिएको छ । सुदुरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा ईलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी आवास भवन निर्माण भएको हो ।
जीर्ण भवनमा बस्न बाध्य प्रहरीका लागि सुविधा सम्पन्न भवन निर्माण भएपछि निकै सहज भएको छ । ४५ जनालाई बस्न मिल्ने उक्त भवन निर्माण सम्पन्न भएर प्रहरीलाई हस्तान्तरण भैसकेको छ । एक करोड ८९ लाखको लागतमा निर्माण भएको आवास भवन एक वर्षमा सम्पन्न गरिएको निर्माणको जिम्मा पाएको त्रिवेणी लाफा कन्स्ट्रक्सनका इन्जिनियर मनिष कुमार शाहले जानकारी दिनुभएको छ । उहाँका अनुसार सम्झौता अनुसार समयमै भवन निर्माणको काम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा सुदुरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीको आवास भवन निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो । भवन निर्माण भएपछि प्रहरी जवानका लागि धेरै राहत भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभएको छ । “खासगरी वर्षातको समयमा हुने डुवानले प्रहरी आवास जलमग्न हुने र त्यहीँ ठाँउमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।” प्रहरी नायब उपरीक्षक अधिकारीले भन्नुभयो, “अब त्यो स्थिति आउने छैन । कम्तिमा अरुको शान्ती सुरक्षामा खटिने प्रहरीको बसाइँ राम्रो हुनेछ ।”
दुई तलामा निर्माण गरिएको भवनको थप तलाको लागि प्रदेशले चालू आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ । निर्माण सम्पन्न भएको भवनमा कार्यालयमा कार्यरत प्रहरीका लागि अपुग छ । अहिले ईलाका प्रहरी कार्यालयमा एक सय जना प्रहरी कार्यरत छन् । त्यसमध्ये कतिपय स्थानीय भएका कारण ड्युटी सकिएपछि आफ्नै घर जाने गरेका छन् भने परिवार सहित बस्नेहरु ब्यारेक बाहिर कोठा भाडामा लिएर बस्ने गरेका छन् । “सबै प्रहरी ब्यारेकमा बसेको भए अझै व्यवस्थापन गर्न समस्या हुन्थ्यो । स्थानीय घर भएका आफ्नै घरमा र केही भाडामा बस्ने भएको हुँदा जेनतेन बसाइँको व्यवस्था मिलाएका छौँ भने त्यहाँ क्षमता भन्दा बढीले आवास सुविधा लिएका छन् ।” उहाँ भन्नुहुन्छ, “भवनको थप तला बन्यो भने आवासको लागि वर्तमान जनशक्तिलाई हेर्दा प्रयाप्त हुन्छ होला ।”
प्रहरी कार्यालयमा प्रहरी आवास भवन निर्माण भए पनि अझै धेरै कुराको अभाव रहेको छ । हिरासत साँघुरो हुँदा समस्या हुँदै आएको छ । खाना पकाउने भान्सा (मेस) को अभाव छ । महिला तथा बालबालिका भवनको स्थिति चिन्ताजनक छ । कार्यालय भवन फराकिलो छैन । यस्ता कयौं समस्याका बाबजुद आवास भवन बन्दा अन्य आवश्यकताहरु थपिएको प्रहरी नायब उपरीक्षक अधिकारी बताउनुहुँन्छ । “पहिले निर्माण भएका संरचना अहिले अपुग हुन थालेका छन् । अहिले दरबन्दी अनुसार र सेवाग्राहीको चापलाई हेर्दा अझै धेरै कुरा आवश्यक देखिन्छ ।” उहाँले भन्नुभयो, “सबै कुरा एकैपटक नभए पनि एकपछी अर्को गरी संरचना थपिने क्रम जारी रहेको हुँदा आशा गर्ने ठाउँहरु छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *