फोहोर उठ्न छोडेपछि बजारमा दुर्गन्ध बढ्दो

शेयेर गर्नुहोस


झलनाथ खनाल / टीकापुर १४ भदौ /
वर्षाको समय बजार त्यसै पनि दुर्गन्धित हुन्छ । ठाउँ ठाउँका पानीका खाल्डाले बजार क्षेत्रको अवस्था वास्तविक रुपमै कुरुप भएको छ । विकासका काम भैरहेको अवस्था भएर पनि होला, बजार बजारजस्तो छैन । त्यसैमा टीकापुर नगरपालिकाले उठाउनुपर्ने फोहोर समयमै उठाउन नसक्दा बजारमा दुर्गन्ध फैलिएको मात्रै छैन , सरुवा रोगको संक्रमण फैलिने चिन्ता बढेको स्थानीय ब्यापारीहरु बताउँछन् ।
बजारका मुख्य चोकहरुमा राखिएका फोहोरका डस्ट्विनहरु भरिएका छन, भने जताततै फोहोरमात्रै देखिने गरेको छ । वलभद्र चोकमा जताततै फोहोरका डंगुरमात्रै देखिने गरेका छन् । त्यस्तै अस्पताल रोडमा, सिद्धार्थ चोक लगाएतका ठाउँमा पनि फोहोर उठ्न नसक्दा जताततै फोहोरका डंगुर मात्र छन् ।
स्थानीय ब्यापारी शंकर देवकोटाले नगरपालिकाको लापरबाहीका कारण १५ दिनदेखि वलभद्र चोकको फोहोर नउँठेको बताउनुभएको छ । “एकातिर डुवानको समस्या उस्तै छ । पानी पर्यो कि डुवान भएर पानीले पसलहरु नै जलमग्न हुन्छन् ।” देवकोटाले भन्नुभयो, “त्यसैमा फोहोर समयमा नउठ्दा सडकमा आवतजावत समेत गर्न मुस्किल हुनथालेको छ ।”
त्यस्तै अर्का ब्यापारी सरोज चपाईले यत्रतत्र फोहोरका डंगुर थुप्रो लागेसँगै सरुवा रोगको जोखिम बढेको बताउनुभयो । “जताततै पानी र फोहोर मात्रै छ । त्यसबाट मलेरिया, डेंगु जस्ता रोजहरुको प्रकोप फैलिनसक्ने जोखिम बढेको छ ।” चपाईले भन्नुभयो, “अहिले फोहोर समयमै व्यवस्थापन गर्न राम्रो कि भोलि यस्तै फोहोरका कारण महामारी फैलिएपछी त्यसको रोकथाम गर्न राम्रो ? स्थानीय सरकारले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।”
नगरपालिकाले बजार क्षेत्रमा उत्पादन भएको फोहोर व्यवस्थापनकै लागि कर्मचारी समेत नियुक्त गरेको छ । कर्मचारीहरुलाई सहि रुपमा परिचालन गर्न नसकेका कारण फोहोर व्यवस्थापनमा समस्या भएको ब्यापारीहरुको गुनासो रहदै आएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि स्थायी रुपमा डम्पिङ साइडको निर्माण गर्न नसकेका कारणले पनि टीकापुरमा पटकपटक फोहोर व्यवस्थापनको विषय जटिल बन्दै गएको छ । नगरपालिकाले अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको ठाउँहरुमा अहिले पानी जमेका कारण फोहोर व्यवस्थापनमा चुनौती भएको नगरपालिकाले जनाउँदै आएको छ ।
नगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन उपशाखा प्रमुख निर्मला चौधरीले फोहोर फाल्ने ठाउँको अभावका कारण फोहोर उठ्न नसकेको बताउनुभएको छ । “पहिले टीकापुर बहुमुखी क्याम्पसको जग्गामा व्यवस्थापन हुँदै आएको थियो । त्यहाँ बन्द भएपछि टीकापुर पार्क भित्र भएको खाल्डोमा हाल्ने गरेका थियौं ।” प्रमुख चौधरीले भन्नुभयो, “अहिले जताततै पानी मात्रै छ । ठाउँ नपाएर फोहोर व्यवस्थापन गर्न सकिएको छैन ।” उहाँले पहिले सडक ग्राभेल गर्दा तल फोहोर हालेर माथी ग्राभेल हाल्ने काम समेत गरि फोहोरको व्यवस्थापन गरिएको बताएकी छन् । “ठाउँ खोज्दै छौ । ठाउँ नपाएसम्म फोहोर उठाउन सकिएला भन्न सकिदैन ।” चौधरीले भन्नुभयो , “लामो दुरिमा लिन पनि अहिलेको अवस्थामा सकिँदैन । नजिक ठाउँ छैन । हामिलाई पनि निकै चुनौती भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *