शेयेर गर्नुहोस
टीकापुर ०९ भदौ /
बाढीका कारण विस्थापित भएका कैलालीका बाढी प्रभावित घर फर्कन थालेका छन् ।
बाढी कम हुँदै गएपछि स्थानीय आआफ्नो घर फर्कन थालेका हुन । तर घरभित्र हिलो भएका कारण कतिपयको बास अझै सडकमै रहेको छ । अविरल वर्षाका कारण भजनी नगरपालिका सहित कैलारी गाउँपालिकाका अधिकांश भूभाग बुधबारदेखि जलमग्न भएका थिए । बाढी घट्दै गएपछि प्रभावितको जनजीवन केही सहज बन्न थालेको छ । मोहना, कान्द्रा, पथरैया, काँढालगायतका साना ठुला नदीनालामा आएको बाढीले डुबान गरेपछि भजनी नगरपालिकामा चार हजार तीन सय ३७ घरपरिवार विस्थापित भएका थिए । बाढी घटेपछि विस्थापित घर फर्कन थालेको नगरपालिकाका विपत् व्यवस्थापन स्रोत व्यक्ति विष्णुप्रसाद न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार बाढीका कारण घर तथा आगन हिलाम्मे भएका कारण सहज जनजीवन घरमा पनि प्रभावितको छैन ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभरी बाढी, डुबानबाट करिब चार हजार पाँच सय घरपरिवार प्रभावित भएको जनाएको छ । प्रभावितमध्ये केही परिवार विस्थापित भएकोमा हाल धेरै जसो घर फर्केको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् । उनका अनुसार नदीमा पानीको बहाव घट्दै गएकाले लगभग ८० प्रतिशत विस्थापित घर फर्केका छन् ।प्रभावितलाई यस पटक राहत बाँडिएको छैन । राहतको आवश्यकता भएको भनेर माग नभएका कारणले राहत उपलब्ध नगराएको सूचना अधिकारी जोशी बताउँछन् ।