बिद्यार्थीलाई नमुना मतदान,भन्छन् : घरमा अभिभावकलाई सिकाउँछौं

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २६ कार्तिक /
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ जोतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक बिधालयमा अहिले कक्षा १० मा अध्ययन गरिराख्नुभएको छ । तर, शुक्रवार उहाँ बिद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको थियो । बिधालयले बिद्यार्थीहरुलाई पाठ्यक्रममा समावेश भएअनुसार निर्वाचनमा मतदान प्रक्रियाका बारेमा कक्षा १० का बिद्यार्थीहरुलाई नमुना मतदान कार्यक्रम गर्दा लक्ष्मण उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको हो ।
“हामीलाई निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो । निर्वाचन गर्दाको प्रक्रियाका बारेमा अध्ययन भन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ ।” लक्ष्मणले भन्नुभयो, “निर्वाचनको मुखैमा भएको नमुना मतदानले हामीलाई निकै फाइदा गर्ने छ ।” कर्णाली माध्यामिक बिधालयमा अध्ययनरत पारस शाही नमुना मतदानले घरमा अभिभावकलाई मतदान सम्बन्धि शिक्षा दिन सहयोग मिल्ने बताउनुहुँन्छ । “आउँदो निर्वाचनसम्म हामी पनि मतदान गर्ने उमेरको हुन्छौं । अहिले सिकेको सीप भोलि काम लाग्छ ।” पारसले भन्नुभयो, “घरमा अभिभावकलाई पनि मतदान गर्न सिकाउने अवसर नमुना मतदानले दिनेछ ।”
मेरिका ढुंगानालाई मतदान कसरी गर्ने भन्ने कुराको थाहा छैन । उहाँले निर्वाचनको प्रक्रिया बारेमा कुनै सिकाइ भएको बताउनुभयो । मनोनयन दर्तादेखि निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेर भएको नमुना मतदानले समुदायमा मतदान शिक्षा नपाएका नागरिकहरूलाई समेत सिकाउन सक्ने क्षमताको विकास भएको मेरिका बताउनुहुँन्छ । “अहिले निर्वाचनको समय छ । हामीले सिकेको ज्ञान् आफ्ना लागि भन्दा अभिभावक र समुदायका लागि काम लाग्ने छ ।” मेरिकाले भन्नुभयो, “सिकेको शिक्षा अभिभावकलाई र समुदायलाई भन्छौं । जसका कारण अहिलेको निर्वाचनमा मत बदर हुने सम्भावनाको कम हुन सक्छ ।”
कक्षा १० का विनोद जोशी नमुना मतदानमा मतदान अधिकृतको भुमिकामा रहनु भएको थियो । मतदान अधिकृतले खेल्ने भुमिकाले आफुलाई निर्वाचनको महत्त्वको बारेमा सक्षम बनाएको दाबी विनोदले गर्नुभयो । “पढेर सिकेको कुरा भन्दा गरेर सिकेको कुरा सहज हुने रहेछ ।” जोशीले भन्नुभयो, “हामी आम निर्वाचनमा मतदातालाई शिक्षा दिनसक्ने क्षमताको विकास नमुना मतदानले भएको छ । आवश्यक परे समुदायका नागरिकहरूलाई मतदान शिक्षा दिन सक्छौं ।”
कक्षा १० को सामाजिक विषयमा भएको पाठ्यक्रम अनुसार नमुना मतदान प्रक्रिया सुरु गरेको थियो । निर्वाचनमा सहभागी उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयंसेवकसहित आवश्यक सबै प्रक्रिया पूरा गरेर नमुना मतदान पूरा गरेको बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो ।
“हप्ताको शुक्रबार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत नमुना मतदान गरेका हौं । यसले बिद्यार्थीलाई निर्वाचन गर्दा पर्ने प्रक्रियाको बारेमा शिक्षा प्रदान गर्ने छ भने, घरमा निर्वाचनको समय भएको हुँदा अभिभावकलाई मतदान गर्न सिकाउने माध्यम पनि बन्न सक्छ ।” प्रधानाध्यापक शर्मा भन्नुहुन्छ, “बिद्यार्थीहरुले पनि नमुना मतदानमा निकै उत्सुकता देखाएको छ । बिद्यार्थीलाई ज्ञान् भन्दा घरमा अभिभावकलाई सिकाउने प्रतिक्रिया बिद्यार्थीबाट पाएका छौं ।”
उहाँले बिद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान् भन्दा प्रयोगात्मक ज्ञान्मा जोड दिइएको बताउनुभयो । “सैद्धान्तिक ज्ञानले भन्दा ब्यबहारिक ज्ञानले बिद्यार्थीहरुमा छिटो सिकाई हुनेभएकोले त्यसतर्फ बढी जोड दिएका छौं ।” प्रधानाध्यापक शर्माले भन्नुभयो, “त्यसैको एक उदाहरण हो नमुना मतदान पनि ।”

ताजा खबर

अध्यक्षमा धर्मसिंह चयन

कृषिमा लगानी बढाउन नगार्जीको सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *