शेयेर गर्नुहोस
टीकापुर ०८ चैत /
टीकापुर नगरपालिकाले आउने शैक्षिकसत्रबाट विद्यार्थी संख्याको आधारमा बिधालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको तयारी थालेको छ ।
लामो समयदेखि बिधालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको विषय उठ्दै आए पनि यसपटक त्यसको विस्तृत अध्ययन गरिएको हो । नगरपालिकाले शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षको अनुगमन र अध्ययन गरेर बिधालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको तयारी थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिएका छन् । उनले आवश्यकताको आधारमा बिधालय समायोजन र शिक्षक दरबन्दी मिलानको काम गर्नुपरेको बताए ।
बिधालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको पक्षमा राजनीतिक दलहरू पनि एक ठाँउमा उभिएका छन् । उनीहरुले आवश्यकताको आधारमा पहिले यो काम भैसक्नुपर्नेमा जोड दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता रंग अधिकारीले सामुदायिक बिधालयमा विद्यार्थीको संख्या घट्दै गएको उल्लेख गर्दै बिधालय समायोजनमा जानुको विकल्प नरहेको बताएका छन् । “यो पहिले नै हुनुपर्ने विषय थियो । ढिलो भए पनि नगरपालिकाले तयारी थालेको छ, राम्रो छ ।” उनले भने, “यो कुरामा राजनीतिक दलहरूको विमति रहँदैन ।”
लामो समयदेखि शिक्षकको दरबन्दी हेरफेर नहुँदा कतिपय बिधालयमा बिद्यार्थी संख्या अस्वभाविक हुँदा शिक्षकको संख्या निकै कम छ भने कतिपय बिधालयमा शिक्षकको अनुपातमा बिद्यार्थी संख्या निकै न्यून देखिएको छ । “दीर्घकालीन असर नपर्ने गरी शैक्षिकसत्र सुरु हुनुभन्दा पहिले नै बिधालय समायोजनको विषयलाई टुंगोमा पुर्याउनुपर्छ ।” नेकपा एमालेका टीकापुर नगर अध्यक्ष लक्ष्मण थापाले भने, “फेरि छलफल चलाएर त्यसलाई त्यतिकै सिमित नराख्न म नगरपालिकालाई अनुरोध समेत गर्दछु ।”
बिधालय तथा बिद्यार्थीको अवस्थाको अध्ययन गर्न नगरपालिकाले सहप्राध्यापक नाथुराम चौधरीको संयोजकत्वमा अध्ययन समिती समेत बनाएर समितिले प्रतिवेदन समेत तयार पारेको छ । अध्ययन समितिका संयोजक चौधरीका अनुसार समितिले शैक्षिक, भौतिक र व्यवस्थापकीय पक्षलाई हेरेर अध्ययन गरेको बताएका छन् । “हामीले ३४ सामुदायिक बिधालयको अध्ययन गरेका थियौं । त्यसैको आधारमा प्रतिवेदन तयार गरेका छौँ ।” उनले भने, “आज नगरपालिकालाई हामीले उक्त प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।”
उता भजनी नगरपालिकाले पनि बिधालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको लागि आवश्यक छलफल अगाडि बढाएको छ । नगरपालिकाले बिधालय व्यवस्थापन समिती, बिधालयका प्रधानाध्यापक लगायतसँग परामर्श गरिरहेको छ । “यसै शैक्षिकसत्रबाट बिधालय समायोजनको काम गर्ने तयारी गरिरहेका छौँ ।” नगरपालिकाका शिक्षा अधिकृत पंख बहादुर शाहले भने, “बिद्यार्थी संख्याको आधारमा बिधालय समायोजन गरेर शिक्षक दरबन्दी मिलानको तयारी हामीले थालेका छौँ ।”










