शेयेर गर्नुहोस
टीकापुर ०३ कार्तिक /
ब्याजदर वृद्धि बैंकहरुले गरेको ब्याजदर वृद्धिको विरोधमा टीकापुर उद्योग वाणिज्य संघले बिहिवार मौन र्याली निकालेको छ ।
एकाएक बैंकहरुले ब्याजदर बढाएपछि त्यसबाट व्यापारी तथा व्यवसायीहरुलाई निकै ठूलो मार परेको भन्दै ब्याजदर तत्काल घटाउन माग गर्दै मौन विरोध र्याली निकालिएको हो । विभिन्न प्लेटका सहित संघको कार्यालयबाट सुरु भएको र्याली बजार परिक्रमासँगै ईलाका प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै खडक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै संघका पुर्व अध्यक्ष पर्शुराम चपाईले ठुला ब्यापारीहरु नै बैंकहरुका मालिक भएका कारण बैंकलाई पैसा कमाउने एक अस्त्रको रुपमा लिन थालिएको बताएका छन । “ठुला ब्यापारी तथा उद्योगी नै बैंकका मालिक छन् । उनीहरुलाई जहाँबाट पनि नाफा चाहिएको छ ।” पुर्व अध्यक्ष चपाईले भने, “यता साना ब्यापारी रोडमा आउने अवस्था भएको छ । ठुला ब्यापारीहरुले बैंकको ब्याज बढाएर ब्यापार गरिरहेका छन् ।”
पुर्व अध्यक्ष चपाईले कोरोना संक्रमण पछिको मन्दीले कयौं व्यवसाय धरापमा परेको अवस्थामा बैंकले बढाएको ब्याजदरले सानो तथा मध्यम वर्गमा व्यवसायीलाई विस्थापित गर्न खोजेको आरोप समेत लगाएका छन् । “हिजो छ प्रतिशत ब्याज तिर्ने ब्यापारी आज १५ प्रतिशत ब्याज तिर्न बाध्य भएका छन् ।” चपाईले भने, “यसलाई तत्काल सच्याइनुपर्छ । होइन भने कडा रुपमा प्रतिकारमा उत्रनु पर्ने अवस्था आउन सक्छ ।” संघका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा भएको कोणसभाको सञ्चालन महासचिव नवराज रिमालले गरेका थिए ।