भारतबाट अवैध सामान आफै ल्याउछन भन्सार प्रमुख शाह

शेयेर गर्नुहोस


टीकापुर ०२ पौष /
कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाका कार्यालय प्रमुख भारतीय बजारबाट आफ्नै सरकारी गाडीमा भन्सार छली (अवैध) एसी ल्याएको अवस्थामा फेला परेका छन् ।
भन्सार कार्यालयका कार्यालय प्रमुख विमल कुमार शाह भन्सार कार्यालयको सरकारी नम्बर प्लेटको गाडीमा चारवटा एसी ल्याएर आएको अवस्थामा शुक्रबार कार्यालय परिसरमै फेला परेका हुन । कार्यालयको से १ झ ३०२ नम्बरको गाडीमा चारवटा प्यानाशोनिक कम्पनीको चारवटा एसीसहित रंगेहात फेला परेका छन् । कस्टम बैठकमा सहभागी हुन भारत जानुभएका शाहले त्यहाँबाट एसी ल्याएर आएका छन् ।
भन्सारको रिपोर्टिङका लागि भन्सार पुग्दा कार्यालयमा शाह नभएपछि उहाँलाई पर्खेर बस्दा उहाँ आएपछि उहाँको गाडीमा एसी फेला परेपछि उहाँले घरायसी प्रयोजनका लागि भारतिय बजारबाट एसी खरिद गरेको स्वीकार गरेका छन् । उनीसँग एसीको बिल समेत थिएन । बिल मागेपछि शाहले बोली फेरे । त्यसपछि उनले नेपालबाट एसी खरिद गरेको र कार्यालय प्रयोजनको लागि एसी खरिद भएको बताए । गाडी भित्र एसी ल्याएको देखेपछि निकै हतोत्साहित भएका उनले पटकपटक समाचार सार्वजनिक नगर्न आग्रह समेत गरे । उनले व्यावहारिक रुपमा जान आग्रह समेत गरे ।
राजस्व छलीमा कार्यालय प्रमुख आफै संलग्न देखेपछि राजस्व संकलनमा उनको उदासीनतालाई सहजै अनुमान गर्न सक्ने अवस्था छ । किन भने, गत आर्थिक वर्षदेखि भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन समेत गर्न सकेको छैन । कार्यालयले लक्ष्यको ५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा १६ करोड ९४ लाख ४२ हजार राजस्व संकलनको लक्ष्य पाएको भन्सार कार्यालयले पाँच महिनामा दुई करोड ४७ लाख ८५ हजार मात्रै राजस्व संकलन गर्न सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *