शेयेर गर्नुहोस
भजनी १४ मंसिर /
कैलालीको भजनी नगरपालिका वडा नं. ५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँ खेती गर्ने तयारी गर्नुभएको धेरै धेरै भयो । उहाँको योजनाअनुसार यतिबेला खेतमा गहुँ छरीसक्नुपर्ने हो । गहुँ छर्नु भन्दा आजभोलि रासायनिक मलको खोजीमा उहाँको दैनिकी बितिरहेको छ ।
भजनी लगायत आसपासका बजारमा दिन बेथित गर्दै आउनुभएका उहाँलाई गहुँ खेती गर्न पाइने नपाइनेमै शंका लाग्न थालेको छ । “पहिले देखि नै रासायनिक मल प्रयोग गर्दै आएकोले मल नहालेर उब्जनी हुँदैन ।” उहाँ भन्नुहुन्छ, “दिनभर मलका लागि दौडधुप हुन्छ । साझ रित्तो घर फर्कनु परेको छ ।”
स्थानीय बजारमा मलको सहज आपूर्ति नहुँदा हरिप्रसाद जस्तै भजनीका कैयौं किसानले अझै खेती लगाउन सकेका छैनन् । गहुँ खेती गरेका किसानहरू पनि मल नपाएर तनावमा रहेका छन् । समयमा मल नपाएपछि मल नहालेरै गहुँ छर्नुभएका लक्ष्मण चौधरीको समस्या पनि उस्तै छ । उहाँले ९ बिघा क्षेत्रफलमा गहुँ लगाउनुभएको छ । भनेको बेला मल नपाइएपछी मलको प्रयोग नगरेरै खेती लगाउनुभएका लक्ष्मण मलको सहजताको लागि हारगुहार गर्दै नगरपालिकासम्म पुग्नुभयो ।
“नेपाली बजारमा मल कतै पाइँदैन । पाइए पनि एक कट्टा मल पाइन्छ, ९ बिघा खेतमा त्यो एक कट्टाले कसरी पुर्याउनु ?” उहाँ भन्नुहुन्छ, “भारतीय बजारबाट व्यवहार हेरेर किसानलाई आफ्नो प्रयोगको लागि मल ल्याउन दिएको भए पनि सहज हुन्थ्यो ।” भारतिय बजारमा मल उपलब्ध भए पनि सिमा प्रहरीले रोक लगाउने गरेको किसानहरुको गुनासो छ । व्यावसायिक प्रयोजनको लागि नभई व्यक्तिगत प्रयोजनको लागि भारतिय बजारबाट मल ल्याउन पाउनुपर्ने माग किसानले गर्दै आएका छन् ।
सरकारले किसानलाई खेतीको समयमा सहजरूपमा मल उपलब्ध गराउन नसकेको जुगराम डगौरा बताउनुहुँन्छ । “कृषिमा राज्यले ठूलो लगानी गर्दै आएको बताउँछ, तर किसानले पैसा तिरेरै पनि समयमा मल पाउने स्थिति छैन ।” उहाँले भन्नुभयो, “कि हामीलाई यथाशीघ्र मलको व्यवस्थापन सरकारले गरोस् होइन, भने खेतको लागि बाहिरबाट मल ल्याउने कुरामा सहजीकरणसम्मको काम गरिदिए पनि हुन्छ ।”
भजानी नगरपालिका कृषिका लागि उर्वर हो । त्यहाँका अधिकांश नागरिकहरू कृषि पेशामा आबद्ध छन् । बाढी र डुवानका कारण वर्षातको खेती अधिकांश किसानले गर्दैनन् । हिउँदे खेती त्यहाँका किसानको मुख्य आयस्रोत हो । स्थानीय बजारमा मल नभेटेपछि भारतबाट दुई कट्टा मल ल्याएर आउनुभएका सुन्दर चौधरीले मल प्रहरीले नियन्त्रणमा लिएर भन्सार पुगेको गुनासो गर्नुभयो ।
जताततै किसानहरूले मल नपाएको गुनासो आएपछि भजनी नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरेको छ । नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का वडा अध्यक्ष विक्रम चौधरीले सरकारले अनुदानमा छुट्याइएको मलको कोटा अनुसार भजनीका एक तिहाई किसानको माग पूरा नहुने बताउनुहुँन्छ । ” दश हजार क्विन्टल रासायनिक मलले भजनीको भागमा छ । त्यो मलको एक तिहाई किसानको माग पूरा गर्न सकेको छैन ।” उहाँ भन्नुहुन्छ, “किसानको मागअनुसार मलको उपलब्धता हुने हो भने २५ देखि ३५ हजार क्विन्टल मल आवश्यक पर्छ ।” किसानले एकदुई बोरा मल भारतीय बजारबाट खेतको लागि ल्याउँदा त्यसलाई अबरोध सुरक्षा निकायले गर्न नहुनेमा जोड दिएका छन् ।
नगरपालिकाका नगर प्रमुख केवल चौधरीले मलको समस्या बर्सेनि किसानहरूले झेल्दै आएको बताउँदै समाधानका लागि नगरपालिकाले प्रयास गर्दा पनि सफल हुन नसकिएको बताउनुभयो । उहाँले नगरपालिकालाई उपलब्ध गराउने मलको कोटा बढाउन माग गरेको पनि बताउनुभएको छ । “खेतीको समयमा मल नपाउँदा कति समस्या भएको छ त्यो हामीलाई थाहा छ ।” उहाँले भन्नुभयो, “सबै कुराहरू हाम्रो हातमा पनि छैन । समन्वय र सहकार्य नगरपालिकाले गरिरहेको छ ।”
खेतीको समयमा बर्सेनि किसानहरूले वडामा मलको उपलब्धतालाई लिएर आउने गरेको वडा नं. ५ का वडा अध्यक्ष केशव बुढाले बताउनुभयो । उहाँले आवश्यक मलको जोहो पहिले नै गरेर राख्नुपर्ने अवस्था रहेको बताउनुभयो ।