महिला सहभागिता वृद्धिका लागि मिडिया अभिमुखीकरण

शेयेर गर्नुहोस


टीकापुर ०५ चैत /
स्थानीय स्तरमा महिलाको राजनीतिक सहभागिता अभिवृद्धि गर्न जिल्ला स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
टीकापुर नगरपालिकाको आयोजना तथा दलित महिला केन्द्र नेपालको सहकार्यमा भएको कार्यक्रममा सहजीकरण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले मिडियाले राजनीति गरिरहेका महिला तथा जनप्रतिनिधि महिला सदस्यलाई प्राथमिकता नदिएको बताएकी छन् । शर्माले मिडियाले महिला नेतृत्वका सकारात्मक पक्ष मिडियामा ल्याउनुपर्नेमा जोड दिँदै सकारात्मक कार्य र पक्षहरु प्रती मिडियाकर्मी जिम्मेवार बन्नुपर्ने बताइन ।
‘‘महिलालाई अवसर दिँदा पुरुषलाइ बराबर दिइयो भने उनीहरु काम गर्न र जित्न सक्दैनन ।” उनले भनिन्, ‘‘पदमा पुुगेका महिलालाई सक्षम बनाउने गरी सबैतिरबाट काम हुनुुपर्छ । महिला सदस्यलाई वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुुखका लागि तयार हुन मिडियाको सकारात्मक भूमिका चाहिन्छ ।’’ उनले पदमा हरेक वडामा रहेका महिला सदस्य एक पटक नेतृत्व गरेपछि दोहोरिने वा माथिल्लो पदमा पुुगेका थोरै देखिएकाले अब यसलाई सुधार गर्ने गरी काम गर्नुपर्ने बताएकी छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि एकिन्द्र तिमिल्सिनाले महिलालाई पदमा पुुगेपछि सिकाउनुुभन्दा पदमा पुुग्नुुअघि काम गर्नका लागि तयार गर्नुपर्नेमा जोड दिए । ‘‘पदमा आइसकेका जनप्रतिनिधि महिलालाई सिकाउँदा सिकाउँदै ५ वर्ष सकिन्छ, उनीहरुले राम्रो काम कसरी गर्छन्‌ ।” उनले भने, ‘‘सम्भाव्य महिलालाई पहिल्यै लगानी गर्नुपर्छ । कुन पदमा जाँदा के कसरी काम गर्ने भनी राजनीति गर्नेलाई पहिल्यै सिकाउनुपर्छ । यो काम मिडियोको पनि हो ।’’
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले महिलाको नेतृत्व बढाउन अब महिलालाई मात्र सक्षम बनाउनेभन्दा राजनीतिक नेतृत्व र जिम्मेवारीमा रहेका पुरुषलाई तालिम दिन आवश्यक रहेको बताए । ‘‘समुदायमा राम्रो काम गरिरहेका महिलालाई मिडिया मात्र नभइ दलहरुले पनि प्रोत्साहन गर्ने, अवसर दिने गर्नुुपर्‍यो ।” उनले भने, ‘‘हामी पत्रकारहरु यसमा बढी सम्वेदनशिल हुन आवश्यक छ ।’’
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन विकले टीकापुरमा ५० जनाको नगर सभामा १९ महिला रहेका जानकारी दिए । “१९ जनाको कार्यपालिकामा ६ जना महिला हुनुहुुन्छ ।” उनले भने, ‘‘हामी वडाध्यक्ष त नगर प्रमुख र उपप्रमुखको दवावमा छौँ, महिलाका कुरा झन गाह्रो छ ।’’ उनले पत्रकारले पनि सरकार प्रमुुखलाई प्राथमिकता दिँदा महिला जनप्रतिनिधिको भूमिका र आवाज पछि परेकाले प्राथमिकता दिन आग्रह गरे।
कार्यक्रममा स्थानीय सरकार सवलीकरण कार्यक्रमका सुदूूरपश्चिमका बरिष्ठ प्रदेश संयोजक यज्ञमान सेठ्ठीले परियोजनाले महिला जनप्रतिनिधिको क्षमता विकासमा सघाइरहेको बताएका छन् । ‘‘हामीले स्थानीय पालिका र महिला जनप्रतिनिधिलाई आवश्यकताका आधारमा सघाइरहेका छौँ । महिला जनप्रतिनिधिको क्षमता विकाससँगै योजना छनोट र कार्यान्वयनबारे सचेत गराउने काम भएको छ ।” उनले भने, ‘‘टीकापुर मात्र नभइ आसपासका पालिकामा समेत काम गरिरहेका छौँ । अहिले महिलाहरु सचेत भएका छन् ।’’
कार्यक्रम महिला बालबालिका शाखा प्रमुख संगीता शाहले सञ्चालन गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *