शेयेर गर्नुहोस
टीकापुर २० मंसिर /
नेकपा माओवादी केन्द्रले टीकापुर नगरपालिका अन्तर्गतका नौवटै वडाको वडा सम्मेलन सम्पन्न गरेको छ ।
पछिल्लो एक सातादेखि माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश स्तरका नेताहरूको समन्वयमा सबै वडाको वडा सम्मेलन सम्पन्न भएको हो । पार्टीका नगर इन्चार्ज दयाराम संज्यालले दिएको जानकारी अनुसार सबै वडाको वडा सम्मेलन उत्साहपुर्ण तरिकाले सम्पन्न भएका छन् । जसअनुसार माओवादी केन्द्रले वडा नं. १ मा अंगानु चौधरीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी चयन भएको छ ।
वडा नं. २ मा माओवादी केन्द्रका केवलसिंह जनालाई जिम्मेवारी दिइएको छ । वडा नं. २ मा १५ सदस्यीय कमिटी बनेको नगर इन्चार्ज संज्यालले जानकारी दिएका छन् । उनकाअनुसार वडा नं. ३ मा लबरी चौधरीको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी बनेको छ । वडा नं. ४ मा भने राजाराम चौधरीको अध्यक्षतामा सात सदस्यीय कमिटी बनेको छ । पार्टीले नगरपालिकाको वडा नं. ५ मा भावन सिंह थारुलाई अध्यक्षको जिम्मेवारी दिएको छ भने त्यहाँ ९ सदस्यीय वडा कमिटी बनेको छ ।
वडा नं. ६ को पनि वडा सम्मेलन सम्पन्न भएको माओवादी केन्द्र टीकापुर नगर इन्चार्ज संज्यालले जनाएका छन् । उनले दिएको जानकारी अनुसार वडा नं.६ मा रामचन्द्र चौधरीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी बनेको छ । वडा नं. ७ मा भने राजकिशोर चौधरीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । नगरपालिकाको वडा नं. ८ मा जितराम चौधरीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन हुँदा वडा नं. ९ मा भने मंगल चौधरीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी बनेको बताइएको छ ।
इन्चार्ज संज्यालले पार्टीका भातृ संगठनको सम्मेलन सम्पन्न गरेर पार्टीको वडा तहबाट नयाँ कार्यसमिति चयनको काम सुरु गरिएको बताएका छन् । “हामीले पार्टी भित्रका विभिन्न मोर्चाहरुको सम्मेलन सम्पन्न गरेर अहिले वडाको पनि सम्पन्न गरिसकेका छौँ ।” उनले भने, “अब वडाबाट छनोट भएर आएका पार्टी प्रतिनिधिका बीचमा नगर सम्मेलन सम्पन्न गर्ने तयारीमा लागेका छौँ ।” उनका अनुसार पछिल्लो समय गाउँ तथा शहरमा पार्टी प्रती जनताको विश्वास बढ्दै गएको छ ।