शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १९ मंसिर /
कैलालीको जानकी गाउँपालिका वडा नं. ५ अमौराका रामप्रसाद चौधरी विगत १६ वर्षदेखि टीकापुरमा झोला उद्योग सञ्चालन गर्दै आउनुभएको छ । सामाजिक तथा राजनीतिक क्षेत्रसँगसँगै व्यावसायिक रुपमा सफलता हासिल गर्नुभएका रामप्रसाद एउटा उदाहरणीय व्यापारी हुनुहुन्छ । उहाँले सञ्चालन गरेको झोला उद्योग यतिबेला निकै चर्चित छ । रतगैया झोला उद्योगको नामबाट सञ्चालन गरेको रामप्रसादको झोला उद्योगले बजारको मागलाई थेग्न सकेको छैन ।
सामाजिक क्षेत्रमा काम गर्दै जाँदा गाउँका कमैया परिवारका पाँचजना युवाहरूलाई झोला बनाउने तालिममा सहभागी गराउनु भएका रामप्रसादलाई तालिममा सहभागी भएकाहरूले नै सफल व्यवसायी बनाएका छन् । तालिम सिकेर फर्केका युवाहरूलाई गाउँको समुहबाट ऋण सहयोग गरेर व्यवसायी भएका युवा सफल नभएपछि उहाँले एक लाख २५ हजार सुरु गरेर टीकापुरमा झोला उद्योग सञ्चालन गर्नुभयो ।
“कमैया परिवारका पाँचजना युवाले सीप सिकेर व्यवसाय सुरु गरे पनि सफल भएनन् । मैले त्यसमध्येका एकजनाबाट दुई महिना सिके ।” उहाँ भन्नुहुन्छ, “संघर्ष गर्दै जाँदा अहिले व्यापारबाट निकै सन्तुष्टि मिल्दै गएको छ । दुईवटा पुरानो मेसिनबाट सुरु भएको झोला उद्योगमा अहिले रामप्रसादको उद्योगमा ३० लाख भन्दा बढी लगानी भैसकेको छ । सातजनाले प्रत्यक्ष रोजगार पाएका छन् । एउटा कर्मचारीले मात्रै मासिक ४५ हजारसम्म पारिश्रमिक पाउने गरेका छन् ।
सुरुवाती दिनमा ग्राहकलाई विश्वासमा लिएर व्यापार गर्नु उहाँका लागि निकै चुनौती थियो । त्यो चुनौतीसँग सफलताको सपना देख्नुभएका रामप्रसादले सुरुवाती समयमा झोलाको व्यापार गर्न साइकलमै कैलालीका विभिन्न बजार हुँदै बर्दिया जिल्लासम्म पुगेको बताउनुभयो । उद्योगले लय समात्न थालेको बेला कोरोना संक्रमणले झन संकट थप्यो । प्रयास नै सफलताको प्रमुख आधार हो भन्ने बुझ्नुभएका उहाँलाई अहिले उद्योगले राम्रो साथ दिएको छ । उहाँले उत्पादन गरेको झोलाको व्यापार कैलालीका विभिन्न बजारसँगै बर्दिया जिल्लासम्म छ । उद्योगमा दैनिक एक सय ५० भन्दा बढी झोला उत्पादन हुन्छन् ।
झोला उद्योगलाई घरको आर्थिक स्रोतको प्रमुख आधार बनाउनुभएका रामप्रसादले छोराछोरीलाई राम्रो शिक्षा दिन सफल हुनुभयो । छोराछोरी पनि जागिरमा हुनुहुन्छ । “उद्योगबाट धेरै गर्न केही नसके पनि छोराछोरीलाई राम्रो शिक्षा दिन सक, त्यसलाई सफलता मानेको छु ।” उहाँ भन्नुहुन्छ, “आज छोराछोरी आफ्नो खुट्टामा उभिने भएका छन् । सबैले आफ्नो गरेर खाने वातावरण घरमा छ । कसैले कसैको मुख ताक्नुपर्ने स्थिति छैन ।”
२०५३ सालमै नेकपा एमालेमा आबद्ध रामप्रसाद कृषि मजदुर संघको केन्द्रिय उपाध्यक्षसम्म हुनुभयो । अहिले पनि उहाँ राजनीतिमा आबद्ध नै हुनुहुन्छ । उहाँलाई एकीकृत ट्रेड युनियन महासंघको राष्ट्रिय परिषद सदस्यको जिम्मेवारी छ । सामाजिक तथा राजनीतिक क्षेत्रलाई व्यवसाय पछिको पाटो बनाउनु भएका उहाँलाई कैयौंपटक चुनाव लड्न प्रस्ताव पनि आएको थियो । “चुनाव लड्नका लागि पार्टीबाट प्रस्ताव आएको थियो । मैले त्यो प्रस्ताव स्विकार गर्न सकेन ।” उहाँ भन्नुहुन्छ, “अझै म आर्थिक रुपमा सबल बन्न सकेको छैन । जुन दिन आर्थिक रुपमा सबल हुन्छु त्यसै दिन चुनाव लड्छु ।”
उहाँले राजनीतिलाई नै प्रमुख पेशा बनाएका कारण नेतृत्व प्रति नागरिकहरूमा वितृष्णा बड्दै गएको बताउनुभएको छ । राजनीतिलाई समाजसेवाको रुपमा नभई आर्थिक उपार्जन गर्ने पेशाको रुपमा लिँदा समस्या आएको रामप्रसाद बताउनुहुँन्छ । “मैले काम गर्नुपर्छ । समुदायका दुईचार जनालाई रोजगार दिनसक्ने र आफ्नो आवश्यकता कुनै व्यवसायबाट पूरा गर्दै राजनीतिमा लाग्नुपर्छ भन्ने भावनाको विकास हुन आवश्यक छ ।” उहाँले भन्नुभयो, “होइन भने राजनीति गरेर मात्रै न देश समृद्ध बन्छ न देशको नागरिकहरू सक्षम बन्न सक्छन् । उत्पादनसँग सबै जोडिनुपर्छ ।”










