शेयेर गर्नुहोस
समाधान समाचार, धनगढी ३० भदौ/
मानव अधिकारमैत्री पत्रकारिता विषयक तीन दिने तालिम धनगढीमा सुरु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको समन्वयमा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले कुनै पनि घटनालाई अग्रपंक्तिमा राखेर जानकारी दिने भनेकै पत्रकार रहेको बताएकी छन् । तालिमको उद्घाटन गर्दै मन्त्री जोशीले परिवर्तनका लागि पत्रकार र राष्ट्रिय मानव अधिकार आयोगको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै पत्रकारले सुचना मात्रै नदिने र वकालत पनि गर्ने गरेको बताएकी छन् ।
“पत्रकारले सुचना मात्रै दिदैन । पत्रकारले वकालत पनि गर्छ ।” मन्त्री जोशीले भनिन्, “कलम र शब्दमा सबैभन्दा ठूलो शक्ति छ, त्यो शक्तिले समाजलाई सकारात्मक गतिमा अगाडि बढाउनतर्फ लैजानुपर्छ ।” राजनीतिक रुपान्तरणका पक्षमा पनि मानव अधिकार आयोग र पत्रकारको भुमिका सबैभन्दा अगाडि रहेको बताउँदै मन्त्री जोशीले पत्रकारहरुले सस्तो लोकप्रियताको पक्षमा कलम नचलाउन आग्रह समेत गरेकी छन् । “अहिले पत्रकारले कसरी आफ्नो पत्रकारिता गरिरहेको छ , त्यो उसले चलाउने सामाजिक संजालको गतिविधिले पुष्टि गर्छ ।” मन्त्री जोशीले भनिन्, “कतै न कतै साझा आचारसंहिताको कुरामा पत्रकार चुकेको देखिन्छ । पत्रकार दलियरुपमा पनि विभाजित भएको पनि देखिन्छ । पत्रकार बिभाजित हुनु दु:खद हो भने राजनीतिक बिभाजन सामान्य मान्न सकिन्छ ।”
राष्ट्रिय मानव अधिकार आयोगकी राष्ट्रिय सदस्य लिली थापको अध्यक्षतामा भएको उक्त तालिमको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले पत्रकारितालाई मानव अधिकारमैत्री पत्रकारिताको लागि तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । उनले तालिमलाई उपलब्धिको रुपमा लिएर सहभागीहरुले फाइदा लिन आग्रह गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रबक्ता टीकाराम पोख्रेलले कार्यक्रमको उद्देश्यमाथी जानकारी दिदै पत्रकारितामा मानव अधिकारका विषयलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित हुने बताएका छन् । तालिममा नेपाल पत्रकार महासंघकी केन्द्रिय सल्लाहकार निर्मला शर्मा, सुदुरपश्चिम प्रदेश सचीव हरि जोशी लगाएतको उपस्थिति रहेको थियो । सुदुरपश्चिम प्रदेशका आठ जिल्लाका पत्रकारहरुको तालिममा सहभागिता रहेको छ । तालीम असोज १ गतेसम्म सञ्चालन हुनेछ ।