मानव मलमुत्र प्रशोधन केन्द्र सञ्चालनमा ढिलाइ

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १३ भदौ /
दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको मानव मलमुत्र प्रशोधन केन्द्र सञ्चालनमा ढिलाइ भएको छ । कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित वृहत् ढल निकास आयोजनासँगै निर्माण सुरु भएको मानव मलमुत्र प्रशोधन केन्द्रको काम २०८९ मा सम्पन्न हुँदा पनि अझै सञ्चालनको अन्योलता कायमै रहेको देखिएको छ ।
शौचालयको शौचलाई संकलन गर्दै प्रशोधन गरेर त्यसबाट कम्पोस्ट मल उत्पादन गर्ने उद्देश्यले निर्माण गरिएको प्रशोधन केन्द्र सञ्चालनमा आएपछि राम्रो हुने विश्वास स्थानीयको थियो । “शौचालय सफा गर्नुपर्दा नगरपालिकालाई नभए निजि कम्पनीलाई हप्तौं कुर्नुपर्ने बाध्यता छ । प्रशोधन केन्द्र सञ्चालनमा आए त्यो बाध्यता कम हुन सक्थ्यो ।” स्थानीय सुदर्शन चौधरी भन्नुहुन्छ, “अर्कोतिर मानव मलमुत्र प्रशोधन गरेर बनेको मलका लागि किसान पनि केन्द्र छिटो सञ्चालनमा आउनुपर्ने पक्षमा छन् ।” उहाँले समयमा राम्रो व्यवस्थापन नभएर काम सुरु गरेको खण्डमा प्रशोधन केन्द्र अलपत्र पर्न सक्ने चिन्ता पनि व्यक्त गर्नुभएको छ । मानव मलमुत्र प्रशोधन केन्द्रलाई व्यवस्थित गरेर सञ्चालन गर्न सके त्यो नगरपालिकाको आम्दानीको स्रोत बन्न सक्ने स्थिति देखिन्छ ।
निर्माण कम्पनीले नगरपालिकालाई स्वामित्व हस्तान्तरणका लागि धेरै प्रयास गरे पनि टीकापुर नगरपालिका व्यावसायिक योजना कम्पनीले सुनिश्चित नगर्दा सम्म स्वामित्वमा लिने पक्षमा छैन । “एउटा संरचना बन्यो, त्यो आफैमा सुन्दर छ । तर त्यसको कार्यान्वयनका लागि ठोस योजना त निर्माण कम्पनीले दिनुपर्यो ।” नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले भन्नुभयो, “निर्माण कम्पनीले बिजनेस प्लान सहित हस्तान्तरण गर्ने हो भने स्वामित्व लिन समस्या छैन ।” नगर प्रमुख थारुले नगरपालिकाको मातहतमा नआएका कारण केन्द्रको बारेमा चासो नदिएको प्रतिक्रिया दिनुभएको छ ।
प्रशोधन केन्द्र सञ्चालनमा आए टीकापुर नगरपालिका सहित छिमेकी पालिकाले पनि सेवा लिन पाउने छन् । किनभने क्षमताको आधारमा प्रशोधन केन्द्रलाई सञ्चालन गर्दा टीकापुर क्षेत्रमा मात्रै उत्पादन भएको मावन मलमुत्रले सम्भव छैन । अहिले टीकापुर आसपासमा शौचालयको सेफ्टी ट्याङ्की खाली गर्ने साधन र जनशक्ति पाउन मुस्किल हुन्छ । “सेफ्टी ट्याङ्की सफा गर्ने साधनका लागि पालो कुर्नुपर्छ । मानिसलाई लगाएर खाली गराउँदा व्यवस्थापन गर्ने ठाउँ हुँदैन ।” जमानसिंह विश्वकर्मा भन्नुहुन्छ, “जनशक्ति व्यवस्थापन गरेर प्रशोधन केन्द्रलाई सञ्चालनमा ल्याउन सक्यो भने त्यसले सेफ्टी ट्याङ्की सफा मात्रै नभई यस क्षेत्रका किसानलाई कम्पोस्ट मलको व्यवस्था गर्ने काम पनि गर्न सक्छ ।”
मानव मलमुत्रलाई प्रशोधन गरेर लेदोबाट मल उत्पादन गर्ने र फोहोर पानीलाई प्रशोधन गरेर जमरा कुलोमा मिलाउने व्यवस्था गरिएको छ । उत्पादन भएको मल पनि मापदण्ड बन्न नसक्दा अहिलेसम्म बिक्री गर्न सकिएको छैन । प्रशोधन केन्द्रको निर्माण गर्ने जिम्मा पाएको तुन्दी कन्स्ट्रक्सनले स्थानीय सरकारलाई हस्तान्तरण समेत गरेको छैन । परामर्शदाताले प्रशोधन केन्द्रको बिजनेस प्लान बनाउन ढिलाई गर्दा स्वामित्व हस्तान्तरणमा ढिलाई भएको निर्माण कम्पनीका साइड इन्चार्ज उदय पोख्रेलले बताउनुभयो ।
“काम सम्पन्न भएको दुई वर्ष भए पनि केही आन्तरिक कामहरु बाँकी रहँदा स्वामित्व हस्तान्तरण गरेर सञ्चालन गर्न समय लागेको हो ।” उहाँले भन्नुभयो, “कम्पनीले अहिले पनि आएको मलमुत्रको प्रशोधन गर्ने काम गरिरहेको छ । अब केही दिनमै नगरपालिकालाई हस्तान्तरण गरेर हामी त्यहाँबाट बाहिर निस्कन्छौं ।”
करिब सात करोड खर्च गरेर मानव मलमुत्र प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।सञ्चालनमा नआउँदै जीर्ण बन्ने शंका उत्पन्न भएको छ । मानव मलमुत्र प्रशोधन केन्द्रसँगै बृहत् ढल निकासको काम पनि निर्माण कम्पनीले सम्पन्न गरिसकेको छ । टीकापुरको बजार क्षेत्र लगायत आकाशे पानीका कारण बर्सेनि डुवानको जोखिम हुने २८ किलोमिटर ढल निकासको काम सकिएपछि अहिले डुवानको जोखिम हटेको छ । ढल निकास सहित मानव मलमुत्र प्रशोधन केन्द्रको काम तुन्दीले भ्याट सहित ६० करोडमा पाएको थियो ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *