मुख्यमन्त्रीका एक सय दिन

शेयेर गर्नुहोस


टीकापुर ०६ जेठ /
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको कार्यकालको एक सय दिन पूरा भएको छ ।
गत माघ २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहको शुक्रबार पदभार ग्रहण गरेको सय दिन पुगेको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले सरकारका एक सय दिनका उपलब्धी सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले राजनीतिक सहमति र स्थायित्वका लागि वर्तमान सरकारले काम गरिरहेको बताएका छन् ।
भौतिक पूर्वाधार विकासमा बढोत्तरी, वार्षिक विकास कार्यक्रम पहिचान छनोट र प्राथमिकीकरणमा अनुशासित र जवाफदेही प्रणाली स्थापनाको सुरुवात र वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्य संस्कृतिको बिजारोपण भएको उल्लेख सार्वजनिक गरिएको विवरण मार्फत मुख्यमन्त्री शाहले भनेका छन् ।
सरकारले धार्मिक र प्राकृतिक पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधार निर्माण, विपद् जोखिम न्यूनिकरणमा सहकार्य र शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि पहल थालिएको मुख्यमन्त्री शाहको भनाइ छ । उनले ११ बुदामा एक सय दिनमा भएका उपलब्धिलाई सार्वजनिक गरेका छन् ।
जसअनुसार १. पूर्वाधारतर्फ २२ किलोमिटर पक्की र ७५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । २. खानेपानीका ३६ वटा आयोजनाबाट ४ हजार ५ शय ३८ जना लभान्वित भएका छन् । ३. तीनवटा वटा सडक पुल र १ झोलुङ्गे पुलको काम सम्पन्न भएको छ । ४. एक हजार दुई सय २६ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । ५. प्रदेशभर ४५ हजार बिरुवा रोपिएको जनाएको छ । ६. एक सय ५० लाख किलोग्राम खोटो र ५ लाख किलोग्राम जडिबुटी संकलन भएको छ । ७. प्रदेश सरकारले सदाचार नीति र भ्रष्टाचार नियन्त्रण कार्ययोजना तर्जुमा गरेको छ । ८. मागमा आधारित अनुशासित बजेट तर्जुमा प्रक्रियाको सुरुवात गरेको छ । ९. संघ र स्थानीय तहसँग समन्वय एवं विकास साझेदारसँग परामर्श गरेको छ । १०. प्रदेशको धार्मिक, साँस्कृतिक तथा आद्यात्मिक पक्षको उजागर गर्न मानसखण्ड सम्मेलन सम्पन्न गरेको, खप्तड, रामारोशन पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि विशेष पहल गरेको छ । ११. ३ लाख ५० हजार पशुपन्छीलाई खोप, आलु, किबी र चैते धान खेती विस्तार भएको छ ।
उता, नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले एक सय दिन घुमघाममै बिताएको टिप्पणी गरेका छन् । पूर्व मुख्यमन्त्रीसमेत रहेका रावलले घुमघाममै दिन बिताएको भन्दै जनपक्षीय काम नभएको गुनासो गरेका हुन । “मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले यो काम गरे, त्यो काम गरे भन्दैमा कसले पत्याउँछ ?’ रावलले भने, ‘यो सरकारका मुख्यमन्त्री र मन्त्रीहरु घुमघाममै ठीक्क छन् ।’ रावलले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजन बाहेक तीन महिनासम्म प्रदेशसभालाई कुनै विजनेश नै दिन नसकेको बताए ।
मन्त्रिपरिषद्लाई पूूर्णता दिन नसक्नु प्रदेश सरकारको पहिलो असफलता भएको बताउदै उनले सरकारका एक सय दिन उत्साहविहीन र निराशावादी रहेको उल्लेख गरेका छन् । आफूहरुकै दबाबमा बजेट निर्माणका सम्बन्धमा स्थानीय तहबाट योजना छनौटको प्रक्रियाको थालनी गर्नु राम्रो पक्ष भएको उनको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *