शेयेर गर्नुहोस
टीकापुर १७ असार/
सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जित बहादुर चौधरीले नदी नियन्त्रणको काम गर्ने ठेकेदारसँग कमिसनको रकम लिएको आरोप षड्यन्त्रमुलक रुपमा रचिएको घटना भएको बताएका छन् ।
सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग जोडिएको कर्णाली नदी नियन्त्रणका लागि जिम्मा पाएको निर्माण कम्पनीसँग आफ्नो होटलको हिसाबकिताब र नगद दिएको हिसाब बापतको केही रकम लिएको बताउँदै उनले कमिसन भनेर कुनै पैसा नलिएको दाबी गरे । “मैले आफ्नो होटलामा खाएको अनि म बाट नगद लिएको पैसाको हिसाब बापतको केही रकम ३६ हजार लिएको हो ।” उनले भने, “यसलाई नियोजित रुपमा षड्यन्त्रका साथ चरिएको छ । यदि मैले कमिसन भनेर मागेको भए त्यसको कुनै प्रमाण भेटिए म कानुन अनुसारको सजाय भोग्न तयार छु ।”
राजनीतिक प्रतिशोधका आधारमा आफ्नो चरीत्र हत्या गर्ने गरी षड्यन्त्र गरिएको उनको भनाई छ । वनका अध्यक्ष चौधरीका अनुसार नदी नियन्त्रणको जिम्मा पाएको मनिष फादर निर्माण सेवाका सञ्चालक ज्ञानेन्द्र बहादुर शाहले होटलमा विभिन्न मितिमा खाएको १९ दुई सय ५ रुपैयाँ नतिरेको पाइएको छ । साथै शाहले चौधरीसँग १० हजार पहिलोपटक, २० हजार दोस्रोपटक, पाँच हजार तेस्रोपटक र दुई हजार चौथोपटक गरी ३७ हजार नगद सहित ५६ हजार दुई सय पाँच रुपैयाँ तिर्नुपर्नेमा ३६ हजार बुझाएको र अझै २० हजार दुई सय पाँच रुपैयाँ तिर्न बाँकी रहेको सोमबार चौधरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।
वनका अध्यक्ष चौधरीले आयोजनाको काम गर्नका लागि उपसमिति निर्माण गरिएको बताउँदै ठेकेदार कम्पनीसँग वनको सम्बन्ध नै नरहेको बताए । “हामीले कामको जिम्मेवारी उपसमितिलाई दिएका हौं । उसले ठेकेदारलाई काम दियो । त्यसमा हाम्रो कुनै आपत्ति रहेन ।” उनले भने, “जब आर्थिक वर्ष सकिन थाल्यो । दिनमा एकदुई टिपर ढुङ्गा खसाउने काम भयो । त्यसपछि समितिले प्रश्न उठाएको थियो । त्यसैको प्रतिशोध साटेजस्तो छ ।” उनले काममा भैरहेको ढिलासुस्तीका कारण बिरोध गर्दा समस्या उत्पन्न भएको दाबी गरे ।
तीन सय टिपर ढुङ्गा खसाल्नु पर्ने जिम्मा पाएको निर्माण कम्पनीले ८३ टिपर ढुङ्गा मात्रै खसालेको पाइएको छ । जसअनुसार ८० लाखको आयोजनामा उपसमिति मार्फत तीन सय टिपर खसाल्नुपर्ने थियो । ८३ टिपर बापतको १८ लाख भुक्तानी भैसकेको बताइएको छ । बाँकी काम समयमा नहुँदा नदी कटानको जोखिम बढेको बताइएको छ ।
उता निर्माणको जिम्मा पाएको मनिष फादर निर्माण सेवाका सञ्चालक शाहीले भने वनका अध्यक्ष चौधरीसँग दुई हजार लिएको स्वीकार गरेका छन् । “मलाई अरु कति पैसा उहाँले दिनुभयो त्यो थाहा छैन । त्यो उहाँलाई नै थाहा होला ।” उनले भने, “मलाई दुई हजार रुपैयाँ दिनुभएको हो त्यसको रेकर्ड मसँग पनि छ, उहाँसँग पनि होला ।” बाँकी नगद दिएको रकम र होटलको खाएको भनिएको रकम बनावटी भएको दाबी गरे । “मैले होटलमा खाएको सबै पैसा तिरेर खाएको छु । त्यो मसँग रेकर्ड छ ।” उनले भने, “यदि उहाँले भनेकै जस्तो भए सीसी टिभी क्यामराबाट त्यो फुटेज निकाल्दा पनि हुन्छ । मेरो हिसाबकिताबमा दुई हजारको कारोबार भएको छ ।”
अध्यक्ष चौधरीले लिइएको भनिएको ३६ हजार रुपैयाँ धनगढी जान चाहिने भनेर मागेर लिएको शाहीले बताए । “चार लाख ९७ हजारको चेक उहाँ आफैले साट्नु भयो । त्यसबाट ३६ हजार आफ्ना लागी, ५० हजार र १४ हजार दुईजनालाई तिर्न पर्ने थियो, त्यो पनि उहाँले आफै काटेर बाँकी मलाई दिनुभएको हो ।” उनले ३६ हजार आफ्ना लागि भनेर लिएको बताए । उनले हालसम्म ८९ टिपर ढुङ्गा खसालिएको बताउँदै केही भुक्तानी लिन बाँकी रहेको बताए । शाहीले अहिले पनि बाँकी ढुंगाको स्टक राखिएको बताउँदै काम गर्ने वातावरण भए काम सुरु गर्न कुनै समस्या नभएको बताए ।