शेयेर गर्नुहोस
टीकापुर ०३ फागुन/
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञामेन्द्र बहादुर शाहीले युवाहरूले गाँजा मात्रै नखाने बताएका छन् ।
टीकापुरमा शनिबार पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शाहीले युवाले गाँजा मात्रै नखाई धर्म, संस्कार र संस्कृति रक्षाका लागि पनि काम गर्ने बताएका हुन । “यहाँ युवाले गाँजा मात्रै खाँदैनन । गित मात्रै गाउँदैनन ।” उनले भने, “युवाले देश निर्माणको बाटो तय गर्छन् । युवाले धर्म, संस्कृति र संस्कारको विकास पनि गर्छन् ।” शाहीले कैलाली क्षेत्र नं. १ ले जुझारु, कर्मठ, लगनशील, मिहिनेती, मिलन्सार सबैको प्रिय् पात्र निर्वाचनमा उठाएको बताउँदै लोकेन्द्र कुँवरलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।
उनले पहिले देश त्यसपछि मात्रै पार्टी बन्नुपर्ने उल्लेख गर्दै नेपालमा ठिक उल्टो पहिले पार्टी विकास हुने गरेको बताए । “यहाँ पहिले पार्टी बन्छन्, अनि देश बन्नुपर्छ भन्ने सोचाइ दल पार्टी भित्र हुन्छ ।” शाही भन्छन्, “त्यो गलत छ । पहिले देश बन्नुपर्छ । त्यसकारण हामीले जित्नुभनेको देशले जित्नु हो । अरुले जित्नु भनेको उनीहरूको पार्टीले जित्नु हो ।” शाहीले प्रदेश खारेजी सहित सनातन हिन्दु अधिराज्य आफुहरुको प्रमुख एजेण्डा रहेको उल्लेख गरे । उनले अहिलेकै अवस्थामा प्रदेश संरचनालाई देशको अर्थतन्त्रले धान्न नसक्ने भन्दै त्यसलाई खारेज गरिनुपर्ने बताए । “वैदेशिक ऋणको भरमा कति दिनसम्म प्रदेशलाई थेग्ने ?” उनले प्रश्न गर्दै भने,”हामीले सदन देखि सडकसम्म प्रदेश खारेजीको आवाज जबर्जस्त रुपमा उठाउँदै आएका छौँ ।”
कार्यक्रममा देशको परिवर्तन गरेर समृद्धि हासिल गर्न नसकिने बताउँदै भने, “प्रधानमन्त्री भएरै परिवर्तन हुने भए त सुदुरपश्चिमले पनि तीनजना प्रधानमन्त्री पाइसक्यो, खै परिवर्तन भएको ? बिना एजेण्डा, बिना योजनाको गन्तव्य खोज्नु एकदुई वर्षको रमाइलो जस्तो मात्रै हो । त्यसबाट कुनै निकास निस्कदैन ।” रास्वपालाई लक्षित गर्दै शाहीले बिना एजेण्डा नागरिकहरू माझ देश विकासको परिकल्पना गर्नुको औचित्य नहुन बताएका छन् ।
अहिले पनि देशको कुल जनसंख्याको ८१ प्रतिशत हिन्दु धर्ममा आस्थावान रहेको बताउँदै शाहीले देशलाई सनातन हिन्दु अधिराज्य बनाउन राप्रपा सशक्त रुपमा लागेको बताएका छन् । “अहिले मन्दिरमा को पुजारी, को उम्मेदवार छुट्याउन गाह्रो हुन थालेको छ । हिन्दु धर्म मान्दैन भन्नेहरू पनि मन्दिरका अगाडि लम्पसार परिरहेका छन् ।” उनले भने, “फेरि ८१ प्रतिशत हिन्दुको भोट लिएर संसदमा पुगेपछि तिनीहरु नै हिन्दुराज्य चाहिँदैन भन्छन् । तीनलाई हिन्दुको भोट चाहिन्छ, हिन्दु राज्य चाहिँदैन ।”










