रानी जमरा कुलरियाको राष्ट्रिय टोलिको अनुगमन

शेयेर गर्नुहोस


खम्म ठकुल्ला
टीकापुर १२ मंसिर /
राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वलीले आयोजनाहरुको काम ढिलाइ हुनुमा पूर्व तयारीको अभाव रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाइ आयोजनाको अनुगमनका क्रममा आयोजनाको काम सन्तोषजनक ढङ्गले अगाडि बढ्न नसकेको बताउँदै त्यसको मुख्य कारण पूर्व तयारीबिनै काम सुरु हुनु नै रहेको राष्ट्रिय योजना आयोगका सदस्य वलीले यस्तो बताएका हुन् । ‘योजना सञ्चालन गर्दा आउन सक्ने अप्ठ्याराहरुको पहिले नै पहिचान गरी समाधान गर्न नसक्दा योजनाहरुको काम द्रुत गतिमा अगाडि बढ्न नसकेको अनुगमनले देखाएको छ ।’ सदस्य वलीले भने, ‘यो अनुगमनले आगामी योजनाहरुको पूर्व तयारीका लागि पाठ समेत सिकाएको छ ।’
उनले राष्ट्रिय योजना आयोगको मातहतमा देशभर १ सय ७५ भन्दा बढी आयोजनाहरु सञ्चालनमा रहेको बताउँदै अधिकांश आयोजनाहरुको समस्या काम गर्दै जाँदा देखिएको बताएका छन् । वलीले महाकाली सिंचाइ आयोजना, रानी जमरा कुलरिया सिंचाइ आयोजना र भेरी बबई सिंचाइ आयोजना लगायतका क्षेत्रको अनुगमन गरी यही मंसिर १५ गते काठमाडौं फर्किने कार्यक्रम रहेको बताएका छन् ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव मधुसुधन अधिकारीले राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन गरी त्यसमा देखिएका समस्याहरुलाई केन्द्रीय तहमा छलफल गरी ती समस्या समाधानको बाटो खोज्ने उद्देश्यका साथ आयोजनाहरुको अनुगमन भएको बताएका छन् । ‘स्थलगत अध्ययनमा देखिएका समस्या र चुनौतीलाई हेर्दा आयोजनाको काम सन्तोषजनक देखिएको छ ।’ सचिव अधिकारीले भने, ‘बाँकी थुप्रै समस्याहरु छन् । ती समस्याहरुलाई समाधानका लागि क्याबिनेटमा पु¥याउने छौं र विकास आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने उद्देश्यका साथ हामीले संयुक्त अनुगमन थालेका हौं ।’
प्रधानमन्त्री विकास व्यवस्थापनविज्ञ गजेन्द्रप्रसाद थपलियाले प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रिय गौरवको आयोजनाहरुको संयुक्त अनुगमन सुरु गरिएको बताएका छन् । उनले माथिल्लो तहबाट मात्र हेरेर आयोजनाको वास्तविकता बुझ्न गाह्रो हुने भन्दै स्थलगत रुपमा आयोजनाहरुको अनुगमन गरी त्यसमा देखिएका चुनौतीलाई क्याबिनेटमार्फत् समाधानको बाटो खोजिने बताएका छन् ।
‘जे स्थलगत अनुगमनमा देखिएको छ, त्यसका लागि सम्बन्धित फाँटका पदाधिकारीसहितको टाली अनुगमनमा छौं ।’ विकासविज्ञ थपलियाले भने, ‘जुन फाँटमा समस्या देखिएको छ, त्यसलाई त्यसैअनुसार समाधान गर्नका लागि र विकास योजनालाई थप प्रभावकारी बनाउनका लागि अनुगमन महत्वपूर्ण हुनेछ ।’
रानी जमरा कुलरिया सिंचाइ आयोजना प्रमुख केदार श्रेष्ठले आयोजनाको करिब ४८ प्रतिशत सम्पन्न भइसकेको बताउँदै बैशाखभित्र मूल नहरको औपचारिक उद्घाटन गरिने बताएका छन् । उनले चालु आर्थिक वर्षको अन्तिमसम्म हाइड्रोपावरको समेत उद्घाटन गरिने बताउँदै वन र मुआब्जाका कारण आयोजनाको काममा ढिलाइ भएको बताएका छन् । ‘हामी योभन्दा पनि छिटो काम गर्न सक्थ्यौं ।’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘मुआब्जा र वनको रुख कटानले हामीलाई काममा बाधा पु¥याएको छ । अब यी समस्याहरु समाधान भइसकेका छन् । विकासले गति लिन्छ ।’

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *