रेशम चौधरी बैगुनी रहेछन् : प्रचण्ड

शेयेर गर्नुहोस


टीकापुर १७ वैशाख /
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई बैगुनीको संज्ञा दिएका छन् ।
पार्टीले सुरु गरेको जनतासँग माओवादी कार्यक्रम अन्तर्गत तराई मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा टीकापुर नगरपालिका वडा नं. ९ झुँगामा आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पार्टीका संरक्षक चौधरीलाई बैगुनी भनेका हुन । “म प्रधानमन्त्री हुँदा बढी जोखिम मोलेर रेशम जिलाई जेलमुक्त गरियो । उनलाई जेलमुक्त गर्न सहज थिएन ।” उनले भने, “उहाँ बैगुनी हुँदो रहेछ । बाहिर आएपछि केही जनताको पक्षमा राम्रो काम गर्नुहोला भन्ने थियो । उहाँले त लगाएको गुन नै बिर्सेर हामी माथी नै प्रहारको कोसिस गर्नुभयो ।”
थारु समुदायको उत्थानका लागि स्थापना भएको भनिएको पार्टी स्वार्थमै सकिन लागेको प्रचण्डले टिप्पणी गरे । “जुन विश्वासको वातावरण सिर्जना गरेर नागरिक उन्मुक्ति निर्माण भएको थियो, त्यो अनुसार जनताको पक्षमा काम गर्यो त ?” प्रचण्डले प्रश्न गर्दै भने, “त्यसबेला रेशम लगायतका राजबन्दी रिहाई मुख्य मुद्दा बनाएको पार्टीको अबको मुद्दा के हुन्छ ? होइन भने जनमतसँग मिसिएर बिलय हुने त होला ।” सभालाई सम्बोधनका क्रममा विपन्न वर्गको नेतृत्व हिजोदेखी माओवादीले नै गर्दै आएको बताउँदै प्रचण्डले अहिले पनि माओवादीको विकल्प कोहि नहुने जिकिर गरे ।
विगतमा पार्टीले ठूलो गल्ती गरेको बताउँदै उनले त्यहीँ गल्तिलाई सच्याउँदै जनताको भरोसा जित्नको लागि पार्टीले घरदैलो अभियान सुरु गरेको बताए । “हाम्रा कमजोरी छन्, तर हाम्रो तागत जनता हो ।” उनले भने, “त्यो तागतलाई एकताबद्ध गर्दै टुटफुट भएका माओवादी एकताको सुत्रमा बाधेर देशकै ठूलो पार्टी बन्ने गरी काम गरिरहेका छौँ ।” उनले कम्युनिस्ट क्रान्तिकारीहरुलाई पनि एक ठाउँमा ल्याइने प्रयास भैरहेको बताए ।
वर्तमान सरकार भ्रष्टाचारी र बिचौलियाको संरक्षणमा बनेको आरोप उनले लगाएका छन् । भ्रष्टाचार र सुशासनमा कठोर भएर काम गर्न थालेपछि आफुहरुलाई सरकारबाट बाहिर पठाइएको बताएका उनले सरकारबाट बाहिर आएर कुनै पछुतो नभएको बताए । भ्रष्टाचारीको संरक्षणमा मात्रै सरकार केन्द्रित भएको आरोप उनको छ ।
अध्यक्ष प्रचण्डले ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार सहितको व्यवस्था स्थापित भएको बताउँदै त्यसको विकल्पमा पहिलेको व्यवस्था हुन नसक्ने बताउनुभएको हो । “अहिलेको संविधानले जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउने ग्यारेन्टी गरेको छ । जुन कुरा विगतका संविधानका कुनै पानामा लेखिएको थिएन ।” उहाँले भन्नुभयो, “त्यसकारण यो व्यवस्थालाई मुर्तरुप दिन र संविधान कार्यान्वयन गर्दै जनताका मुलभुत आवश्यकता पूरा गर्ने कार्यमा सबै एकताबद्ध हुन सक्नुपर्छ ।” अध्यक्ष प्रचण्डले जुन व्यवस्थाकै लागि हजारौंले ज्यान गुमाउनुपरेको उल्लेख गर्नुभयो ।
तराई मधेस जागरण अभियानले लाखौं जनतासँग प्रत्यक्ष रुपमा जोडिन पाएको भन्दै पुर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले जनताको माझबाट सत्तामा गएपछि पुनः फर्किन विलम्ब भएको बताउनुभयो । “हामी सदनमा पुगेपछि जनतासँग जोडिइरहनुपर्ने थियो । त्यसमा पार्टी चुक्यो ।” उहाँ भन्नुहुन्छ, “विलम्ब भए पनि जनताको माझमा आउँदा देशको नेतृत्व माओवादी भन्दा अरुले गर्न सक्दैन भन्ने अनुभुती भएको छ । जुन चाहना अहिलेको जनताको पनि हो ।” उहाँले समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि नयाँ संकल्पका साथ जनताको माझमा आएको पनि बताउनुभयो ।
सोही अभियानका क्रममा टीकापुर नगरपालिका वडा नं. ८ मा जनताको घरमा बास बसेका उनले मंगलबार सहिद परिवारका आफन्तलाई भेट गरी सहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई पार्टीले उचित व्यवस्थापन गर्ने बताउँदै अहिले बनेको कानुनले सबै द्वन्द पिडितको घाउमा मलहम लगाउने विश्वास व्यक्त गरेका छन् । माओवादी केन्द्र टीकापुर नगर कमिटी अध्यक्ष धनसिंह साउँदको अध्यक्षतामा भएको सभामा स्वागत दिर्घबहादुर ठकुल्लाले गरेका थिए भने कार्यक्रम सञ्चालन बिमला बटाला थापाले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *