शेयेर गर्नुहोस
टीकापुर २३ असार /
टीकापुर नगरपालिका वडा नं. १ को आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सेवा प्रवाह, योजना र कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिकामा चालू आर्थिक वर्षमा सार्वजनिक सुनुवाइ गर्ने पहिलो वडा पनि बनेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रशासनिक सेवा प्रवाहमा वडा कार्यालयले उत्कृष्ट काम गर्दै आएको सहभागीले बताएका छन् । भौतिक पुर्वाधार, आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा जनताको भावनाअनुरूप काम काम गर्न नसकेको गुनासो सहभागीले गरे पनि प्रशासनिक सेवा प्रवाहमा कर्मचारीहरुको भन्दा वडा अध्यक्षको सहजीकरणको प्रशंसा गरे ।
सहभागी हिराचन्द्र बरालले वडा कार्यालयबाट हुने सेवा प्रवाहमा वडा अध्यक्षको सक्रियताले सेवाग्राही सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । उनले वडा सदस्यहरु पनि प्रविधिसँग नजिक भएर सेवाग्राहीको सहजीकरणमा लाग्नुपर्ने सुझाव दिएका छन् । अर्जुन बहादुर शाहीले वडाका नागरिकहरूले जनप्रतिनिधि पाएको अनुभुती हुने गरी जनताको काममा सहजीकरण हुँदै आएको बताएका छन् । शाहीले पुर्वाधारको क्षेत्रमा पनि विभेदको नीति नभई आवश्यकताको आधारमा काम गर्न वडालाई सुझाव दिएका छन् ।
तेजबहादुर ठकुल्लाले पुर्वाधारको क्षेत्रमा सडक निर्माण गर्नुभन्दा पहिले नालीको व्यवस्था गरेर मात्रै सडक निर्माणको काम अगाडि बढाउन सुझाव दिएका छन् । उनले नाली निर्माण नगरेर कालोपत्रे भएका सडक नै डुवानमा पर्ने र खनेर पानीको निकास गर्नुपर्ने स्थितिलाई वडाले बुझ्नुपर्ने धारणा राखेका छन् । स्थानीय प्रकाश शाहले वडाले विकासका काममा विभेद गर्दै आएको बताउँदै वडामा विनियोजन भएको बजेटको समानुपातिक वितरण हुनुपर्ने बताएका छन् । उनले कुनै क्षेत्रमा पटकपटक बजेट पर्दा कुनै क्षेत्रले एउटा सडक ग्राभेलका लागि पनि वर्षौ कुर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन् ।
त्यस्तै गणेश शाहीले आर्थिक विकास तर्फको बजेट बालुवामा पानी हालेजस्तो भैरहेको प्रतिक्रिया दिएका छन् । उनले आर्थिक विकास तर्फको बजेट व्यावसायिक रुपमा लगानी हुनेगरी कार्यान्वयन गर्न सुझाव दिएका छन् । उपलब्धि नदेखिने क्षेत्रमा लगानी गरेर खर्चको अनुपात बढाउनुको औचित्य नहुने उनको भनाई छ । सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ वडा सचिव चक्रबहादुर रावल, प्राविधिक गम्भीर साउँद र वडा अध्यक्ष मोहन विकले दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष विकले सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्न र सुझावलाई आत्मसात गर्दै नागरिकहरूको समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सिमित स्रोतसाधनले जनताका असीमित आवश्यकता पूरा गर्न कठिन हुने भन्दै एकपछि अर्को गरी समाधानको प्रयास गरिने बताए । “सार्वजनिक सुनुवाइ गर्नुको कारण पनि नागरिकहरूका सुझाव संकलन गर्ने भएका कमजोरीलाई सुधार्ने माध्यमको रुपमा लिएका छौँ ।” उनले भने, “आगामी दिनमा नागरिकहरुको सुझावलाई मध्यनजर गर्दै आवश्यकताको आधारमा काम गर्छौं ।”
वडा कार्यालयले चालू आर्थिक वर्षको असार २२ गतेसम्म दुई करोड एक लाख ४० हजार एक सय ६६ रुपैयाँ राजस्व संकलन गरेको छ । वडाले पुर्वाधार तर्फ ५१ प्रतिशत विकास खर्च गरेको छ । आर्थिक विकास तर्फ ९९ प्रतिशत, सामाजिक विकास क्षेत्र तर्फ ८२ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ ९९ प्रतिशत बजेट खर्च भएको बताइएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो टीकापुर एफएमले गरेको थियो ।