वर्षौंदेखि मोटरसाइकल लिलाम हुन सकेनन्

शेयेर गर्नुहोस


झलनाथ खनाल,टीकापुर १८ माघ /
कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ मा रहेको सत्ती भन्सार कार्यालयको परिसरको एक भाग बरामद गरिएका मोटरसाइकलले भरिएको छ ।
भन्सार कार्यालयले वर्षौंदेखि बरामद गरिएका मोटरसाइकलहरु लिलाम गर्न नसक्दा भन्सार कार्यालयको परिसर मोटरसाइकलले भरिएको हो । भन्सार कार्यालयमा अहिले करिब पाँच सयभन्दा बढी मोटरसाइकलहरु थन्किएका छन् । भन्सार कार्यालयले मुख्य भन्सार कार्यालय स्थापना भएदेखि नै नियम विपरीत सञ्चालनमा आएका मोटरसाइकलहरुको लिलाम प्रक्रियाबाट बिक्री गर्नुपर्ने भएपनि भन्सारले मोटरसाइकलको लिलाम प्रक्रिया सुरु गर्दौ आएको बताउँदै आएको छ, तर भन्सारले ती मोटरसाइकलहरु बिक्रीका लागि कुनै पहल गर्न नसकेको गुनासो पटकपटक आउने गरेको छ ।
भन्सार कार्यालयका प्रमुख विमल कुमार शाहले मोटरसाइकलको लिलाम प्रक्रिया धेरै लामो र झन्झटिलो रहेको बताउँदै त्यसको समाधानका लागि भन्सार कार्यालय गम्भीर रहेको बताउनुभएको छ । “हामीलाई पनि त्यो मोटरसाइकल लिलाम गर्न सकेको भए एउटा आनन्द हुनेथियो । त्यसको प्रक्रिया नै लामो हुने र प्रक्रिया पुर्याउँदै कोरोनाको संक्रमणका कारण फेरि शुन्यबाट प्रक्रिया सुरु गर्दा लामो समयसम्म मोटरसाइकलको लिलाम हुन नसकेको हो ।” भन्सार कार्यालयका प्रमुख शाहले भन्नुभयो, “अब चालू आर्थिक वर्षभित्रै मोटरसाइकलको लिलाम हुन्छ भन्नेमा हामी विश्वस्त छौं । त्यसैअनुसार काम भैरहेको छ ।”
उहाँले यातायात कार्यालयले मोटरसाइकलको मुल्यांकन गरेर मात्रै लिलाम प्रक्रियाहरु पूरा नहुने बताउँदै त्यसभित्र थुप्रै अन्य प्रक्रियाहरु पनि पूरा गर्नुपर्ने भएको कारण ढिलाई भएको बताउनुभयो । दुई वर्षदेखि कोरोना संक्रमणका कारण हुँदै आएको बन्दाबन्दीले पनि मोटरसाइकलको लिलाम प्रक्रियामा असर पारेको भन्सार प्रमुख शाह बताउनुहुँन्छ । “भन्सार आएको मोटरसाइकलको व्यवस्थापन हुनसकेको छैन । हामी चाहान्छौं, छिट्टै लिलाम होस् ।” शाहले भन्नुभयो, “आउने काम मात्रै भएको छ । जाने काम नहुँदा अब व्यवस्थापन गर्न हामिसंग ठाउँ पनि छैन ।”
भन्सार कार्यालयमा आउँदासम्म प्रयोगमै आएका मोटरसाइकलहरु भन्सार कार्यालय भित्र पुगेपछि त्यसका बाहिरी पार्टपुर्जा नै हराउने गरेका छन् । कतिपय मोटरसाइकल भारतबाट छोरी गरेर नेपालमा सस्तोमा बिक्रि गर्ने र ट्राफिक प्रहरीको फन्दामा परेपछि भन्सार कार्यालयमा जान्छन् । भन्सारका कर्मचारीहरुकै मिलेमतोमा मोटरसाइकलका आवश्यक पार्टपुर्जा गायब हुनेगरेको स्थानीय बताउँछन् । अहिले पनि भन्सारमा पार्किङ गरेर राखेका मोटरसाइकलहरु नचल्ने अवस्थामा छन् । अधिकांशका बाहिरी पार्टपुर्जाहरु छैनन् ।
तर, यो कुरालाई भन्सार कार्यालय सत्तीका प्रमुख शाह स्वीकार गर्नुभएन । उहाँले बाहिर राख्दा केही पार्टपुर्जाहरु खिया लागेर काम नलाग्ने भएपनि भन्सारको बदमासीमा मोटरसाइकलका पार्टपुर्जा निकाल्ने काम भएको भन्नू गलत भएको बताउनुभयो । “भन्सार बाहिर के हुन्छ त्यो हामीलाई थाहा छैन । कार्यालय परिसरमा क्यामरा जडान गरेका छौं । त्यहाँबाट त्यस्तो गलत भएको छैन ।” भन्सार प्रमुख शाहले भन्नुभयो, “खिया लागेर काम नलाग्ने भएका हुनसक्छन् । सामानहरुको भन्सारबाट सेटिङमा चोरी भएको भन्नू आफुहरु विरुद्ध रचिएको प्रपोकाण्डा मात्रै हो ।”
भन्सार कार्यालयमा थन्किएका मोटरसाइकल समयमै लिलाम हुनसकेको भए राज्यलाई लाखौंको राजस्व संकलन हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *