विद्युत बक्यौता साढे पाँच करोड नाघ्यो

शेयेर गर्नुहोस


टीकापुर १३ फागुन /
टीकापुर नगरपालिकाको विद्युत महसुल बक्यौता साढे पाँच करोड नाघेको छ ।
नगरपालिकाले रातीको समयमा उज्यालोको लागि जडान गरिएका सडक बत्ती बापतको विद्युत महशुल साढे पाँच करोड नाघेको हो । नगरपालिकालाई नेपाल विद्युत प्राधिकरण टीकापुर वितरण केन्द्रले पठाएको बिल अनुसार नगरपालिकाले माघ १६ गतेसम्म पाँच करोड ७१ लाख १५ हजार तीन सय २३ रुपैयाँ ६७ पैसा विद्युत महसुलको बक्यौता देखिएको छ । उक्त रकम २०६४ सालदेखि नगरपालिकालाई तिर्न बाँकी रहेको पाइएको छ ।
नगरपालिकासँग भएको तथ्यांकमा विद्युतको दुई लाख ४४ हजार एक सय ८३ रुपैयाँ मात्रै बक्यौता थियो । झन्डै १८ वर्षमा उक्त बक्यौता पाँच करोड ७१ लाख १५ हजार तीन सय २३ रुपैयाँ ६७ पैसा पुगेको लेखा अधिकृत देविकृष्ण जैशीले जानकारी दिएका छन् । प्राधिकरणले अहिले पनि त्यहीँ दुई लाख ४४ हजार एक सय ८३ रुपैयाँकै हाराहारीमा रहेर नगरपालिकालाई मासिक बिल भुक्तानीका लागि पत्राचार गर्ने गरेको छ ।
नगरपालिका भित्र सार्वजनिक स्थानमा हाल तीन हजार ७ सय ३७ भन्दा बढी लाइट जडान भएका छन् । त्यसमा मासिक ७० हजार पाँच सय ६४ वाट विद्युत खपत हुने गरेको नगरपालिकालाई टीकापुर वितरण केन्द्रले पठाएको रिपोर्टमा।उल्लेख छ । “यसमा यति नै खपत भयो भन्न सकिने स्थिति छैन । मिटर बक्स जडान नहुँदा खपत तथा चुहावट सबै नगरपालिकाको नाममा जोडिएर आउने गरेको छ ।” लेखा अधिकृत जैशीले भने, “हालसम्म उक्त रकम नगरपालिकाले तिरेको छैन । महसुल वापतको रकम नतिरेकै कारण बर्सेनि बक्यौता थपिँदै गएको हो ।”
नगरपालिकाले तिर्नुपर्ने बक्यौता रकम मध्ये एक करोड १३ लाख ४४ हजार ९ सय २६ रुपैयाँ जरिवाना बापतको रकम रहेको जैशीले बताएका छन् । त्यसमा बजार क्षेत्रमा जडान गरिएका स्ट्रेट लाइट र हाइमास्ट लाइटको महसुल समावेश गरिएको छैन । बजारको मुख्य सडकमा जोडिएका स्ट्रेट लाइटको मिटर बक्स राखिएको छ । हाइमास्ट लाइटको पनि मिटर हुँदा नगरपालिकाले विद्युत महसुल तिर्दै आएको जैशीले जानकारी दिए ।
उसो त नगरपालिकाले विद्युत महसुल बक्यौता किस्ताबन्दीमा तिर्ने भन्दै यसअघि टीकापुर वितरण केन्द्रसँग सहमति गरेको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीको पालामा भएको उक्त सहमति कार्यान्वयन भएको पाइएको छैन । विद्युत बक्यौता बढ्दै जाँदा सडक बत्ती जडानको माग पनि नगरपालिकामा निकै बढी छ । अहिले पनि कैयौं सडक बत्ती जडानका सिफारिस नगरपालिकामा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *