शैक्षिक सुधारको माग सहित मौन प्रदर्शन

शेयेर गर्नुहोस


टीकापुर १४ मंसिर /
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईको नेतृत्वमा मौन प्रर्दशन गरिएको छ ।
धनगढीको ट्राफिक चौराहमा बिहिवार सार्वजनिक शैक्षिक सुधारको १५ बुँदे मागसहितको ब्यानर टाँगेर सडकमा उभिएर बिद्यार्थी संगठनले मौन प्रर्दशन गरिएको हो ।चापागाईले नयाँ शिक्षा ऐन ल्याउँदा देशैभरका स्थानीय तहमा कानुन निर्माणमा जटिलता र अन्यौल सिर्जना गरेकाले उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदनका आधारमा तत्काल नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग अघि सारिएको बताएका छन् ।
गण्डकी प्रदेशको पोखराबाट सार्वजनिक शिक्षा सुधारका लागि प्रर्दशन थालिएकोमा सुदूरपश्चिम सहितका सबै प्रदेश राजधानीमा दुई दिन मौन प्रर्दशन गर्दै शिक्षा ऐन परिवर्तन गर्न सरकारलाई दबाब दिइने उनले बताएका छन् ।‘२०७२ सालमा नेपालमा संविधान जारी भयो । मौलिक अधिकार सम्बन्धी कानुन तीन वर्षभित्र बनाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ तर ९ वर्षसम्म शिक्षा ऐन बनेको छैन ।” उनले भने, ‘यसले ७५३ वटै स्थानीय तह, ७ वटै प्रदेश सरकार शिक्षा ऐन बनाउन सकिरहेका छैनन् । तत्काल उच्चस्तरीय शिक्षा आयोगको सिफारिसका आधारमा नयाँ ऐन ल्याउनुपर्छ ।’
चापागाईले माग सुनवाई नभए संघीय राजधानी काठमाडौँमा उभिएर अनिश्चितकालीन धर्ना दिने कार्यक्रम रहेको बताए । धर्ना कार्यक्रममा बिद्यार्थी संगठनमा आबद्ध बिद्यार्थी सहित पार्टीका नेता तथा कार्यकर्ताहरु एक्यवद्धता जनाउन पुगेका थिए । यसअघि पनि संगठनले देशैभरका स्थानीय तहलाई शैक्षिक गुणस्तर सुधारको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *