संघको २३ औं वार्षिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ११ भदौ /
टीकापुर बाणिज्य संघको २३ औं वार्षिक साधारणसभाको उद्घाटन सत्र शुक्रवार सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले टीकापुर सबै कुराले सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । उनले टीकापुर देशकै सम्भावना भएको क्षेत्र मध्ये एक भएको बताउँदै ती सम्भावनाहरुको समुचित प्रयोग गरि लाभ लिन आवश्यक रहेको बताएका छन् ।
“टीकापुर सम्भावना भएको क्षेत्र हो । यहाँ भएका सम्भावनालाई अझै पनि औल्याउन सकिएको छैन ।” अध्यक्ष ढकालले भने । उनले समाजका लागि टीकापुर उद्योग वाणिाज्य संघले खेलेको भुमुका पनि निकै महत्त्वपूर्ण रहेको बताउँदै सरकारले निजि क्षेत्रलाई अझै सम्हालन नसकेको बताएका छन् ।
“सरकारले निजि क्षेत्रलाई अझै सम्हाल्न सकेको छैन । निजि क्षेत्रसँग अपेक्षा धेरै गर्ने तर सहयोग र समन्वय नगर्ने काम सरकारले गर्दै आएको छ ।” अध्यक्ष ढकालले भने, “यसरी निजि क्षेत्र अगाडि बढ्न सक्दैन र व्यवसायी सफल हुन सक्ने अवस्था पनि देखिँदैन ।” नेतृत्वमा आउने ब्याक्तीले आश्वासन नभई व्यापारीको पक्षमा काम गर्ने क्षमता राख्न जरुरी भएको बताएका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठले देशैभरका व्यवसायीहरुको समस्या एउटै भएको बताउँदै व्यवसायीको छाता संगठन महासंघ पनि राजनीतिक आडमा लागेपछि व्यवसायीको पक्षमा बोल्ने कोहि नभएको बताएका छन् । उनले सरकारसँग समन्वय गरेर संघको नेतृत्वले जिम्मेवारी सम्हाल्न थालेको आरोप समेत लगाएका छन् । नेकपा एमालेका टीकापुर नगर अध्यक्ष ध्रुव खत्रीले टीकापुरमा विगतको अवस्था हेर्दा पछिल्लो समय टीकापुरमा व्यावसायिक गतिविधिमा गम्भीर भएर सोच्नुपर्ने समय आएको बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राज्यको अर्थतन्त्रसँग व्यवसायीको सम्भावना जोडिएकोले निजि क्षेत्रलाई महत्त्वका साथ हेर्नुपर्ने बताएका छन् । उनले टीकापुरको व्यवसायको विषयमा गम्भीर समिक्षा गर्न समेत आवश्यक रहेको बताउँदै अबको आवश्यकताको आधारमा कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष राजकुमार हमालले संस्थाको हित हुनसके मात्रै त्यसमा आबद्ध भएकाहरूको हित हुने बताउँदै संस्था प्रती सबै सकारात्मक हुन आग्रह गरेका छन् । उनले टीकापुरको व्यवसाय प्रती व्यवसायी भन्दा बढी चिन्तित उद्योग वाणिज्य संघ रहेको बताएका छन् ।
कार्यक्रममा टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट बहादुर सोडरीले टीकापुरमा बाह्य लगानी भित्र्याउन लाग्नुपर्ने बताउँदै त्यसका लागि उद्योग वाणिज्य सँगले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताएका छन् । बस्तुगत तर्फबाट तर्कराज बुढाले व्यापारीहरुको हितमा काम गर्न सक्ने क्षमता भएको नेतृत्व जन्मन नसकेको बताउँदै व्यापारीहरुको हितमा काम गर्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । संघका पुर्व महासचिव शिवदत्त उप्रेतीले संघ प्रती व्यापारीको वितृष्णा बढ्दै गएको बताउँदै संघले व्यापारीहरुको साझा समस्यालाई समाधानका लागि पुलको काम गर्नसक्ने नेतृत्व आवश्यक भएको बताएका छन् ।
महासचिव तपेन्द्र स्वाँरले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष चक्रपाणी सापकोटाले गरेका थिए । संघको नयाँ नेतृत्वको लागि यहीँ १८ गते निर्वाचनको मिति तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *