शेयेर गर्नुहोस
टीकापुर १८ फागुन /
टीकापुरका संजय तिमिल्सिनाको सपना गायक बन्ने थियो ।
कक्षा १० मै पहिलो पटक गीत लेखेका उनले सुरुमा गायक बन्ने सपना देखे पनि उनले आफ्नो यात्रालाई फरक ढंगबाट अगाडि बढाए । उनी गायक नभई अभिनेता बन्ने दौडमा लागे । गीत लेखेर ठूला गायकहरूसम्म पुर्याउने प्रयास गरेका उनले गायक मात्र भएर हुँदैन, निर्माता नभई गीत बन्दैन भन्ने कुरा बुझेपछि काठमाडौंमा प्रबिणता प्रमाणपत्र तह सकेर छोटो चलचित्रमार्फत आफ्नो कलात्मक यात्रा सुरु गरेको उनको अनुभव छ ।
टीकापुरकै एकजना साथी सौरभसँग मिलेर थुप्रै छोटा चलचित्रहरू बनाए र तिनलाई युट्युबमा राखेका उनले सिक्ने चाहना बढ्दै जाँदा नेपालका लिजेन्डरी रंगकर्मी सुनील पोखरेलसँग थिएटर वर्कशप लिएर औपचारिक रूपमा रंगमञ्चको यात्रा सुरु बताएका छन् । गुरुकुल थिएटरमा विभिन्न नाटकहरूमा आफ्नो सहभागिता रहने गरेको बताए । अहिले भने संजय थिएटर, फिल्म, मोडलिङ, कविता लेखन र छोटा चलचित्रमा सक्रिय छन् । उनी आफ्नो युट्युब च्यानल पनि सञ्चालन गरिरहेका छन्, जहाँ उनले आफ्नो सिर्जना र अभिनय यात्रा दर्शकहरूसँग बाँडिरहेका छन् ।
नाटक सीमित दर्शकमाझ मात्र सिमित हुन नचाहेर उनले ठूलो दर्शकसामु पुग्ने अभिलाषा राखेको बताए । फिल्ममा अवसर खोज्दै खुला अडिसनमार्फत छनोट हुँदै, विभिन्न चरण पार गरेर, आफ्नो मेहनत र प्रतिभाका भरमा उनले आफ्नो पहिलो चलचित्र “OutLaw Dafa 219” मा अभिनय गर्ने अवसर पाएका थिए । हालै सार्वजनिक भएको ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ। यो चलचित्र फागुन २९ गते बाट प्रदर्शनमा आउँदैछ।
उनले टीकापुरमा लागूऔषध अनि गुण्डागर्दी नभई टीकापुरबाट राम्रा कलाकार सँगै सम्भावना बोकेका व्यक्ति जन्मिएका छन् भन्ने उदाहरण मध्येलो एक आफू बन्न चाहेको बताएका छन् । उनले आफ्नो गुरुको “भुइँ नछोड्नु है केटा” भन्ने कुरा जहिल्यै सम्झने गर्छन्। त्यसैले, उनी टिकापुरलाई सफल र असल कलाकारहरूको थलोका रूपमा चिनाउने सपना देख्छन् ।
टीकापुरमा सिनेमा हल नभएकाले प्रचारप्रसार गर्न गाह्रो भएको उनले अनुभव गरेका छन् । “ठूला निर्माता र कलाकारहरू पनि हल नै नभएको कारण टीकापुरमा प्रमोशन गर्न जान चाहँदैनन् । आफ्नो फिल्मको टीकापुरमा गएर प्रचार गर्न मन थियो, तर हल नहुँदा त्यो सम्भव हुन सकेको छैन ।” उनले भने ।
उनले हेल्मेट नामक छोटो चलचित्रमा मुख्य भुमिका देखिने छन् । यो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका लागि तयार पारिदैछ । सुटिङ सकिएर पोस्ट-प्रोडक्सनको काम भइरहेको छ।










