सन्कट्टीमा पुल निर्माणको काम सुरु

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ३० वैशाख /
बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सिमा जोडिएको कर्णालीको सनकट्टीमा पक्की पुल निर्माणको काम सुरु भएको छ ।
पुल निर्माणका लागि सरकारले २०८९ पुसमा ठेक्का सम्झौता गरेको भएपनि वातावरणीय प्रभाव मुल्यांकनको काम समयमा सम्पन्न नहुँदा काम अगाडि बढ्न सकेको थिएन । अर्कोतिर बजेट अभाव र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण निर्माण कम्पनीले पुल निर्माणको काम अगाडि बढाउन सकेको थिएन । “वातावरणीय प्रभाव मुल्यांकनको रिपोर्ट समयमा आउन नसक्दा र काम गर्ने अनुमति नपाउँदा डेढ वर्ष ढिलो गरी पुलको काम सुरु भएको छ ।” पुल निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सका इन्चार्ज कृष्ण ढुङ्गेलले भन्नुभयो, “अब पुलको काममा कुनै अवरोध आएन भने निरन्तर हुन्छ ।”
उहाँका अनुसार बजेटको सुनिश्चितता अझै हुन नसक्दा समस्या आउनसक्ने देखिन्छ । चालू आर्थिक वर्षमा पुलका लागि अर्थ मन्त्रालयले एक करोड ६८ लाख मात्रै विनियोजन गरेको छ । जुन पुलको निर्माण सम्झौता एक अर्व चार करोड हो । “अहिले पनि ऋण लिएर काम गरिरहेका छौँ । विभागबाट पैसाको कारण काम नरोक्ने भनेपछि त्यसो गरेका हौं ।” ढुङ्गेल भन्नुहुन्छ, “सबै कुराले साथ दियो भने २०८३ भित्र पुल निर्माणको काम सम्पन्न गर्छौं ।” उसो त सम्झौता अनुसार पुलको काम २०८२ कार्तिक भित्र सम्पन्न गरिसक्नुपर्ने हो । त्यो समयमा काम सम्पन्न गर्न नसकिने निर्माण कम्पनी बताउँछ ।
सनकट्टीमा पुल निर्माणका लागि निकै प्रयास गर्नुपरेको भन्दै सुदुरपश्चिम प्रदेशका पुर्व आन्तरिक मामिला मन्त्री डा रणबहादुर रावलले पुल निर्माण भएपछि सुदुरपश्चिम र लुम्बिनी प्रदेशको दुरी नजिक हुने विश्वास व्यक्त गर्नुभएको छ । “सनकट्टी पुल चिसापानी कर्णाली पुल र हुलाकी राजमार्गको सत्ती कर्णाली पुलको विकल्प हो । पुर्व पश्चिम जोड्ने अर्को वैकल्पिक मार्ग सनकट्टी पुल बन्ने छ ।” उहाँ भन्नुहुन्छ, “यसलाई विलम्ब नगरी सरकारले प्रमुख प्राथमिकताका साथ समयमा सम्पन्न गर्ने वातावरण बनाउनुपर्छ भने निर्माण कम्पनी आफ्नो जिम्मेवारीलाई समयमा पूरा गर्न सक्नुपर्छ ।”
व्यापारिक हिसाबले पनि महत्त्वपूर्ण मानिएको पुल निर्माणपछि टीकापुरको व्यवसाय थप मजबुत हुने टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सन्तोष खड्काले बताउनुभयो । उहाँले वर्षौदेखि संघले पुल निर्माणका लागि पहल गरेको बताउनुभएको छ । “कैलालीको टीकापुरलाई व्यापारिक रुपमा स्थापित गर्न बर्दियाको गेरुवा गाउँपालिकासँग जोड्ने यो पुल निकै महत्त्वपूर्ण छ । यसले व्यापारिक रुपमा पनि टीकापुर र बर्दियाको सम्बन्धलाई मजबुत बनाउने छ ।” संघका उपाध्यक्ष खड्का भन्नुहुन्छ, “सनकट्टी जस्तै दौलतपुरमा पनि पुल निर्माण आवश्यक छ । त्यसका लागि संघले आवाज उठाइरहेको छ ।”
पुलको लम्बाइ ७ सय ५० मिटर रहने छ । अहिले दिनरात दुई सिफ्टमा निर्माण कम्पनीले काम गर्दै आएको छ । टीकापुर नगरपालिकाको वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीले पुल निर्माणको कामलाई सुचारु गर्न समय लागे पनि पुल निर्माण हुने सुनिश्चित भएको बताउनुभयो ।उहाँले केही प्राविधिक कुराले ठेक्का सम्झौता भैसकेको काम सुरु हुन अझै समय लाग्ने स्थितिमा काम सुरु हुनु सुखद भएको बताउनुभयो । “सम्झौता भएको एक वर्षभन्दा बढी समय हुँदा पनि काम अगाडि बढ्न सकेको थिएन । अब पुल निर्माणको काम सुचारु हुँदा पुलबाट सुरक्षीत यात्रा गर्न पाउने नागरिकहरुको सपना पुरा हुन्छ ।” वडा अध्यक्ष चौधरीले भन्नुभयो, “अबको दुई वर्षपछि कसैले जोखिमको यात्रा गरेर कर्णाली वारपार गर्नुपर्ने छैन । बर्दिया र टीकापुरको दुरी नजिक हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *