सरकार निर्मम भएर लागेको छ : शाह

शेयेर गर्नुहोस


टीकापुर ०८ फागुन /
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनतालाई सरकार भएको आभास गराउन निर्मम भएर लागेको बताएका छन् ।
पचहत्तरौँं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकार मूल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन । “जनतालाई सरकार छ भन्ने आभास गराउनका लागि निर्मम भएर प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।” उनले भने,”त्यसमा सरकारले प्रभावकारिता र सफलताको लागि सबैसँग आपसी समन्वय र सहकार्य गरेर अगाडि बढेको पनि छ ।”
भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको प्रदेश सरकार गलत काममा कसैसँग सम्झौता नगर्ने बताए । “हामीसँग धेरै चुनौतीहरु छन् भने ती चुनौतीका अगाडि जनताका असीमित अपेक्षा ।” मुख्यमन्त्री शाहले भने, “ती चुनौतीलाई चिर्दै जनताका अपेक्षालाई क्रमिक रुपमा पूरा गर्नका लागि सरकार प्रतिबद्ध छ, निर्मम छ ।” मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिलाई आफूले मूल लक्ष्य बनाएर तदारुकताका साथ काम गरिरहेको बताएका छन् ।
उनले प्रदेशको समग्र विकास नै प्रदेश सरकारको लक्ष्य भएको बताउँदै त्यसैलाई तदारुकताका साथ अगाडि बढाइएको बताए । ‘प्रदेशवासीका आवश्यकता चाहनालाई केन्द्रविन्दुमा राखेर प्रदेशको दिगो आर्थिक, सामाजिक तथा पूर्वाधार विकासतर्फ लक्ष्यित भई चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तय भएको छ ।” उनले भने, “संघबाट अधिकार प्रत्यायोजन नहुँदा प्रदेश सरकारले जनताका आवश्यकता सम्बोधन गर्न केही कठिनाइ भएको छ । तर पनि प्रदेश सरकार आफ्नो काममा तदारुकताका साथ लागेको छ ।”
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले समृद्धिका लागि तीनै तहका सरकारले जनता केन्द्रित भएर काम गर्नु पहिलो आवश्यकता भएको बताएका छन् । ‘संविधानको कार्यान्वयन, जनताका विकास निर्माणका चाहना पूरा गर्न समाजका हरेक वर्ग एकताबद्ध भएर लाग्नुपर्ने बेला आएको छ ।” उनले भने, “त्यो सँगसँगै तीन तहको सरकारले पनि नागरिकहरुका समान आवश्यकता पूरा गर्न समान धारणा बनाएर अगाडि बढ्नु पर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *