सरोकारवाला भन्छन् : संस्थामा बेथिति बढ्यो

शेयेर गर्नुहोस


टीकापुर २७ साउन /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालेमा बेथिति मौलाएको भन्दै सरोकारवालाले आवाज उठाएका छन् ।
शनिबार संस्थाको आठौं वार्षिक साधारण सभामा संस्थाले वितरण गर्दै आएको पानी धमिलो आउने लगायतको समस्यामा संस्था जिम्मेवार नदेखिएको भन्दै सरोकारवालाले आवाज उठाएका हुन । कार्यक्रममा संस्थाको पार्षदको रुपमा रहेका ताराप्रसाद अधिकारीले खानेपानी धमिलो आउने समस्यालाई संस्थाले समाधान गर्न नसकेको भन्दै त्यसमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
नेकपा एमालेका टीकापुर नगर इन्चार्ज प्रकाश खड्काले खानेपानी संस्था भित्र धेरै समस्या रहेको बताउँदै त्यसलाई हल गर्न संस्थाका पदाधिकारी जिम्मेवार हुनुपर्ने बताएका छन् । खानेपानी संस्था भित्रको बेथितिले सतह पार गरेको बताउँदै उपभोक्ताबाट संकलन भएको रकमको समितिका पदाधिकारीले चरम दुरुपयोग गरेको उनको तर्क छ । “संस्थाबाट पेश्कीको नाममा पैसा लिनेर भाग्ने प्रवृत्ति नेतृत्वमा रहेका पदाधिकारीहरुमा देखिएको छ । अझै लिएको पेश्की रकम प्रतिवेदनमा समेत नदेखिनु झन शंकाको विषय हो । यो रोकिनु पर्छ ।” उनले भने, “संस्था भित्रको बेथितिको बारेमा समयमै बोल्न सकिएन भने संस्था नै धरापमा पर्ने जोखिम छ ।”
माओवादी केन्द्रका टीकापुर नगर सदस्य धर्म विष्टले संस्थाले समयसमयमा पानीको गुणस्तर चेक गर्न आवश्यक रहेको बताएका छन् । उनले पिउन अयोग्य भएको समयमा वितरण भएको पानी उपभोक्तालाई नपिउन सुचना गर्न आवश्यक रहेको बताए । एकीकृत समाजवादी पार्टीका टीकापुर नगर अध्यक्ष रंगप्रसाद अधिकारीले संस्थाको विधान संशोधन गर्न आवश्यक रहेको बताउँदै कार्यसमितिका पदाधिकारीको नाममा पेश्की दिनु गलत हुने बताएका छ । अधिकारीले संस्थाको बैंक कारोबार कर्मचारीको हातबाट हुने व्यवस्था गर्नु उचित हुने बताए ।।
नागरिक उन्मुक्ति पार्टीका टीकापुर नगर अध्यक्ष जितबहादुर चौधरीले संस्थाले नगरपालिका र विद्युत कार्यालयसँग समन्वय गरेर मात्रै पाइप लाइन विस्तारको काम गर्न सक्यो भने बाहिरी रुपमा देखिने समस्या समाधान हुने बताएका छन् । कार्यक्रममा नेपाल समाजवादी पार्टीका कैलाली जिल्ला अध्यक्ष वीरेन्द्र साउँदले उपभोक्ता संख्या बढाउनको लागि संस्थाले धारा जडान शुल्क घटाउन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । उनले संस्थाका पदाधिकारीहरुले लिएको पेश्की रकमलाई लक्षित गर्दै संस्थाको पैसा व्याक्तीको नाममा पेश्कीको नाममा अपचलन गर्ने छुट कसैलाई नहुने बताए ।
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले संस्थाले नगरपालिकासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका छन् । संस्थाका निवर्तमान अध्यक्ष भैरव रावलले आफ्नो कार्यकालमा भएका जति पनि गल्ती कमजोरीहरुको जिम्मेवारी आफू लिन तयार रहेको बताए । उनले खानेपानी संस्था कुनै व्याक्तीको नभई समग्र टीकापुर क्षेत्रको एक महत्त्वपूर्ण सम्पत्ति भएको बताउँदै त्यसको संरक्षण र सम्बर्द्धनमा सबैको भुमिका आवश्यक रहेको बताएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ मा संस्थाबाट सचीव मनिष बलायरले ७ लाख ५० हजार पेश्की लिएको रकम बुझाउन बाँकी रहेको आर्थिक प्रतिवेदनले देखाएको छ । त्यसैगरी सदस्य नवराज ठकुल्लाले ८१ हजार ८५ रुपैयाँ लिएको देखिएको छ । संस्थाका सदस्य भानुभक्त जैशीका अनुसार बलायरले पाइप खरिद गर्ने संस्थाको निर्णय अनुसार गएको फागुनमा उक्त रकम लिएका थिए । “पाइप खरिदका लागि सचीवको नाममा भुक्तानी भएको थियो । पछि डिभिजन कार्यालयबाट अनुदानमा पाइप आएपछि पाइप खरिद गर्नु परेन ।” उनले भने, “पाइप खरिद गर्नु नपरेपछि लिएको पैसा फिर्ता गर्नुपर्ने हो । फिर्ता भएको छैन ।” त्यस्तै ठकुल्लाले कार्यालय परिसरमा निर्माण भैरहेको बगैंचा निर्माणका क्रममा लिएको पेश्की भएको बुझिएको छ ।
संस्थाकी कार्यवाहक अध्यक्ष सिर्जना शर्मा पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सांसद ललिता सुनार प्रमुख अतिथि रहेकी थिइन । कार्यक्रममा संविधान सभा सदस्य हरि ज्ञवाली र पुर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र रावल, निवर्तमान नगर उपप्रमुख केशरी विष्ट लगायत बोलेका थिए ।
कार्यसमिति सदस्य भानुभक्त जैशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव मनिष बलायरले गरेका थिए । संस्थाको आठौं वार्षिक साधारण सभाले संस्थामा रहेर उत्कृष्ट कर्मचारीको रुपमा गौरी पण्डितलाई सम्मान गरिएको छ । साथै संस्थाले शैक्षिक सत्र २०८० को एसईईमा टीकापुर क्षेत्रबाट उत्कृष्ट अंक ल्याउने वीरेन्द्र बिद्यामन्दिर माद्यामिक बिधालय टीकापुरका छात्र हेमन्त बहादुर साउँदलाई पनि सम्मान गरिएको छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *