शेयेर गर्नुहोस
टीकापुर १८ फागुन /
टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षको सात महिनाना वार्षिक लक्ष्यको ४३ प्रतिशत आन्तरिक राजस्व संकलन गरेको छ ।
नगरपालिकाले ७ करोड ५० लाख ७० हजार एक सय ६० रुपैयाँ आन्तरिक राजस्व प्राप्तिको लक्ष्य लिएकोमा चालू आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४३ दशमलव १३ प्रतिशत अर्थात तीन करोड २३ लाख ७८ हजार ९ सय ९५ रुपैयाँ ९७ पैसा राजस्व संकलन गरेको हो । हालसम्मको राजस्व प्राप्तिको आधारलाई हेर्दा यसवर्ष नगरपालिकाको राजस्व लक्ष्य अनुसार संकलन नहुने देखिएको छ । अबको पाँच महिनामा लक्ष्य प्राप्त गर्न चार करोड २६ लाख ९१ हजार एक सय ८४ रुपैयाँ तीन पैसा रकम संकलन गर्नुपर्ने हुन्छ ।
यो अवधीमा नगरपालिकाले सबैभन्दा बढी कर अन्य दस्तुर शिर्षकमा उठाएको छ । सो शिर्षकमा नगरपालिकाले ६ लाख ७२ हजार वार्षिक लक्ष्य रहेकोमा माघ मसान्तसम्म दुई सय ७८ दशमलव ५० प्रतिशत अर्थात १९ लाख ३२ हजार १५ रुपैयाँ ३५ पैसा राजस्व उठेको छ । सम्पत्ति करमा नगरपालिकाले तीन करोड २४ लाख लक्ष्य लिएकोमा एक करोड ५८ लाख ८५ हजार पाँच सय ९ रुपैयाँ २५ पैसा राजस्व उठाएको छ ।
बहाल करमा भने लक्ष्यको एक सय पाँच प्रतिशत राजस्व संकलन भएको छ । बहाल करबाट २९ लाख १२ हजार रुपैयाँको लक्ष्यमा ३० लाख ६५ हजार दुई सय ६३ रुपैयाँ ७३ पैसा राजस्व उठेको छ । सरकारी सम्पत्तिको बहालबाट नगरपालिकाले ७२ लाख ८०हजारमा माघसम्म १० लाख २३ हजार तीन सय ५२ रुपैयाँ संकलन गरेको छ । अन्य सेवा शुल्क तथा बिक्रीबाट नगरपालिकाले एक करोड ६४ लाख ६४ हजार लक्ष्य राखेकोमा ३५ लाख ९८ हजार मात्रै राजस्व संकलन गरेको छ । जुन शिर्षकमा टीकापुर पार्कबाट संकलन भएको राजस्व पनि दाखिला हुँदै आएको छ । नगरपालिकाले प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १४ हजार ८ सय ४२ रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा नगरपालिकाले ६ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा ८ करोड २४ लाख ९२ हजार पाँच सय ८३ रुपैयाँ १७ पैसा राजस्व संकलन गर्न सफल भएको थियो । नगरपालिकाको आन्तरिक स्रोतको मुख्य आधार नगरपालिकाको बाहिरी कम्पाउण्डमा रहेका सपिङ्ग कम्प्लेक्स हुन । जहाँ अझै नगरपालिकाले भाडा बापतको एक करोड भन्दा बढी रकम बक्यौता तिर्न बाँकी रहेको छ । नगरपालिकाले भाडामा सपिङ्ग कम्प्लेक्स बोलपत्र आव्हान गरेर लगाएको थियो । व्यापारीहरुले बोलपत्र पेस गर्दा बढी रकम कबुलियत गरेका कारण नगरपालिकालाई अहिले सो रकम उठाउन निकै समस्या हुँदै आएको छ ।
यसअघि कार्यपालिका हुँदै नगर सभाले सपिङ्ग कम्प्लेक्सको भाडा समायोजन गर्ने निर्णय गरेको भएपनि त्यसको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो । साथै महालेखा परिक्षणको कार्यालयले पनि उक्त भाडा रकम समायोजन गर्न नहुने भन्दै बेरुजु निकालेपछि नगरपालिकाले पुनः पुरानो व्यापारी आफैले सकारेको भाडा रकमलाई निरन्तरता दिने निर्णय गरेको थियो ।