शेयेर गर्नुहोस
टीकापुर ३० मंसिर /
टीकापुर नगरपालिका वडा नं. २ ले साहित्य मार्फत लागुऔषध दुर्व्यसनी तथा मनोसामाजिक रुपमा परेको असर न्यूनीकरणको प्रयास गरेको छ ।
“लागुऔषधका कारण परेको मनोसामाजिक असर” शीर्षकमा वडाले वडा स्तरीय कविता प्रतियोगिता आयोजना गर्दै न्यूनीकरणको प्रयास गरेको हो । शुक्रबार वडा नं. २ को आयोजना तथा सिर्जनशील युवा समाज नेपालको समन्वयमा भएको कविता प्रतियोगिता तथा नाटक प्रदर्शनीले समाजमा व्याप्त हुँदै गएको लागुऔषध दुर्व्यसनी न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताएका छन् ।
“नशालु पदार्थ सेवनमा कसैले करकाब गर्यो भने त्यसलाई नाई भन्न सक्नुपर्छ । त्यसले केही समयसम्म साथीहरु टाढा होलान् तर भोलि तपाई उसका अगाडि सहि हुनुहुने छ ।” प्रहरी नायब उपरीक्षक अधिकारी भन्छन्, “लहलहैमा लागेर बिग्रेको साथीसँग लाग्नुभयो भने एकदिन तपाई त्यो भन्दा पनि खतरनाक कहलाउनु हुनेछ ।” उनले अभिभावक र शिक्षक दुबै जिम्मेवार भएर बिद्यार्थीहरुको रेखदेखमा लाग्नुपर्ने बताए । “अभिभावकले शिक्षकलाई दोष दिने, शिक्षकले अभिभावकलाई ।” उनले भने, “यहाँ दुबैको गल्ती देखिन्छ । बालबालिकाको रेखदेख गर्ने र निगरानीमा राख्ने काम दुबै क्षेत्रबाट हुनुपर्छ ।”
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीले समाजमा विकराल बन्दै गएको कुरीतिलाई अन्त्य गर्ने कार्यमा वडा कार्यालय लागिपरेको बताएका छन् । उनले स्थानीय सरकारको दाइत्व भित्र पर्ने काममा गम्भीर भएर लागेको बताएका छन् । “हामीले कार्यक्रममा पनि नयाँ कुराको सुरुवात गर्ने उद्देश्यले साहित्य मार्फत समाजलाई सुदृढ बनाउन लागि परेका छौँ ।” वडा अध्यक्ष चौधरीले भने, “यसलाई निरन्तर अगाडि बढाउने वडाको तयारी छ ।”
भौतिक पुर्वाधार मात्रै विकासको आधार नभएको भन्दै सामाजिक विकास पनि विकासको मेरुदण्ड भएको वडा अध्यक्ष चौधरीले बताएका छन् । उनले उत्कृष्ट साहित्यलाई वडाले प्रकाशित गर्ने पुस्तकमा प्रकाशन गर्ने भन्दै स्थानीय पाठ्यक्रमका लागि पनि यस्ता विषयलाई समेट्न सकिने बताएका छन् । पाँच वर्षमा वडाले गरेका हरेक गतिविधिलाई दस्तावेजको रुपमा राख्ने तयारी पनि वडाको रहेको उनले बताए । जनजागृती माध्यमिक बिधालयका प्रधानाध्यापक मुक्ती प्रसाद भण्डारीले जनचेतना फैलाउनका लागि सडक नाटक महत्त्वपूर्ण माध्यम भएको बताउँदै नाटक र कविताको मिश्रणबाट बिद्यार्थीहरुमा थप सिकाई भएको बताएका छन् ।
कविता प्रतियोगितामा राहुल विश्वकर्मा प्रथम भएका छन् । पुष्पा ठकुल्ला दृतीय भएको कार्यक्रममा बन्दना देवकोटा तृतीय भएकी छन् । प्रतियोगितामा १६ जना प्रतियोगीले भाग लिएका थिए । प्रथम, दृतीय र तृतीय हुने प्रतियोगीले क्रमशः तीन हजार, दुई हजार र एक हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । वडाले यस्तै पाँच चरणमा कार्यक्रम सञ्चालन हुने छ । जसमा बाल बिबाह, बालश्रमशोषण, लैङ्गिक हिंसा, अपाङ्गता, जेष्ठ नागरिक, एकल महिला, छाउअपडी प्रथा र किसानहरूको समस्या विषयक कार्यक्रम सञ्चालन गर्ने छ । अन्तिममा समापन कार्यक्रममा सबै कार्यक्रमको पुरस्कार वितरण गरिने छ ।
प्रतियोगितामा अशोक बोहरा, कैलाश वियोगी र आर्क अकुलिन निर्णायक रहेका थिए । वडा नं. २ का प्राविधिक मीनबहादुर थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सिर्जनशील युवा समाज नेपालका अध्यक्ष झलनाथ खनालले गरेका थिए ।