सुदुरपश्चिम औलोको उच्च जोखिममा

शेयेर गर्नुहोस


टीकापुर १३ बैशाख /
सुदुरपश्चिम प्रदेश औलो रोगको उच्च जोखिममा रहेको तथ्यांकले देखाएको छ ।
मंगलबार विश्व औलो दिवसको अवसरमा टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाको आयोजनामा भएको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकले अन्य छ प्रदेशको तुलनामा सुदुरपश्चिम प्रदेश औलोको उच्च जोखिममा रहेको देखाएको हो । २०७७/०७८ को तथ्यांकअनुसार सुदुरपश्चिममा सबैभन्दा बढी दुई सय १६ जना औलोका बिरामी फेला परेका थिए भने कोषी प्रदेशमा सबैभन्दा कम तीन जना औलोका बिरामी फेला परेका थिए । त्यस्तै २०७८/०७९ मा एक सय ७९ जना औलोका बिरामी सुदुरपश्चिममा फेला परेका थिए ।
तर, चालू आर्थिक वर्षको फागुनसम्मको तथ्यांक हेर्दा भने सुदुरपश्चिम प्रदेशभन्दा लुम्बिनी प्रदेश बढी जोखिममा परेको तथ्यांक उल्लेख छ । फागुनसम्मको तथ्यांकअनुसार सुदुरपश्चिम प्रदेशमा ९४ जना औलोका बिरामी पुष्टि हुँदा लुम्बिनी प्रदेशमा भने एक सय २६ जनामा औलो पुष्टि भएको पाइएको छ । सुदुरपश्चिम प्रदेशको पनि कैलाली जिल्ला औलोको निकै जोखिममा रहेको नगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावल बताउँछन् । उनकाअनुसार चालू वर्षको फागुनसम्म कैलालीमा मात्रै ४३ जनामा औलो पुष्टि भएको छ । त्यससँगै कञ्चनपुरमा २१ जनामा औलो देखिएको छ ।
टीकापुरमा मात्रै पनि फागुनसम्मको तथ्यांक हेर्दा १२ जना औलोका बिरामी भेटिएको प्रमुख रावलले बताएका छन् । उनकाअनुसार तीन जना स्थानीयमा र ९ जना बाहिरबाट आएकाहरुमा औलो भेटिएको छ । “यो तथ्यांक टीकापुर अस्पतालले दिएको तथ्यांकलाई आधार मान्ने हो । अन्य निजि अस्पतालले त्यस्ता बिरामी भएको जानकारी हामीलाई दिँदैनन् ।” रावलले भने, “सरकारको लक्ष्य २०२५ सम्ममा नेपालबाट औलो निवारण गर्ने हो । तर स्थानीय भन्दा आयातीतले समस्या बनाएको छ ।”
सरकारले सन २०२२ भित्र स्थानीय औलोलाई शुन्यमा झार्ने लक्ष्य लिएको भएपनि त्यो लक्ष्य पूरा हुन नसकेको नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाका सहसंयोजक कमल रावलले बताएका छन् । उनकाअनुसार एनोफिलिज जातको पोथी लामखुट्टेले टोक्दा औलोको संक्रमण हुने गर्दछ । नेपालमा मात्रै ४३ जातको एनोफिलिज पोथी लामखुट्टे पाइने गरेको बताउँदै सहसंयोजक रावलले औलोको उपचार र औषधि सरकारले निशुल्क गरेको बताएका छन् । औलो परिक्षणका लागि आर. कि. टी. र माइक्रोस्कोप विधि प्रयोग गरिँदै आएको छ ।
नेपालमा सन १९२५ मा मकवानपुरबाट औलो निवारणका लागि कार्यक्रम सुरु गरिएको हो भने, सन १९५४ देखि कैलालीमा कार्यक्रम सुरु भएको थियो । लामखुट्टेको वृद्धि विकास नहुने मौसममा भने लामखुट्टेले नटोक्ने अध्ययनले पुष्टि गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *