सुदुरपश्चिम सम्भावना बोकेको प्रदेश हो : प्रदेश प्रमुख मियाँ

शेयेर गर्नुहोस


टीकापुर ०७ माघ /
सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदुरपश्चिम प्रदेश पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।
कैलालीको टीकापुर उद्योग वाणिज्य संघले आयोजना गरेको टीकापुर महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले पर्यटन क्षेत्रको विकासबाट प्रदेशलाई समृद्ध बनाउन सकिने बताएका हुन । “भौगोलिक बनावटले निकै मिलेको सुदुरपश्चिमको प्रमुख सम्भावना कृषि र पर्यटन बन्न सक्छ । त्यसका लागि तिनै तहको सरकारले संयुक्त रणनीति बनाएर काम गर्न जरुरी छ ।” उनले भने “पर्यटन क्षेत्रको सम्भावनालाई स्थापित गर्न सक्यो भने व्यावसायिक रुपमा प्रदेशले आफै फड्को मार्छ ।”
कर्णाली नदीलाई पर्यटन क्षेत्रसँग जोड्न सक्यो भने कैयौं सम्भावना त्यहाँबाट प्रस्फुटन हुने बताउँदै प्रदेश प्रमुख मियाँले टीकापुर पार्कको प्रचारप्रसारमा ध्यान दिन आग्रह गरे । “पर्यटकहरुका लागि प्याकेजमा कार्ययोजना तयार पारेर काम गर्न सक्यो भने विकास र व्यावसायिक सफलता आफै हुने कुरा हो ।” उनले भने, “त्यसका लागि तीन तहको सरकारको समन्वय र सहकार्य चाहिँ हुनुपर्छ । त्यसमा पनि स्थानीय सरकारले प्रदेश र संघ सरकारसँग समन्वयको वातावरण बनाइराख्नु पर्छ ।”
संघका पुर्व अध्यक्ष नरेश केसीले टीकापुर महोत्सवले विगत देखि महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताएका छन् । टीकापुरको विकासका लागि हरेक प्रहरमा संघले भुमिका खेल्दै आएको बताउँदै महोत्सवले कैयौं एजेन्डामा सफलता हासिल गरेको बताएका छन् ।
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट बहादुर सोडारीले टीकापुर भित्रका सामाजिक संघसंस्था बलियो बन्दा विकासका लागि कुनै समस्या नहुने बताएका छन् । नविल बैंक टीकापुर शाखाका प्रबन्धक जनक राज ओझाले व्यावसायिक रुपमा टीकापुर धेरै सम्भावना भएको क्षेत्र भएको बताउँदै त्यसका लागि मेला महोत्सवले लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् । राम्रो योजना ल्याएर आउँदा लगानीका लागि बैंकहरुलाई तयार रहेको बताएका छन् ।
नेकपा एमालेका टीकापुर नगर अध्यक्ष लक्ष्मण थापाले टीकापुर क्षेत्र शान्त छ भन्ने सन्देश टीकापुर महोत्सवले दिएको बताएका छन् । उनले टीकापुरलाई सुन्दर बनाउनका लागि सबै पक्ष एक ठाउँमा उभिनु पर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका टीकापुर नगर इन्चार्ज दयाराम संज्यालले महोत्सवले आर्थिक रुपमा चलायमान बनाएको बताएका छन् । उनले स्थानीय क्षेत्रको उत्पादनलाई माथी उठाउने गरी संघले काम गर्नुपर्ने भन्दै परिवर्तित समयानुकूल व्यापारमा पनि व्यापारमा पनि परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् ।
नेपाल समाजवादी पार्टीका कैलाली जिल्ला अध्यक्ष वीरेन्द्र साउँदले टीकापुरको साझा विकासका एजेन्डामा विगतमा संघको भुमिका सकारात्मक देखिए पनि स्थानीय सरकार आइसक्दा अब संघले व्यापारीका पक्षमा काम गर्न सुझाव दिएका छन् । पुस २५ गतेबाट सुरु भएको महोत्सवमा ५६ लाख ६४ हजार दुई सयको दैनिक टिकट बिक्री भएको कोषाध्यक्ष लोकेश साउँदले बताएका छन् ।
संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको समापन कार्यक्रमको स्वागत निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीले गरेका थिए भने सञ्चालन महासचिव नवराज रिमालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *