शेयेर गर्नुहोस
टीकापुर ०९ मंसिर /
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
टीकापुरका पत्रकारहरुसँग समसामयिक विषयमा छलफल गर्दै प्रमुख प्रशासकीय अधिकृत धितालले सकेसम्म कार्यालय नछोड्ने अनि सेवाग्राहीको कामलाई प्राथमिकता दिने बताएका हुन । “मैले धेरै गर्नुपर्ने केही छैन । मेरो समयावधिमा कार्यालय प्रायः छोड्ने छैन । बाहिरका तालिम, कार्यक्रम मेरो प्राथमिकतामा पर्ने छैन ।” उनले भने, “मेरो पहिलो काम सेवाग्राहीको सेवा प्रवाहलाई सहज र सुलभ बनाउनेमा केन्द्रित हुने छ ।”
खासगरी नगरपालिकामा पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत बस्न नमान्ने स्थिति सिर्जना हुँदै गएको अवस्थामा उनले टीकापुरबाट पास भएर फर्किने विश्वास व्यक्त गरे । २०७९ सालपछि मात्रै धिताल नगरपालिकाको ९ औं प्रमुख प्रशासकीय अधिकृतको आएका छन् । “म कति दिन बस्छु त्यो मेरो लागि एक परिक्षा जस्तै हुने छ ।” उनले भने, “जाँदासम्म म पास भएर जाने प्रयत्न रहने छ । त्यसैअनुसार मैले सकेको काम गर्ने कोसिस गर्नेछु ।”
यसभन्दा पहिले टीकापुर घटनाको समयमा ईलाका प्रशासन कार्यालय टीकापुरको प्रमुखको जिम्मेवारीमा रहेर काम गरिसकेका धिताल टीकापुरका लागि परिचीत व्यक्ति पनि हुन । उनले त्यो बेला बजार क्षेत्रमा रहेका खोका ठेला हटाएर व्यवस्थापन गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
जनप्रतिनिधि र कर्मचारीहरुको आन्तरिक कलहका कारण प्रमुख प्रशासकीय अधिकृत टीकापुर नगरपालिकामा बस्न नमान्ने गरेको तथ्य पटकपटक बाहिर आउने गरेको छ ।










