सेवा केन्द्रको भवनको काम ४४ प्रतिशत

शेयेर गर्नुहोस


टीकापुर २६ वैशाख /
इलाका प्रहरी कार्यालय टीकापुर परिसर भित्र निर्माण भैरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवनको काम ४४ प्रतिशत सम्पन्न भएको छ ।
२०८१ भदौमा सम्झौता भएर सुरु भएको आयोजनाले आठ महिनामा मै ४४ प्रतिशत काम सम्पन्न गरेको हो । एशियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भैरहेको उक्त आयोजनाको बिहिवार सामुदायिक छलफल कार्यक्रमका क्रममा आयोजनाको परामर्शदाताको काम गर्दै आएको युनोप्सका सुदुरपश्चिम परियोजना इन्जिनियर सुदिन प्रधानले आयोजनाले यहीँ गतिमा काम अगाडि बढाए समयावधि भन्दा अगाडि सम्पन्न हुने बताएका छन् । हिंसामा परेका महिला बालबालिका तथा जेष्ठ नागरिकहरूलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ भवन निर्माण भैरहेको छ ।
टीकापुर लगायत सुदुरपश्चिम प्रदेशमा हाल तीनवटा त्यस्तै भवन निर्माण भैरहेका छन् । कञ्चनपुर र बैतडीमा पनि सेवा केन्द्र भवनको काम भैरहेको छ । अछाम र बाजुरामा सेवा केन्द्रको भवन निर्माणको प्रक्रियामा रहेको छ । उसो त मधेस प्रदेश र लुम्बिनी प्रदानमा पनि पाँचपाँचवटा भवन निर्माण भैरहेको युनोप्सका कृष्ण बहादुर कटुवाल बताउँछन् ।एशियाली विकास बैंकको ६६ दशमलव ७० प्रतिशत अनुदान रहेको छ भने नेपाल सरकारको त्यसमा ३३ दशमलव ३० प्रतिशत योगदान रहेको छ ।
सुदुरपश्चिममा निर्माण भैरहेका तीनवटा भवको लागत ९ करोड ९४ लाख एक हजार ८ सय ४१ रुपैयाँ पाँच पैसा भ्याट बाहेक छ भने टीकापुरमा निर्माण भैरहेको भवन तीन करोड ८ लाख ३६ हजार ७ सय २९ रुपैयाँ ५८ पैसा भ्याट बाहेक रहेको छ । अढाई तलाको भवनमा पहिलो तलमा २४ वटा कोठा रहने छन् भने दोस्रो तलामा आवश्यक व्यवस्थापन सहितका ६ वटा कोठा रहने बताइएको छ । भवन निर्माणको काम ए. एम-के. यन.एस. जे. भी. ले पाएको छ । निर्माण कम्पनीले भवन निर्माण गर्दा सुरक्षाका सम्पुर्ण मापदण्ड पूरा गरेर काम गरिरहेको छलफलमा बहस भएको थियो ।
छलफलका क्रममा टीकापर नगरपालिकाका नगर प्रमुख रामलाल डगैरा थारुले कयौं संरचना निर्माणमा राज्यको ठुलो रकम खर्च हुँदै आएको भएपनि त्यसको सञ्चालनमा चुनौती देखिने गरेको बताएका छन् । उनले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन प्रयोगका विषयमा भने त्यस्तो नहुने विश्वास व्यक्त गरेका छन् । “जनतासँग प्रत्यक्ष जोडिने सरकारका हरेक अंग मध्ये प्रहरी प्रशासन पहिलो हो । भवन प्रहरी परिसर भित्र निर्माण भैरहेकाले पनि उद्देश्य अनुसार भवन निर्माण पश्चात् प्रयोगमा आउनेमा शंका छैन ।” उनले भने, “अन्य स्थानीय सरकारबाट हुन सक्ने अल्पकालीन र दीर्घकालीन कामका लागि हामीले गर्ने समन्वय र सहयोग निरन्तर रहनेछ ।”
त्यस्तै वडा नं. १ का वडा अध्यक्ष मोहन विकले भवनले एउटा अवसरको रुपमा लिइएको बताएका छन् । उनले भवन निर्माण भएपछि हिंसामा परेका महिला बालबालिका तथा जेष्ठ नागरिकहरूलाई सेवा लिन सहज हुने विश्वास पनि व्यक्त गरेका छन् । समाजमा हिंसामा परेका पिडितहरु आज पनि खुलेर बाहिर आउन नसकेको बताउँदै वडा अध्यक्ष विकले भवन निर्माण भएपछि उद्देश्य अनुसारको सेवा विस्तार हुन सके धेरै पिडित खुलेर आउने अपेक्षा राखेका छन् ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इस्वर देव गिरीले प्रहरी कार्यालयमा जनशक्तिको अभाव रहेको बताएका छन् । “अहिले पनि सहायक हवल्दारको नेतृत्वमा महिला बालबालिका तथा जेष्ठ नागरिकहरुको सेवा प्रवाहको काम हुँदै आएको छ ।” उनले भने, “माथिल्लो दर्जाको महिला प्रहरी भएको भए अझै सेवा प्रवाह राम्रो हुन्थ्यो भने सुरक्षित तथा गोप्य कोठामा काउन्सिलिङ गर्न पनि राम्रो हुन्थ्यो ।” उनले भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने बताउँदै त्यसैअनुरूपको जनशक्ति व्यवस्थापनका लागि पनि सम्बन्धित निकायले पहल गर्नुपर्ने बताए ।
छलफलमा सहभागि भएकाहरूले भवनको दिगो प्रयोगका साथै सेवा प्रवाह र हिंसा पिडितहरुका लागि ठूलो सहयोगी केन्द्र बन्ने अपेक्षा राखेका छन् ।

ताजा खबर

अभिभावकसँग सप्तऋषीको अन्तरक्रिया

शुक्रबारदेखी भर्ना अभियान सुरु

एक वर्ष अगाडि सकिँदै पुलको काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *